शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३ विवाह, २ क्यान्सर, १ अन्तिम इच्छा : रानी बेगम पर्दामा उमराव जान बन्दा, 'तवायफ'सँग विवाह गर्न थाले

आइतबार, १४ जेठ २०८०, १७ : ००
आइतबार, १४ जेठ २०८०

रानी बेगम पाकिस्तानी फिल्म उद्योगकी ती दिग्गज अभिनेत्री हुन् जसलाई त्यहाँका तवायफको जीवन बदल्ने श्रेय दिइन्छ । पाकिस्तानी फिल्म उमराव जानमा उनले यस्तो नृत्य गरिन् कि तवायफहरुले उनका लागि सुनको घुँगरु बनाएर उपहार दिए । यो फिल्मको मानिसमाथि यस्तो असर पर्‍यो कि थुप्रैले 'तवायफ'सँग विवाह गर्न थाले । 

तवायफ एक सफल मनोरञ्जनकर्ता हुन् जसको खासगरी मुगल युगदेखि चर्चा सुरु भयो । तवायफहरुले सङ्गीत, नृत्य (मुजरा), थिएटर र उर्दू साहित्यिक परम्परामा उत्कृष्ट योगदान पुर्‍याए । तवायफहरुले १८ औँ शताब्दीको मध्यमा मुगल शासनको पतनसँगै थप प्रसिद्धि प्राप्त गरे । उनीहरुले परम्परागत नृत्य र सङ्गीत प्रकारको निरन्तरता र त्यसपछि आधुनिक भारतीय सिनेमाको उदयमा महत्त्वपूर्ण योगदान दिए ।

उनको निजी जीवन निकै पीडादायी रह्यो । ड्राइभरकी छोरी थिइन् । उनलाई चर्चित गायिका मुख्तार बेगमले पालिन् किनभने उनका बुवाले उनलाई पाल्न सक्दैनथे । उनी फिल्ममा आउँदा उनलाई अभागी हिरोइनको ट्याग लाग्यो । एक पछि अर्को गर्दै उनका दुई दर्जन फिल्म फ्लप भए । त्यसपछि उनलाई उनको नृत्य कलाले पहिचान दिलायो र यति सफल भइन् कि उनलाई डान्सिङ क्विन अफ पाकिस्तानको उपाधि दिइयो ।

उनल तीन पटक विवाह गरिन् तर कुनै पनि विवाह टिक्न सकेन । दोस्रो श्रीमानले उनलाई क्यान्सर भएको थाहा पाएपछि छोडिदिए । जुन पाकिस्तान क्रिकेटरले उनलाई चुनावमा जिताइन्, उनले पनि पछि लत्त्याए । एक पटक क्यान्सरसँग युद्ध जितिन् तर त्यो पुनः फर्कियो । उनको एउटै इच्छा थियो, आफ्नी छोरीको विवाह । सन् १९९३ मा मे २७ तारिखको दिन उनी यो संसारबाट बिदा भइन् । 

आज उनको जीवनका विभिन्न पाटाबारे जानकारी लिऔँ

rani begum1नायिका मुख्तार बेगमका ड्राइभरकी छोरी थिइन् रानी

रानी बेगम उर्फ नसिराको जन्म ८ डिसेम्बर सन् १९४६ मा लाहौरमा भयो । उनका पिता मोहम्मद शफी पाकिस्तानकी चर्चित गायिका तथा नायिका मुख्तार बेगमका ड्राइभर थिए । केही मौकामा रानीको भेट मुख्तार बेगमसँग भएको थियो । उनलाई देखेर नै रानीले पनि आफू नायिका बन्ने सपना देखेकी थिइन् । 

गरिबीका कारण पिताले छोरी मुख्तारलाई दिए

रानी अलि हुर्किएपछि गायिका मुख्तार बेगमले आफ्नो ड्राइभरको गरिबी देखेर उनकी छोरीलाई धर्मपुत्री बनाउने निर्णय लिइन् किनभने उनको कुनै सन्तान थिएन । मुख्तारले नै नसिरालाई रानी बेगम नाम दिएकी थिइन् ।

मुख्तार बेगमले रानीलाई पनि आफूलाई झैँ गायिका बनाउन चाहिन्थिन् । त्यसैले शास्त्रीय सङ्गीतको तालिम दिने गर्थिन् तर रानीको आवाज गायिका बन्न लायक छैन भन्ने थाहापछि उनले आफ्नो निर्णय बदलिन् ।

रानी बेगमले तीन पटक निगार अवार्ड पाइन् जसलाई पाकिस्तानी ओस्कर अवार्ड भनिन्छ । 

rani begum3१६ वर्षमा बनिन् नायिका, अलच्छिनी हिरोइनको ट्याग लाग्यो

रानीलाई नायिका बनाउनका लागि मुख्तार बेगमले उनलाई फिल्म निर्माता फजल अली करिमको कराँचीस्थित घर लिएर गइन् । मुख्तारले भनेपछि रानीले सबैको अगाडि नाचेर देखाइन् र एउटा नाटकको केही लाइन पनि सुनाइन् । फजल अली आफ्नो फिल्म ‘चिराग जलता रहा’ मा नायिका दिबालाई लिइसकेका थिए त्यसैले उनले रानीलाई फिल्म निर्माता जि.ए.गुल भए ठाउँ पठाइदिए, जो नयाँ अनुहारको खोजीमा थिए । जि.ए. गुलले रानीलाई फिल्म ‘महबूब’ मा साइन गराए । जसलाई अनवर कमाल पाशाले निर्देशन गरे ।

अनवर यस्ता फिल्म निर्माता थिए जसको सबै फिल्म सुपर हिट हुन्थ्यो । तर रानीलाई लिएर बनाएको उनको फिल्म ‘महबूब’ फ्लप भयो । उनले रानीलाई आफ्ना अन्य फिल्ममा पनि काम दिए तर ती सबै फ्लप भए । एक महान् फिल्म निर्माताको फिल्म फ्लप हुनुको पछाडि रानीकै हात भएको बताइयो । उनलाई अलच्छिनी नायिकाको ट्याग दिइयो ।

सन् १९६२–१९६६ सम्म रानीको सुन्दरताले प्रभावित भएर उनले २५ फिल्ममा काम पाइन् तर लगभग हरेक फिल्म फ्लप भयो ।

मद्दत गर्ने फिल्म निर्मातासँग पहिलो पटक प्रेम बस्यो, तर धोका पाए

यति बेला निर्देशक अनवर कमाल पाशाले रानीको मद्दत गरिन् र लगातार उनलाई आफ्नो प्रोडक्सनको फिल्ममा लिइरहे । फिल्म ‘जोकर’ को सुटिङका बेला रानी र कमाल नजिकिए । दुवै एक अर्कालाई मन पराउन थाले तर कमालले अचानक शमिम बानोसँग विवाह गरे । कमालले धोका दिएका कारण रानी नराम्रोसँग टुटिन् । तर उनले यसको असर आफ्नो फिल्मी करियरमा पर्न दिएनन् ।

फिल्मी करियर, सफलता र स्टारडम

फिल्म ‘देवर–भावी’ बाट हिट भइन् र बनिन् डान्सिङ क्विन अफ पाकिस्तान

सन् १९६६ मा पाकिस्तानका चर्चित निर्माता वहिद मुराद साथीहरूको दबाबमा फिल्ममा आए र हिट भए । देवर–भावीमा वहिदसँग रानीलाई कास्ट गरियो । यो फिल्म यति हिट भयो कि रानी बेगम उद्योगकी शीर्ष अभिनेत्री बनिन् । लेडी किलरको नामले चर्चित अभिनेता वहिद मुराद, रानीका लागि भाग्यमानी साबित भए । चर्चित अभिनेता वहिद मुरादसँग रानी  ‘अंजुमन’, ‘दिल मेरा, धड्कन तेरी’, ‘खलिश’, ‘बहारों फूल बरसाओ’, ‘दिदार’, ‘सहेली’, ‘बहन–भाइ’ जस्ता थुप्रै हिट फिल्ममा देखिए ।

सन् १९६८ को ‘चन मखना’, ‘सज्जन प्यारा’, ‘दिल मेरा, धड्कन तेरी’ र ‘बहन भाई’ जस्ता रानीको फिल्मले अत्यधिक कमाई गर्‍यो । दीया और तुफानले रानीलाई सफलताको शिखरमा पुर्याउन सफल भयो । रानी यति चर्चित भइन् कि हरेक निर्देशक उनलाई आफ्नो फिल्ममा लिन चाहन्थे ।

rani begum4अलच्छिनीको धब्बा हटाउने निर्देशक हसन तारिकसँग गरिन् विवाह

हसन तारिक ती निर्देशक थिए जसले फिल्म ‘देवर–भाभी’ मार्फत रानी बेगममाथि लागेको अलच्छिनी अभिनेत्रीको धब्बा हटाइदिएका थिए । त्यसपछि उनले रानीलाई ‘बहन–भाई’, ‘मेरा घर, मेरी जन्नत’ जस्ता फिल्ममा पनि काम दिए । सन् १९७० को फिल्म ‘अंजुमन’ मा रानीको  प्रस्तुति र अभिनय कला देखेर निर्देशक हसन तारिकले उनलाई मन पराउन थाले ।

रानीलाई पनि उनी मनपर्न थालेको थियो । उनलाई थाहा थियो कि हसनले पहिले नै दुई पटक विवाह गरिसकेका थिए । सन् १९७० मा यी दुईले विवाह गरे र केही वर्षपछि रानीले छोरी राबियालाई जन्म दिइन् । आमा बनेपछि पनि रानीको प्रस्तुति र उनको करियरमा केही नकारात्मक असर परेन ।

उमराव जानको भूमिकाका लागि लिएकी थिइन् कत्थकको कडा तालिम

हसन तारिकले श्रीमती रानी बेगमका लागि फिल्म ‘उमराव जान अदा’ बनाउने निर्णय गरे । उनले रानीलाई मोहम्मद हादी रुस्वा उपन्यास उमराव जान अदा पढ्न दिए, जसमा फिल्म बन्न लागेको थियो । रानीले यसमा निकै रुचि देखाउँदै यो उपन्यास चार पटक पढिन् र रटिन् । यो भूमिकाका लागि रानीले कत्थकको कडा तालिम पनि लिइन् ।

डेढ सय वर्ष पुरानो उक्त उपन्यास लखनउको तवायफ उमराव जानमाथि लेखिएको थियो । उनलाई उनका घरका सदस्यले कोठीमा बेचिदिएका थिए । उमरावले बाध्यतावश आफूलाई तवायफको बीचमा बस्न लायक बनाइन् । एक राजाले उनलाई मन पराए र दुई जनाको विवाह भयो  । तर परिवारको दबाबमा ती राजाले उमरावलाई अस्वीकार गरे । यो कहानी उमराव आफैँले उर्दू लेखक मोहम्मद हादी रुसवालाई सुनाए जसले उनको कहानीमा उर्दू उपन्यास लेखिदिए ।

रानी बेगमका कारण पाकिस्तानी तवायफसँग विवाह गर्न थाले धनाढ्य

फिल्म ‘उमराव जान अदा’ मा रानी बेगमले उमरावको भूमिका यति भावुक तरिकाले पेस गरिन् कि फिल्मले पाकिस्तानी बक्स अफिसमा गोल्डन जुबली मनायो । फिल्ममा क्लाइमेक्स गीत ‘जो बचा था वो लुटाने के लिए आए हैं...’ नूरजहांले गाइन् । यसमा रानी बेगमको नृत्यले फिल्मलाई सजिव तुल्यायो ।

रानीले यो गीतको तयारी गर्दै चर्चित कथक डान्सर सिद्दीक सम्राट्सँग आफू यो गीतलाई सधैँका लागि अमर बनाउन चाहेको बताउँदै आफूलाई जे जति आउँछ, त्यो सबै यो गीतमा राखिदिन आग्रह गरिन् । सिद्दीकीले उनले भने झैँ गरे र यो साँच्चै नै पाकिस्तानी सिनेमामा अमर भयो ।

यो फिल्म पनि पाकिस्तानको सबैभन्दा स्मरणीय फिल्ममा गनिन्छ । च्यानल इंकलाबका अनुसार फिल्म रिलिज भएपछि थुप्रै धनाढ्यले पाकिस्तानका तवायफसँग विवाह गरे । थुप्रै युवतीले नयाँ जीवन पाए ।

rani begum5सम्बन्ध विच्छेद र जोड्दै–टुट्दै गरेको सम्बन्ध

‘उमराव जान अदा’ पछि रानी बेगमले नाम, चर्चा, सफलताको नयाँ उँचाइ त पाइन् तर त्यसको केही वर्षपछि नै उनको निजी जीवनको उथलपुथल सुरु भयो । ७० को दशकको अन्तिममा श्रीमान्  हसन तारिकसँग उनको झगडा यति बढ्यो कि यी दुईले सम्बन्ध विच्छेद गरे । छोरीको जिम्मेवारी रानी एक्लैले उठाइन् ।

जहाँ कदम राख्थिन्, त्यो ठाउँलाई चुम्थे निर्माता

निर्माता मियां जावेद कमर रानी बेगमलाई असाध्यै मन पराउँथे । डन डट कमका अनुसार रानीप्रतिको उनको लगाव यस्तो थियो कि उनी जहाँ पाइला राख्थिन्, जावेदले त्यो जमिनमा चुम्बन गर्थे । जब रानीको सम्बन्ध विच्छेद भयो, मियाँ जावेदले उनीप्रति आफ्नो प्रेम व्यक्त गरे । छोरीलाई एक्लै हुर्काइरहेकी रानी पनि मियाँ जावेदसँग विवाह गर्न राजी भइन् ।

क्यान्सर लागेपछि श्रीमानले छोडे

दोस्रो विवाह गरेको केही वर्षपछि रानीलाई क्यान्सर भयो । रानीले यो खबर आफ्ना पति मियाँ जावेदलाई दिएपछि रानीको उपचार गराउनुको सट्टा तत्कालै उनीसँग सम्बन्ध विच्छेद गरे । रानी र उनकी छोरी पुनः एक्लै भए ।

क्यान्सरको उपचारका क्रममा लन्डनमा क्रिकेटर सरफराजसँग भेट भयो

दोस्रो विवाह टुटेपछि रानीले जीवनभर अविवाहित रहने निर्णय गरिन् तर लन्डनमा उपचार गराइरहेका बेला उनको भेट पाकिस्तानी क्रिकेटर सरफराज नवाजसँग भयो । दुवै साथी बने र त्यसपछि प्रेममा परे । वास्तवमा, सरफराज रानीको फ्यान थिए र उनलाई साह्रै मन पराउँथे । यस्तो अवस्थामा रानीको क्यान्सरले उनीहरूको सम्बन्धलाई असर गरेन । अन्ततः दुवैले सन् १९८५ मा विवाह गरे ।

जब क्रिकेटर पति सरफराज पाकिस्तानी राजनीतिमा प्रवेश गरे, रानी बेगमले उनको स्टारडमको सहयोगमा सक्रिय रूपमा प्रचार गरिन् । रानीलाई थाहा थियो कि मानिसहरू उनलाई र्‌यालीहरूमा हेर्न आउँछन्, त्यसैले रानी आफ्नो आधुनिक लुगा र भारी गहना लगाएर ग्लैमरस अवतारमा पुग्थिन् । पार्टीका मानिसहरूले उनलाई सादा लुगा लगाउन दबाब दिन्थे  तर उनी मान्दिन थिन् । सरफराजले अन्ततः १९८५ को आम चुनाव जिते । सरफराजलाई हरेक पाइलामा साथ दिए पनि उनले उनलाई छोडे । तेस्रो विवाह तोडिएपछि रानी एक्लै भइन् ।

क्यान्सरसँग युद्ध, अन्तिम इच्छा र मृत्यु

८० को दशकमा क्यान्सरको लगातार उपचार गराएपछि पनि रानी बेगम चलचित्रमा आइरहिन् र मुख्य भूमिका निर्वाह गरिरहेकी थिइन् । लन्डनमा उपचार गराएपछि रानी बेगम क्यान्सरमुक्त भइन्, तर त्यो क्षणिक थियो । सन् १९६२–८९ सम्म रानी बेगमको फिल्म रिलिज नभएको कुनै वर्ष थिएन । तर, जब क्यान्सर फेरि फर्कियो, उनको करियर पनि समाप्त भयो ।

rani begum6अन्तिम इच्छा छोरीको बिहे हेर्नु थियो

८० को दशकको उत्तरार्धमा रानी बेगमको जीवनमा क्यान्सर फर्किएपछि उनलाई थाहा थियो कि उनीसँग धेरै समय बाँकी छैन । क्यान्सरको उपचारका लागि अस्पताल भर्ना हुँदा उनले बाँच्ने इच्छा त्यागेर परिवारका सदस्यहरूका अगाडि अन्तिम इच्छा व्यक्त गरेकी थिइन् । रानी जिउँदै हुँदा छोरी राबियाको बिहे हेर्न चाहन्थिन् ।

रानीको चाहनाबमोजिम राबियाले सन् १९९३ मा डा. अनवरसँग विवाह गरिन्, तर रानी विवाहमा उपस्थित हुन सकिनन् । छोरीको विवाह भएको केही दिनमै रानी बेगमको २७ मे १९९३ मा क्यान्सरबाट मृत्यु भयो । पाकिस्तानकी लक्स गर्ल र डान्सिङ क्विन रानीको ४६ वर्षको उमेरमा कराचीको आगा खान अस्पतालमा निधन भएको हो ।

मृत्युको केही दिनपछि आमा र बहिनीको मृत्यु भयो

रानी बेगमकी आमालाई उनको मृत्युको जानकारी दिइएको थिएन, तर रानीको मृत्यु भएको ठिक ३३ दिनपछि उनको पनि निधन भयो । ३ महिनापछि रानीकी एक्ली बहिनीको पनि मृत्यु भयो । लाहोरको मुस्लिम समाधिस्थलमा रानी र उनकी आमाको चिहान सँगै बनाइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप