सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

सोमबार, ११ साउन २०८३, १६ : २५
सोमबार, ११ साउन २०८३

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा दुई समुदायबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विस्तृत छानबिन सुरु गरेको छ।
  • पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा उग्र भई ढुङ्गामुढा र तोडफोड हुँदा प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु भएको र नौ जना घाइते भएका छन्।
  • आयोगले सरकारलाई शान्ति-सुरक्षा मजबुत बनाउन, दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन गरिसकिएको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको जनाएको हो।

आयोगका अनुसार पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद डिजे बजाउने क्रममा उग्र बन्दै दुई पक्षबीच ढुङ्गामुढा र तोडफोड भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी आयोगले प्राप्त गरेको जनाएको छ।

घटनाको विरोधमा विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारी लाठी र रडसहित सडकमा उत्रिएपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगको भनाइ छ। 

कप्तानगन्जलगायत क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ। आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयसँग घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्ति–सुरक्षाको अवस्था मजबुत बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ। 

साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि आयोगले अनुरोध गरेको छ।

आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। संवादका माध्यमबाट विवादको समाधान खोजी शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्‍याउन पनि आयोगले सबै पक्षको ध्यानाकर्षण गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप