बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

एसियाली खेलकुदमा सङ्ख्याको झेल, मन्त्रीको दबाबमा थपिँदै १ खेल

बोर्ड बैठकको निर्णयमा सचिव र सहसचिवले हस्ताक्षर गरेनन्
शुक्रबार, १२ जेठ २०८०, २० : ३७
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले भाग लिने खेल सङ्ख्या थप्ने तयारी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकपछि पनि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको दबाबमा एक खेल सङ्ख्या थप्ने तयारी भएको हो । 

गत आइतबार सम्पन्न राखेपको बोर्ड बैठकले एसियाडमा २८ खेल समावेश गर्ने निर्णय गरेको थियो । तर, राखेपको बोर्ड बैठक सम्पन्न भएको १ साता पनि बित्न नपाउँदै फेरि १ खेल थप्न चलखेल भएको हो । 

उसो त सुरुमा उक्त प्रतियोगितामा नेपालले २३ खेलमा मात्र सहभागिता जनाउने टुङ्गो लागेको थियो । 

सुरुमा नेपालले आगामी एसियाडमा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र शुटिङ गरी २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो । 

त्यसपछि राखेप बोर्ड बैठकले रग्बी, स्क्वास, टेनिस, इ—स्पोर्टस र डान्स स्पोर्टस गरी ५ खेल थप्ने निर्णय गरेको थियो । बोर्ड बैठकले २८ खेलका लागि सरकारसँग २९ करोड रुपैयाँ बजेट माग्ने निर्णय गरेको थियो ।

तर, बोर्ड बैठक बसेको १ साता पनि नबित्दै राखेपले आफ्नै निर्णय विपरीत पुनः १ खेल थप्ने तयारी अगाडि बढाएपछि खेल क्षेत्रमा तरंग उत्पन्न भएको छ । स्रोतका अनुसार नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसनको आग्रहमा १ खेल थप गर्न लागिएको हो । 

‘आगामी एसियाडमा २८ खेललाई सहभागी गराउने भनी बोर्ड बैठकले निर्णय गरेको थियो तर, अहिले अर्को १ खेल पनि थप्ने तयारी भइरहेको छ,’ राखेप बोर्डका एक पदाधिकारीले रातोपाटीसँग भने । ती पदाधिकारीले मन्त्री लिम्बुको दबाब र चासोमा १ खेल थप्ने तयारी भइरहेको जानकारी दिए ।

स्मरणीय के छ भने, राखेप बोर्ड बैठकमा  एसियाडमा सहभागी गराउने खेल सङ्ख्याको विषयलाई लिएर गम्भीर छलफल भएको थियो । राखेप बोर्डका केही सदस्यले देशमा आर्थिक सङ्कटको अवस्था रहेकाले एसियाडमा सकेसम्म कम खेललाई सहभागी गराउनु पर्ने सुझाव दिएका थिए । 

‘देशको आर्थिक अवस्थालाई ध्यानमा राखी हामीले एसियाडमा सकेसम्म कम खेलका खेलाडीलाई सहभागी गराऔँ भनेर सुझाव दिएका थियौँ । नेपालले पदक जित्ने बलियो सम्भावना भएका खेललाई मात्र सहभागी गराउँदा उपयुक्त हुने हाम्रो सुझाव दियो । तर, बोर्ड बैठकले २८ खेलमा सहभागी गराउने निर्णय गर्‍यो,’ ती पदाधिकारीले भने । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले पनि राखेप बोर्ड बैठकमा पदकीय हिसाबले सम्भावना बोकेका खेललाई मात्र सहभागी गराइनुपर्ने विषयमा कुरा उठेको स्वीकारे । ‘देशको आर्थिक अवस्थालाई ध्यानमा राखी पदक जित्ने सम्भावना बढी भएका खेललाई मात्र सहभागी गराउने विषयमा कुरा उठेको थियो,’ उनले भने ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले एसियाली खेलकुदमा एक खेल थप्नेगरी छलफल भइरहेको स्वीकार गरे । उनले भने, ‘बोर्ड बैठकपछि पनि एक खेल थप्ने छलफल भइरहेको छ । यो प्रस्ताव मन्त्रालयमा गएको छ ।’ 

गत आइतबार सम्पन्न राखेप बोर्ड बैठकको निर्णय पुस्तिकामा समेत मन्त्रालयका सचिव गौतम र सहसचिव ईमनारायण श्रेष्ठले खेल संख्यालगयतका विषयमा आफ्नो रिजर्भवेशन राखेर हस्ताक्षर नगरेको जानकारी पनि एक बोर्ड सदस्यले दिए । 

राखेप बोर्डमा मन्त्रालयका सचिव र मन्त्रालयको खेलकुद महाशाखा हेर्ने सहसचिव सदस्य रहने प्रावधान छ । 

आगामी सेप्टेम्बरमा चीनको हाङ्झोउमा आयोजना हुने १९ औँ संस्करणको एसियाडमा एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको १९औं संस्करणमा विभिन्न ४० खेल समावेश गरिएको छ । यस हिसाबले अब एसियाली महादेशको खेलकुद महाकुम्भ सुरु हुन ४ महिना मात्र बाँकी छ । 

प्रतियोगितामा सहभागी हुने अन्य राष्ट्रले आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याए पनि नेपालमा भने सहभागिता जनाउने अझै खेल सङ्ख्याकै विषयमा अन्योल रहेको अवस्था देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप