शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विश्वका समस्यामाथि लेकसाइडमा बहस

शुक्रबार, १२ जेठ २०८०, २१ : ४१
शुक्रबार, १२ जेठ २०८०

पोखरा । पोखराको लेकसाइडमा शुक्रबार फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, वैश्विक आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा बहस भएको छ ।

नेपालकै विभिन्न १५ जिल्लाबाट आएका प्रतिनिधि बहसमा सहभागी भएका हुन् । युथ थिङ्कर्स सोसाइटीले राष्ट्रसंघको नमुना महासभा आयोजना गरेर बहस गराएको हो, जसमा सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको अभ्यास गरेका थिए ।

महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबारबाट सुरु भएको नमुना महासभा १४ गतेसम्म चल्ने आयोजक संस्था युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)ले जनाएको छ ।

महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी छन् । उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह थिए ।

शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सिप सिकाउने बताए । ‘यो एउटा अवसर हो । तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुहुनेछ,’ शाहले भने ।

नमुना सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो ।

संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्द्रपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरे । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोधसमेत गरेका थिए ।

कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप