शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
मेलम्ची आयोजना

मेलम्ची पुनर्निर्माणमा जम्मा १५ प्रतिशत बजेट खर्च !

बिहीबार, ११ जेठ २०८०, ११ : ३१
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । २०७८ असार पहिलो साता अकस्मात् आएको बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणमा विनियोजन गरेको बजेटको न्यून खर्च भएको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको स्थलगत अनुगमनबाट पुनर्निर्माणमा छुट्याइएको कुल बजेटको १५ प्रतिशत मात्रै खर्च भएको पाइएको हो ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण र काठमाडौँ उपत्यकाको थोक खानेपानी प्रसारण सम्बन्धमा २ अर्ब ५० करोड २७ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर वैशाख मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटमध्ये ३७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको हो । यो विनियोजित बजेटको १४.९२ प्रतिशत हो । 

समितिले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहितको नेतृत्वमा जेठ १ गते मेलम्चीको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा आयोजनाले दिएको विवरण अनुसार विनियोजित बजेटको १५ प्रतिशत मात्रै खर्च भएको पाइएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् । उनका अनुसार आयोजनाको भौतिक प्रगतिसमेत न्यून देखिएको छ ।

अनुगमनमा अध्यक्ष तिमल्सिना, सभापति थापासहित १२ जना सांसद मेलम्ची पुगेका थिए । २०७८ असार १ गते आएको बाढीले आयोजनाको हेडवर्क्स पूर्ण रूपमा क्षति गरेको थियो । सोही कारण आयोजनाबाट वर्षायाममा काठमाडौँ उपत्यकामा पानी आउँदैन । सुक्खायाममा वैकल्पिक माध्यमबाट दैनिक १७ करोड लिटर खानेपानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरणका लागि उपलब्ध गराइँदै आएको छ ।

उक्त बाढीका कारण आयोजनाको हेडवर्क्ससम्मको पहुँच मार्गका रूपमा रहेको पुलहरूमा समेत पूर्ण क्षति पुर्‍याएको थियो । त्यो पुनर्निर्माणका लागि सबै प्रकारका यातायातका साधनको उपलब्धतामा पनि समस्या सिर्जना भइरहेको छ । यस्तै आयोजनाले याङ्री र लार्के नदीको पानीसमेत मेलम्चीमा मिसाउनका लागि डाइभर्सनको कामका लागि मुख्य प्रवेश मार्ग निर्माणको कामसमेत अघि बढिरहेको र २०८१ असारसम्म निर्माण सम्पन्ने गर्ने योजना सरकारको छ । 

सन् २००० मा मेलम्ची खानेपानी आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयारी गरेको अवधिदेखि हालसम्म आयोजना निर्माणमा २३ वर्ष बितिसकेको छ । दुई दशकभन्दा बढी समय बित्दासमेत आयोजनाको निर्माण पूर्ण रूपमा सम्पन्न गर्न भने झनै मुस्किल देखिएको स्थलगत अनुगमनका पुगेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

आयोजना सञ्चालन गर्न बाह्रै महिना समस्या

बाढीका कारण वर्षायाममा पानीको वितरण प्रणाली रोकिए पनि १२ महिना नै आयोजना सञ्चालन गर्न समस्या भएको पाइएको छ । विनियोजित बजेटको जम्मा १५ प्रतिशत खर्च हुँदा पनि वर्षभरि सञ्चालनमा समस्या आइरहेको देखिन्छ । यस्तै क्षतिग्रस्त संरचना निर्माणका लागि हेडवर्क्सका गेट र अडिट सुरुमा, मेकानिकल पार्टसको जडानलगायतका संरचना निर्माण तथा सुधार गर्नुपर्ने बताइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनासम्मको अवधिमा पुनर्निर्माणको भौतिक प्रगति भने ३५ प्रतिशत भएको समितिको स्थलगत अनुगमनबाट खुलेको छ । 

यस्तै दोस्रो चरणको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निर्माणका लागि बजेट स्वीकृत भई २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारको छ ।

image

यस्ता छन् आयोजनाको समस्या

२०७८ सालमा आएको बाढीका कारण हेडवर्क्सको पूर्ण क्षति भएको अध्ययन प्रतिवेदन बुझाउनै धेरै समय लागेको देखिएको छ । जस कारण हेडवर्क्स पुनर्निर्माणको काम प्रभावित बनेको समेत पाइएको छ । २०७८ मङ्सिर १२ देखि वैकल्पिक प्रणालीबाट दैनिक १७ करोड लिटर खानेपानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरणका लागि उपलब्ध भए पनि खानेपानी समस्या दिगो रूपमा समाधान हुन सकेको छैन । 

यस्तै हेडवर्क्स निर्माण स्थलसम्म पुग्ने पहुँच मार्गका रूपमा विकास गरिएको सडक र पुलहरूमा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको निर्माण कार्य नै कठिन भएको समेत पाइएको छ । यस्तै सोही अन्तर्गत रहेको काठमाडौँ उपत्यका थोक खानेपानी प्रसारण आयोजना दोस्रोको जग्गा प्राप्ति र मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम पूर्ण रूपमा सम्पन्न भएको छैन । मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि स्थानीय सरकार, प्रादेशिक सरकार, सङ्घीय सरकार अन्तर्गतका सडक, वनलगायत अन्य विषयका विषयगत निकाय बिच समन्वयसमेत नभएको समितिको अध्ययनबाट खुलेको छ ।

यस्तै भाग १ र भाग २ निर्माण सम्पन्न भए पनि भाग १ निर्माण व्यवसायीबाट हस्तान्तरण भइसकेको छैन । जसले गर्दा आयोजनाको भौतिक प्रगति ९८ प्रतिशतमा सीमित छ । साथै भाग २ निर्माण व्यवसायीबाट हस्तान्तरणको प्रक्रियामा रहे पनि ठेक्का फरफारक भइसकेको छैन । खानेपानी सेवासँग सम्बन्धित निर्माण, प्रसारण, वितरण आयोजना सञ्चालनका लागि छुट्टै छाता निकाय नहुँदा आयोजनाले योजना अनुसारको काम अघि बढाउने नसकेकाले आयोजनाको निर्माण सम्पन्न समयमै नभएको प्रतिवेदनले देखाएको छ ।

के गर्नुपर्छ ?

क्षतिग्रस्त भएको हेडवर्क्स प्रतिस्थापन गर्दै नयाँ हेडवर्क्स निर्माण गर्नुपर्ने एसियाली विकास बैङ्कको अध्ययन प्रतिवेदन अनुसार सरकारले यथाशीघ्र बजेट विनियोजन गर्नुपर्ने समितिले जनाएको छ । यस्तै हेडवक्स निर्माणस्थलसम्मको पहुँच मार्ग र पुलहरूको निर्माणमा आयोजनासँगै सडक विभागलाई समेत जिम्मेवारी तोक्नुपर्ने बताइएको छ । बाढीबाट नदी वरपर रहेका बस्ती पूर्ण रूपमा ध्वस्त भएकाले संरक्षणका लागि सम्बन्धित निकायहरूबाट उचित व्यवस्था गर्नुपर्ने समितिले जनाएको छ । 

यस्तै काठमाडौँ उपत्यका थोक खानेपानी प्रसारण आयोजना दोस्रोको जग्गा प्राप्ति र मुआब्जा तथा क्षतिपूर्ति वितरणको बाँकी कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी प्रचलित खरिद ऐनका प्रावधानहरू अधिक मात्रामा प्रक्रियागत भएकाले छिटो छरितो, पारदर्शी, निष्पक्ष तथा व्यावहारिक खरिद प्रक्रिया अवलम्बन गर्न नसकिएको भन्ने गुनासो आयोजनाका पदाधिकारीहरूको रहेकाले सो सम्बन्धमा समयसापेक्ष नीतिगत पुनरवलोकन गर्नुपर्नेसमेत समितिले बनाएको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप