बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुवाषलाई एक स्ट्रोकले पछि पार्दै भारतका सुमितले जिते गल्फको उपाधि

बुधबार, १७ जेठ २०८०, १९ : ५४
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताकोउपाधि भारतका सुमित कोटवालले जितेका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाष तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन् । 

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार एक अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३ अन्डर दुई सय तीनको नतिजासहित उपाधि जितेका हुन् । पहिलो दिनका लिडर सुवाषले दुई अन्डर ७० को कार्डसहित समग्रमा १२ अन्डर दुई सय चारको प्रदर्शन गरे । उनी मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो भए । 

युवा गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट तीन अन्डर ६९ को स्कोर बनाए । समग्रमा १० अन्डर दुई सय ६ स्कोरसहित उनी तेस्रो भए । भारतीय वरूण मुथाप्पाले अन्तिम दिन इभन पार ७२ मा खेल टुंग्याए । उनी समग्रमा दुई अन्डर दुई सय १४ स्कोरसहित चौथो स्थानमा आए ।

समग्रमा एक ओभर दुई सय १७ को प्रदर्शनसहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्त रुपमा पाँचौं भए । समग्रमा तीन ओभर दुई सय १८ को स्कोरसहित नेपालका वाङ्चेन ढोन्डुप सातौं भ एभने बंगलादेशका मोहम्मद सुमोन आठौं भए । उनले समग्रमा तीन ओभर दुई सय १८ स्कोर गरे ।

यसैगरी समग्रमा १० ओभर दुई सय २६ स्कोरसहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैर सलिमले संयुक्त रुपमा १०औं स्थान हासिल गरे ।

महिलातर्फ कश्मीरा शाहले उपाधि जितिन् । अन्तिम दिन बुधबार चार ओभर ७६ को स्कोरमा उनले समग्रमा १८ ओभर दुई सय ३४ सहित पाँच स्ट्रोकको अग्रतामा उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भइन् । उनले ६ ओभर ७८ सहित समग्रमा २३ ओभर दुई सय ३९ को स्कोर गरिन् । दुई सय ७२ स्कोरसहित आइन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् । 

प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कांस्य पदक प्राप्त गरे । प्रतियोगितामा सुवाषले एक स्वर्ण र एक रजत तथा सदभावले दुई रजत नेपाललाई दिलाए । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामाले पुरस्कार वितरण गरे । 

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डको संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका ५१ ज्ना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकुद परिषद्, वागमती प्रदेश खेलकुद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप