मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

माओवादी र जसपालाई सरकारबाट फिर्ता हुन कांग्रेसको औपचारिक दबाब

३० दिने सरकार भए पनि बनाउनु पर्ने कांग्रेसको धारणा, मध्यावधिमा जान तयार
बिहीबार, ०४ जेठ २०८०, १६ : ३६
बिहीबार, ०४ जेठ २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आज बसेको दलको बैठकले केन्द्रको गठबन्धनमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिन औपचारिक आग्रह गर्ने निर्णय गरेको छ । यसअघि काठमाडौंमा बसेको कांग्रेस दलको अनौपचारिक बैठकले पनि यस्तै निर्णय गरेको थियो ।

बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता उद्धब थापाले कोशी प्रदेशमा कांग्रेस अप्ठ्यारो परिस्थितमा हिँड्नु परेको बताए । ‘कोशी प्रदेशमा हामी अप्ठ्यारो परिस्थितिमा हिँडिरहेका छौं,’ थापाले भने, ‘त्यही कारण हामीले १० दलीय गठबन्धनमा रहेको माओवादी केन्द्र र जसपालाई तुरुन्तै यो सरकारबाट समर्थन फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका छौं । आजै औपचारिक रुपमा हामी उनीहरुलाई पत्र पठाउँछौं ।’

कांग्रेस दलको बैठकले पहिचानको माग गर्दै भइरहेको आन्दोलनलाई समाधान गर्न सरकारको तर्फबाट मन्त्रीस्तरीय कार्यदल गठन गर्न पनि माग गरेको छ । ‘यो विषयले कोशी प्रदेशमा अशान्ति र द्वन्द्वको अवस्था सिर्जना भएको छ । आन्दोलनलाई समाधान गर्ने र द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि सरकारले छलफल अगाडि बढाउन क्याबिनेट मन्त्री रहेको वार्ता समिति गठन होस् भन्ने माग गर्न चाहन्छौं,’ उनले भने ।

थापाले कोशीको अर्थ मन्त्रालयबाट रकमान्तर गरेर सांसदलाई ल्यापटप दिने निर्णयको पनि विरोध गरिएको बताए । ‘अहिलेको तरल अर्थतन्त्रको अवस्था छ, कर्मचारीले तलब सुविधा लिनै समस्या भइरहेको जानकारीमा आएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सांसदलाई पहिलेको प्रदेशसभाबाटै निर्णय भएको र कार्यान्वयन गर्न लागिएको भन्दै ९३ थान ल्यापटप वितरण गर्ने भनेर १ करोड २० लाखको टेण्डर आह्वान भएको रहेछ । यो प्रक्रिया स्थगित गर्न माग गर्ने र ल्यापटप अस्वीकार गर्ने निर्णय गरिएको छ ।’

थापाले ल्यापटप वितरण गर्न विनियोजन गरेको बजेटले लम्की रोगबाट पीडित किसानका गाईवस्तुका लागि भ्याक्सिन उपलब्ध गराउन माग गरिएको बताए ।

यस्तै कांग्रेसले लम्की रोगको निवारणका लागि चाँडोभन्दा चाँडो भ्याक्सिन उपलब्ध गराउन र किसानका गाईवस्तुको सुरक्षामा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण पनि गराउने निर्णय गरेको थापाले जानकारी दिए ।

भर्खरै परेको असिना पानीले क्षति गरेका बालीको पहिचान गरेर किसानलाई राहतको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । वर्षायाम सुरु भएको भन्दै उसले किसानका लागि बिउ र मलको समयमै व्यवस्थापन गर्न पनि माग गरेको छ ।

मध्यावधिमा जानसक्ने कांग्रेसको भनाइ

सहमतिको सरकार बनाउने औपचारिक प्रयास नभएको भन्दै थापाले त्यस्तो परिस्थिति निर्माण भएको अवस्थामा कांग्रेसको नेतृत्वमा आए हुने बताए । उनले गठबन्धनको सरकार बनाउनका लागि सभामुखले राजीनामा पनि दिनु नपर्ने र भोट पनि हाल्नु नपर्ने बताउँदै राप्रपासँग आवश्यक छलफल भइरहेको पनि बताए । राप्रपाले नमानेको खण्डमा ३० दिने सरकार भए पनि बनाउने र मध्यावधिमा जानसम्म कांग्रेस तयार भएको उनले बताए । ‘अन्तिममा केही भएन भने ३० दिने सरकार बन्छ, त्यो सरकारले विश्वासको मत लिन सकेन भने प्रदेश मध्यावधिमा जानसक्छ । त्यसका लागि कांग्रेस तयार छ,’ संख्याको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने ।

उनले प्रदेशको नामकरणको विषयमा भइरहेको आन्दोलन र असन्तुष्टि सम्बोधन गर्नका लागि सबै दल तयार भए आफूहरु पनि तयार हुने बताए । ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर नाम परिवर्तन हुनसक्छ । नाम परिवर्तन हुनै सक्दैन भन्ने छैन, त्यसका लागि सबै दल सहमत हुनुपर्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप