बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरका जनप्रतिनिधिको एक वर्ष : अस्पताल निर्माण नै ठूलो उपलब्धि

मङ्गलबार, ०९ जेठ २०८०, १७ : ५९
मङ्गलबार, ०९ जेठ २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले एक वर्षको उपलब्धिको रुपमा अस्पताल  निर्माण र केही  ठूला योजनाहरुको काम सुरु गरेको दाबी गरेको छ । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ देखि एक वर्षका उपलब्धि सार्वजनिक गरेको हो । 

बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताए । 

उनले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने जिकिर गरे । 

उनले बुटवल १३ र १७वडामा १५/१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने  बताए ।  

आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाई वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको  बताए ।  

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको  उनले जानकारी दिए । 

बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी लगायतमा पहिरोबाट प्रभावित क्षेत्रमा पर्खाल, कल्भर्ट, जाली र वृक्षारोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिने बताए । 

यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्न नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भइरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि प्रदेश र संघीय सरकारको सहकार्यमा आफूहरुले काम गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप