बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

शनिबार, ०६ जेठ २०८०, २२ : ५०
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहर्‍याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो । 

समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए । सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए । मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए ।

उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिए । साथै मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे। 

यस्तो छ मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभनः

विराजभक्त श्रेष्ठ: ‘पुँजीगत खर्च भनेको पुँजीगत खर्च होइन, पुँजीगत लगानी हो, त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आँकलन हुँदैन, उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मन गढन्ते हुन्छन् । एक पटक भ्युटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ हो । डाँडा आफैँ भ्युटावर हो नि त । व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौँ त्यसमा धनियाँमा आत्मनिर्भर बनौँ न ।

अर्थमन्त्रीः भ्यु टावरको कुरा मैले संसद्‍देखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।

सांसद श्रेष्ठ: निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने । हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ । सहकारी बेस लाइन अर्थतन्त्र हो यो ।

मन्त्री: बुझेँ बुझेँ

सांसद श्रेष्ठ: मन्त्रीज्यू हतार नगर्नुस् न ।

जवाफ नै लामो दिइराख्नुभएको छ तपाईले । प्रश्न सोध्दा तपाईलाई ध्यानाकर्षण त गराउनुपर्छ नि ।

लाखौँ रुपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौँ रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक सङ्कट नभए के लक्ष्मी भगवान् आएर बस्छन् ?

यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ?

तपाईंलाई हतार भयो भनेर हुन्छ ? कि बैठक नै राख्नुभएन । सभापतिज्यू यस्तो हो भने बैठक नै नराखिइदिनुहोस् । उहाँलाई हतार छ ठिक छ जानुहोस् ।

मन्त्री: तपाईहरुले पटकपटक यी कुराहरू राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु, व्याख्यात्मक भन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।

सांसद श्रेष्ठ: बुझेको भए सङ्कट किन छ ?

सङ्कट मैले आजको आजै सङ्कट समाधान हुन्छ र ? त्यसको लागि म इमानदार प्रयास गर्छु ।

सांसद श्रेष्ठ :आजको बैठकको औचित्य के ?

मन्त्री: सभापतिज्यूले बोलाएर म आएको हो नि ।

विराजभक्तः तपाई त समितिप्रति जवाफदेही हुनुहुन्छ नि ।

हाम्रो औपचारिक प्रणालीबाट खर्बौँ रुपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस् । त्यसले पनि असर गरेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप