बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस सरकारबाट बाहिरिने घोषणा गरेको माओवादीका मन्त्रीले कहिले दिन्छन् राजीनामा ?

शुक्रबार, १२ जेठ २०८०, १६ : ३६
शुक्रबार, १२ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको चार दिन बितिसक्दा पनि माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छैनन् । माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा नदिएका कारण सो पार्टी सरकारमा रहिरहन्छ कि बाहिरिन्छ भन्नेबारे अन्योल कायमै छ ।

माओवादीबाट सुनिता यादव उद्योग तथा वाणिज्यमन्त्री र रहबर अन्सारी उद्योग तथा वाणिज्य राज्यमन्त्रीको भूमिकामा छन् । 

मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी रूपमा मन्त्रालय बाँडफाँट गरेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि, अहिलेसम्म माओवादी केन्द्र सरकारमै छ । गत मंगलबार मुख्यमन्त्री यादवले कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जनालाई नियुक्त गरी सरकार विस्तार गरेका थिए ।

मुख्यमन्त्री यादवले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेका थिए । त्यस्तै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका वसन्त कुशवाहालाई पछि मन्त्रालय तोक्ने गरी सो मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई नियुक्त गरिएको छ ।

मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । मन्त्रालय बाँडफाँटमा जनमत र लोसपा पनि असन्तुष्ट थिए ।

यस बीचमै लोसपा बिहीबार सरकारमा सहभागी भएको छ । लोसपाबाट वन तथा वातावरण मन्त्रीको रूपमा विरेन्द्र प्रसाद कुर्मी सहभागी भए । तर, माओवादी र जनमतले भने सरकारमा रहने कि नरहने भन्नेबारे अहिलेसम्म निर्णय लिन सकेका छैनन् ।

यहाँसम्म कि माओवादीका मन्त्री अहिलेसम्म सरकारमै छन् भने जनमतका वसन्त कुशवाहालाई बिना विभागीय मन्त्री बनाइएको छ । यस्तै, सामाजिक विकास मन्त्रीबाट हटाएर शिक्षा तथा समाज कल्याण मन्त्री बनाइएका जनमत पार्टीका महेशप्रसाद यादवले बिहीबार नै शिक्षा तथा समाज कल्याण मन्त्रालयको कार्यभार सम्हालिसकेका छन् । जनमत पार्टीले पनि सरकारमा रहने कि बाहिरिने भन्नेबारे केन्द्रको निर्देशन कुरिरहेको जनाएको छ ।

‘गठबन्धनको सरकारमा हरेक निर्णय सहमतिको आधारमा हुनुपर्छ,’ माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह भन्छन्, ‘तर मुख्यमन्त्रीले गरेको निर्णय जबसम्म फिर्ता हुँदैन वा कुनै सहमति हुँदैन, तबसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’ मुख्यमन्त्रीले समयमै सहमति नगरे २–३ दिनभित्रै माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा आउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप