बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
नयाँ संसद भवन निर्माण

नयाँ संसद् भवन निर्माणको समय र लागत बढेको बढ्यै : काम ढिलो भएकोमा सभामुखको असन्तुष्टि

बिहीबार, १८ जेठ २०८०, १७ : ३८
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण भइरहेको भवनको स्थलगत अनुगमन गर्दै निर्धारित समयमा काम हुन नसकेकोमा असन्तुष्टि जनाउँदै द्रुत गतिमा काम गर्न आग्रह गरेका छन् । 

स्थलगत अनुगमन गरेपछि उनले भवन अवलोकन गर्न जाने मानिस जति पनि कामदार नभएको भन्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे । 

निर्माणाधीन संसद् भवनको अवलोकनपछि सभामुख घिमिरेले भवन निर्माणको परामर्शदाता राजुमान मानन्धरलाई ठट्टा गर्दै भने– ‘हामी यहाँ हेर्न आए जति पनि काम गर्ने मान्छे छैनन् नि यहाँ । काम गर्नलाई पैसा दिन नसकेको भए हो तर पैसा दिन सक्ने भएपछि यसरी सोध्न पाइयो नि हैन ? अब हामी बेला बेलामा हेर्न आइरहन्छौँ, प्रगति कस्तो भयो हेरिराख्छौँ ।’ सहरी विकास मन्त्री सीता गुरुङले प्रतिनिधिसभाको हिउँदे अधिवेशनदेखि नै नयाँ संसद् भवनमा बैठक बसाल्न खोजेको तर निर्माण नसकिँदा नसकिइएको उल्लेख गरिन् । 

उनले आफूले मन्त्रालय सम्हालेपछि निरन्तर रूपमा काम अगाडि बढाउन जोड दिएको र केही प्रगति भएको दाबी गरिन् । मन्त्री गुरुङले भनिन्– ‘मैले मन्त्रालय सम्हाल्नुभन्दा अगाडि निर्माणको काम अलि सुस्त–सुस्त थियो । अलि छिटो काम अघि बढाउन भनेपछि म आएको बेलामा भन्दा अलिकति केही प्रगति भएको छ । समयमा काम सक्न निर्माण व्यवसायीले कामदारको सङ्ख्या बढाउनुपर्ने अवस्था छ । हाम्रो मन्त्रालयबाट भुक्तानी गर्नुपर्ने कुरामा नीतिगत निर्णय गर्नुपर्ने कुरामा कहीँ कतै कमजोरी हुन दिएका छैनौँ । तर उहाँहरूले काम समयमा सम्पन्न गर्नुपर्छ । यो भवन निर्माणको म्याद थप्न रहर छैन, सरकारको तर्फबाट यसमा केही समस्या छैन ।’

उनले निर्माण व्यवसायीको इच्छाशक्ति भयो र काम गर्ने जनशक्ति बढायो भने निर्माणको काम छिटो सकिने बताइन् । निर्माण व्यवसायी कम्पनीले समयमा काम गर्न नसक्ने हो भने उनीहरुले अर्को सहायक निर्माण व्यवसायी खोजेर समयमा काम सक्ने गरी लगाउनुपर्नेमा जोड दिइन् । दुई सिफ्ट राखेर भए पनि काम गराउन भनेको र  समय थप गरिराख्न नसक्ने मन्त्री गुरुङले बताइन् । 

समयमा काम नगर्नु पनि भ्रष्टाचार हो ः उपसभामुख राना 

संसद् भवन अनुगमनको क्रममा उपसभामुख इन्दिरा रानाले समयमा काम नगर्नु पनि भ्रष्ट्राचार भएको बताइन् । उनले समयमा काम नगर्नेमा तुरुन्त ‘एक्सन’ लिनुपर्ने बताइन् । 

indira

उपसभामुख रानाले भनिन्– ‘समयमा काम नगरी समयको दुरुपयोग गर्नु पनि भ्रष्ट्राचार हो । समय सकिँदा पनि काम नसकिँदा तुरुन्त एक्सन लिनुपर्छ । अनि मात्र कुनै पनि कुरामा हामी सफल हुन्छौँ ।’ 

निर्माण व्यवसायी कम्पनीले जुन समयमा काम गर्छु भनेको छ, त्यो समयमा काम सम्पन्न गर्नका लागि सहायक ठेकेदार राखेर भए पनि काम गर्नुपर्ने बताइन् । 

यस्तै उपसभामुख रानाले भारतले महान् भारत भनेर नेपालको भूभाग देखाउँछ भने नेपालले पनि ग्रेटर नेपालको पक्षमा अडान लिनुपर्ने बताइन् । 

संसद् भवन निर्माणको म्याद थपेको थप्यै, लागत पनि बढ्यो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । ३ वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार यो भवनको गत भदौमै निर्माण सकिनुपर्ने थियो । त्यसपछि ६ महिनाका दरले म्याद थपे पनि काम नसकिएका कारण पुन ६ महिना म्याद थप्ने तयारी गरिएको छ । 

यस्तै समय थप्दै गए पनि भवन निर्माणको लागत पनि बढ्दै गएको छ ।  टुण्डी सेक ज्वाइन्ट भेन्चरले काम भ्याटसहित ५ अर्ब २ करोडमा यो आयोजनाको ठेक्का पाए पनि अहिले त्यो लागत बढेर ५ अर्ब ३९ करोड पुगेको छ ।  १५१ रोपनी जग्गामा सङ्घीय संसद्का १२ वटा विभिन्न भवन निर्माण भइरहेको छ । जहाँ प्रतिनिधिसभा, राष्ट्रियसभा, संसदीय दलको कार्यालय, सङ्घीय संसद् सचिवालय, सुरक्षाकर्मी आवास, पार्किङ स्थल लगायतका विभिन्न संरचना बनिरहेको छ । 

सहरी विकास मन्त्रालयका अनुसार कूल जमिनको २७ प्रतिशत भागमा भौतिक संरचना, २० प्रतिशत भागमा बाटो, ४३ प्रतिशत भागमा बगैँचा निर्माणको काम हुनेछ ।  हालसम्म भवन निर्माणको काममा भौतिक प्रगति ६३ प्रतिशत र आर्थिक प्रगति ५३ प्रतिशत आयोजनाको परामर्शदाता राजुमान मानन्धरले सभामुख घिमिरेलाई जानकारी गराए । 

नयाँ संसद् भवनको अनुगमनपछि सभामुख घिमिरे र उपसभामुख रानाले छिटो निर्माण कार्य सक्न सहरी विकास मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप