चीनले दिएको ४० लाख खोप किन भण्डारणमै थन्कियो ?

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ ।
सरकारले सो खोप चीनबाट विशेष विमानमार्फत ल्याएको थियो । १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै लगाउन मिल्ने यसको म्याद अबको ७ महिनापछि सकिँदै छ ।
यस खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्न नमिल्ने भएकाले भण्डारणमा सीमित भएको विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए ।
‘यो खोप पहिलो र दोस्रो मात्रा खोपको रूपमा प्रयोग गर्न मात्रै सकिन्छ,’ उनले भने, ‘नेपालमा पहिलो, दोस्रो मात्रा लक्षित समूहले पूर्ण रूपमा लगाइसकेको अवस्थामा यो खोप लगाउन सकिएन ।’
सिनोभ्याक खोप पहिलो र दोस्रो मात्रा लगाएकाहरू बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको छ । त्यस्तै, यो खोपले अस्पताल भर्ना दर ६४.६ प्रतिशत घटाउने भनिएको छ ।
विश्व स्वास्थ्य संगठनले सिनोभ्याक–कोरोनाभ्याक खोपलाई बुस्टरका रूपमा प्रयोग अनुमति नदिएपछि भण्डारणमा सीमित भएको हो ।
सरकारले विगतमा लक्षित समूहमध्ये ९९.५ प्रतिशतले एक मात्रा लगाएका छन् भने ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म बुस्टर डोज खोप एक करोड बढीले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कोभिड–१९ विरुद्धको खोप अधिकांशले लगाएकाले भण्डारमा रहेको खोप नेपालमा उपयोगमा नआउने चौरसियाले बताए ।
अब के हुन्छ ४० लाख खोप ?
विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केन्द्रीय भण्डारणमा स्टक रहेको ४० लाख मात्रा खोपबारे छलफल भइरहेको बताए । परिवार स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा र खोप सल्लाहकार समितिले स्वास्थ्य मन्त्रालयलाई के गर्ने भनेर मन्त्रालयलाई फाइल पठाएको छ । तर यसबारे निर्णय नभएको उनले बताए ।
मन्त्रालयले पहिलो, दोस्रो मात्रा खोपका नलगाएका राष्ट्रमा उपलब्ध गराउन खोजे पनि त्यसको माग नभएको सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउँछन् ।
डब्लुएचओले कोभिड–१९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको अवस्थामा अन्य राष्ट्रले खोप लैजाने सम्भावना पनि न्यून छ ।
नेपालले कति खोप प्राप्त गर्यो ?
सरकारले २०७७ पुस २० मा खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन स्वीकृत गरेको थियो ।
विभागबाट प्राप्त विवरणअनुसार २०७८/७९ सम्म दातृ निकाय, को भ्याक्स सुविधा अन्य अनुदानबाट खोप प्राप्त गरेको हो । नेपालले प्राप्त गरेको ५ करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोपमध्ये २७ प्रतिशत खरिद गरेको थियो । ३३ प्रतिशत को भ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए । प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसेल, १६ प्रतिशत कोभिशिल्ड र अन्य ५० प्रतिशत प्राप्त गरेको थियो ।
भारतको एक कम्पनीबाट कोभिशिल्ड २० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसेल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौता अनुसार ५९ लाख ३६ हजार ४ सय डोज, को भ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८ सय डोजसमेत गरी २ करोड १९ लाख ३७ हजार २ सय डोज खोप खरिद गरिएको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : थापा
-
पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
-
मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन विक्री ८२ प्रतिशतले बढ्यो
-
लगानी र बजार माग बढ्नेमा परिसङ्घको आशङ्का
-
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो
-
भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ : परराष्ट्रमन्त्री साउद