शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्य सम्पादनमा भरतपुर महानगर पहिलो, काठमाडौँले पायो बढी अनुदान

मङ्गलबार, १६ जेठ २०८०, १९ : ५९
मङ्गलबार, १६ जेठ २०८०

मकवानपुर । बागमती प्रदेशका ३ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा भरतपुर महानगरपालिका पहिलो भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको भरतपुरले संघ सरकारबाट ६१ लाख रुपैयाँ अनुदान प्राप्त गर्दा ललितपुरले ४९ लाख रुपैयाँ र काठमाडौँले ४८ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका ३ महानगरपालिका र एक उपमहानगरपालिकालाई ४ अर्ब ६२ करोड २१ लाख रुपैयाँ विभिन्न अनुदान शीर्षकमा बजेट वक्तव्यमार्फत वित्तीय हस्तान्तरण गरेको छ ।

सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा बागमतीका ३ महानगरपालिकाका लागि ३ अर्बभन्दा बढी अनुदान वित्तीय हस्तान्तरण गरेको छ भने प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाका लागि एक अर्बभन्दा बढी रकमको वित्तीय हस्तान्तरणसहित बजेट विनियोजन गरेको छ ।

सरकारले काठमाडौँ, भरतपुर र ललितपुर महानगरपालिकाका लागि ३ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो भने हेटौँडा उपमहानगरपालिकालाई एक अर्ब १४ करोड ५० लाख रुपैयाँ यो शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र ललितपुर महानगरपालिका १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ पाउने भएका छन् ।

सरकारले काठमाडौँ महानगरपालिकाका लागि चालुतर्फ २ अर्ब ११ करोड ८१ लाख रुपैयाँ र पुँजीगततर्फ २ करोड ५० लाख रुपैयाँ गरी कुल २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि रकम विनियोजन गरेको छ । यस्तै काठमाडौँ महानगरपालिकाका लागि समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान ११ करोड २५ लाख रुपैयाँ, सुत्रमा आधारित अनुदान ५८ करोड ८२ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ४८ लाख रुपैयाँ गरी ७० करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सशर्त अनुदान मार्फत् सरकारले काठमाडौँका लागि चालुतर्फ एक अर्ब ४१ करोड २६ लाख रुपैयाँ र पुँजीगत तर्फ २ करोड ५० लाख रुपैयाँ गरी एक अर्ब ४३ करोड ७६ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ भने विशेष र समपूरक अनुदानतर्फ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन भएको छैन ।

सरकारले ललितपुर महानगरपालिकाका लागि चालुतर्फ एक अर्ब ४ करोड ७२ लाख रुपैयाँ र पुँजीगत तर्फ ९ करोड १८ लाख रुपैयाँ गरी एक अर्ब १३ करोड ८७ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरेको छ । सरकारले ललितपुर महानगरपालिकाका लागि समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान १० करोड रुपैयाँ, सुत्रमा आधारित अनुदान २९ करोड ३२ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ४९ लाख रुपैयाँ गरी ३८ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सशर्त अनुदान मार्फत् सरकारले ललितपुरका लागि चालु तर्फ ६४ करोड ९१ लाख रुपैयाँ र पुँजीगत तर्फ २ करोड १५ लाख रुपैयाँ गरी ६७ करोड ६ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ भने विशेष अनुदान मार्फत् पुँजीगत तर्फ मात्र २ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ४ करोड ५० लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरेको छ ।

सरकारले भरतपुर महानगरपालिकाका लागि चालुतर्फ एक अर्ब ६३ करोड ९ लाख रुपैयाँ र पुँजीगत तर्फ ११ करोड ३४ लाख रुपैयाँ गरी एक अर्ब ७५ करोड ३ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरेको छ । यस्तै, समानीकरण अनुदान तर्फ न्यूनतम अनुदान १० करोड रुपैयाँ, सुत्रमा आधारित अनुदान २८ करोड ४५ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ६१ लाख रुपैयाँ गरी ३९ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ । सशर्त अनुदान मार्फत् सरकारले भरतपुरका लागि चालु तर्फ १ अर्ब २४ करोड ६३ लाख रुपैयाँ र पुँजीगत तर्फ २ करोड ९ लाख रुपैयाँ गरी एक अर्ब २६ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ भने विशेष अनुदान मार्फत् पुँजीगत तर्फ मात्र ६ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २ करोड ७५ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाका लागि चालुतर्फ एक अर्ब १० करोड ८ लाख रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ४२ लाख रुपैयाँ गरी एक अर्ब १४ करोड ५० लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरिएको छ । सरकारले हेटौंडाका लागि समानीकरण अनुदानतर्फ न्यूनतम् अनुदान ८ करोड ७५ लाख रुपैयाँ, सुत्रमा आधारित अनुदान २१ करोड ८१ लाख रुपैयाँ र कार्यसम्पादनमा आधारित अनुदान ४८ लाख रुपैयाँ गरी ३१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सशर्त अनुदान मार्फत् सरकारले हेटौंडाका लागि चालु तर्फ ७९ करोड ४ लाख रुपैयाँ र पुँजीगत तर्फ एक करोड ७२ लाख रुपैयाँ गरी ८० करोड ८६ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरिएको छ भने विशेष अनुदान मार्फत् पुँजीगत तर्फ मात्र ९५ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ एक करोड ७५ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका लागि बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप