शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थुनछेक बहसका लागि १८ आरोपीलाई अदालतमा उपस्थित गराइयो

आइतबार, २१ जेठ २०८०, ११ : ४२
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । 
आइतवार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको हो । 

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।
 नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । 

 जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो । 
अदालतमा सबैभन्दा पहिला खाणको थुनछेक बहस थालिएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप