बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल भारत सीमा बन्द गर्न १९५० को सन्धिले रोक्न सक्दैन’ : सूर्यनाथ उपाध्याय

बिहीबार, ११ जेठ २०८०, १६ : ४७
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं जलस्रोतविद् सूर्यनाथ उपाध्यायले नेपाल भारतका बीचमा भएको सन् १९५० को सन्धि खारेज नगरे पनि नेपालले धेरै काम गर्न सकिने अवस्था रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशको प्राथमिकता र आवश्यकताका आधारमा काम गर्न सन्धिले बाधा नपार्ने उल्लेख गरे । 

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको सन्दर्भ पारेर समितिले नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्धको बारेमा गरेको छलफलमा उनले सो कुरा बताएका हुन् । पूर्व जलस्रोत सचिव एवं कानुनका ज्ञाता समेत रहेका उपाध्यायले सन् १९५० को सन्धिले नेपालको खुला सिमाना बन्द गर्न नरोक्ने उल्लेख गर्दै नेपाल पक्षको कमजोरीका कारण खुला सिमाना रहेको उल्लेख गरे । 

उनले दुई देशका बीचमा खुला सिमानाका कारण राजस्व चुहावट, लागूपदार्थ ओसार पसार, व्यक्ति सुरक्षा खतरा, एउटा देशमा अपराध गरेर अर्को देशमा अपराधी लुक्ने समस्या रहेको बताए ।  उपाध्यायले भने– ‘कुन देशबाट कति मानिस को कता गए कुनै रेकर्ड छैन । १९५० मा भएको सन्धि पुरानो छ जसको अपग्रेड पनि गरिएको छैन । अन्तर्राष्ट्रिय आतङ्कवादबाट भारत पनि पीडित छ । भारतमा घटना घटाएर अपराधी नेपाल आउने अवस्था छ । भारतसँगको खुला सिमानाका कारण  विदेशी कति दिन नेपाल आएर बस्यो त्यसको न कुनै ठेगान छ न कुनै रेकर्ड नै छ । नेपालमा कति विदेशीले के कति काम गर्‍यो त्यसको पनि रेकर्ड छैन । बिहारीका लागि चम्पारन जिल्ला जस्तो छ भारतका लागि नेपाल त्यस्तै भएको छ । भारतको सिक्किम होस, रेल वा होटेल जहाँ सुकै पनि पनि रेकर्ड राख्ने व्यवस्था छ तर नेपालमा छैन ।’

उनले यो सन्धिको बारेमा भारत उदासीन रहेको बताउँदै यसलाई संशोधन गरौँ भन्दा नचाहने अवस्था रहेको बताए ।  सन् १९५० मा नेपालमा राणा शासन ढल्ने समय पारेर नेपालका लागि तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंह र नेपालका तत्कालीन प्रधानमन्त्री मोहन शमशेर राणाबीच भएको सन्धि कूटनीतिक हिसाबले ठिक नभएकोले उपाध्यायले उल्लेख गरे । 

देशमा राजनीतिक परिवर्तन आउन लागेको बेला र राणा शासन कमजोर भएको मौका छोपी गरेको सन्धि उपयुक्त नभएको बताए ।  उनले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको नेपालले अभिलेख राख्नका लागि सो सन्धिले कुनै बाधा नपुर्‍याउने बताउँदै त्यसमा नेपालकै कमजोरी रहेको उनले बताए । 

उपाध्यायले भने– ‘नेपाल सानो देश तर सबैलाई जे गर्न पनि छुटको अवस्थामा रहेको छ । यस्तै अवस्थामा देश सधै रहला कि नरहला यस बारेमा नेपाल सरकारले सोच्नुपर्ने बेला आएको छ । विदेशीले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिनुपर्ने भन्ने व्यवस्था छ । तर भारतीय मजदुरले नेपालमा काम गर्दा कुनै श्रम स्वीकृति लिन नपर्ने अवस्था छ । नेपालमा भएका आयोजनाका काममा भारतीय मजदुरलाई ल्याउने गरिएको छ । नेपाली मजदुर प्रयोग गर्दा ट्रेड युनियन बनाउँछन्, भारतीय मजदुरलाई त जुन बेला मन लाग्यो निकाल्न पाइयो । तर नेपालका नागरिक बेरोजगार हुनुपर्ने अवस्था पनि छ ।’ 

suryanath1

उनले भारतमा सबैभन्दा धेरै रेमिट्याँन्स पठाउने सातौँ राष्ट्रको रूपमा नेपाल रहेको उल्लेख गर्दै भारतबाट नेपालमा भन्दा नेपालबाट भारतमा धेरै रेमिट्यान्स जाने बताए ।  प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उनले नेपाल भारत खुला सिमाना राख्नु हुँदैन भनेर सबैभन्दा पहिला नेपालले भारतलाई भन्नुपर्नेमा जोड दिए । खुला सीमा बन्द गर्न सन्धिले नरोक्ने उनले बताउँदै भारतका साधु महात्माहरु मात्रै प्रवेश गरे भने मात्रै पनि नेपाल भरिने उनले बताए । 

उनले भने– ‘दशगजामा बाख्रा बाँधेको छ । नेपालका मिडियामा यताबाट भारततिर गएको मात्र गएको तस्बिर देखाउने गरिएको छ तर भारतबाट नेपालतिर मान्छे आएको देखाइँदैन । भारत नभई त हामी बाँच्नै सक्दैनौँ भन्ने भाष्य सिर्जना गरिएको छ । नेपाल भारत जलस्रोतबारे नेपालको भारतलाई बिजुली बेच्ने नीति छ तर चिनियाँ लगानीबाट उत्पादन भएको बिजुली नकिन्ने भनेको छ । यस्तो विषयमा हामी गम्भीर हुन जरुरी छ ।’

उपाध्यायले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीले नेपालको स्पष्ट नीति राख्न सक्नुपर्ने बताए ।  उनले भने– ‘प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ, नयाँ सम्झौता गर्छु भन्नुभएको छ, कतै कर्णालीको पो दिएर आउनुहुन्छ कि भन्ने चिन्ता छ । भारतसँगको सम्बन्धमा पानीको विषयमा नेपालको नीति स्पष्ट हुनुपर्छ । भोलि पानीको हिसाबले समस्यामा पर्ने देशहरूमध्ये भारत पर्छ, तर हामी पानीको हिसाबले धेरै धनी छौँ । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा बिजुलीको कुरा मात्र हैन पानीको बारेमा पनि कुरा गर्न आवश्यक छ । जलविद्युतबारे प्रधानमन्त्रीले रिजर्भाएर प्रोजेक्टमा जस्तो सम्झौतामा हस्ताक्षर गर्नुहुँदैन ।’ 

नेपाल भारत सम्बन्धको बारेमा कुरा गर्दै उनले दुई देशका बीचमा १९५० मा सन्धि भएको भने पनि अहिलेसम्म त्यसको मूल कपी नभेटिएको बताए । दुई देशबीच पारस्परिक सम्बन्ध हुनुपर्नेमा भारतले आफूलाई मन लागेको काम गरिरहेको बताउँदै साना देशहरूको स्वतन्त्रतालाई कुनै वास्ता नगर्ने भारतको प्रवृत्ति रहेको बताए । 

नेपालमा माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले १५ वर्ष सम्म पनि काम अघि नबढाएको उदाहरण प्रस्तुत गर्दै उनले जिएमआरलाई एक वर्षको समय दिएर खारेज गर्न सकिने सम्झौता रहेको र सोहीअनुसार काम गर्नुपर्ने बताए । 

भारतको हेपाहा प्रवृति प्रति नेपालले केही गर्न नसकेको बताउँदै उपाध्यायले भने– ‘भारतले गोविन्द गौतमलाई मार्‍यो हामीले पेपर नोट लेखेर पठाउनुबाहेक अरू केही गर्न सकेनौँ । दार्चुलामा तुइन काट्दा जयसिंह धामीको निधन भयो हामीले केही गर्न सकेनौँ । भारतलाई चीनको सिमानासम्म बाटो बनाउन मन लाग्यो उसले नेपाली भूमि मिचेर बनायो, हामीले हेरेर बस्नेबाहेक केही गर्न सकेनौँ ।’ राष्ट्रियसभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले आगामी बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा थप छलफल गर्ने जानकारी गराएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप