शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

जब निर्देशक पाण्डेले ‘परस्त्री’ पच्छ्याए...

शनिबार, २७ जेठ २०८०, १६ : १३
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । पोष्टरकै कारण पनि ‘परस्त्री’ फिल्म अहिले चर्चामा छ । हालै पोष्टर र ट्रेलर सार्वजनिक हुँदा अभिनेत्री शिल्पा मास्केलाई अहिलेसम्मकै बोल्ड अन्दाजमा प्रस्तुत गरिएकोमा धेरैको ध्यान खिच्यो ।

‘परस्त्री’ इन्डो नेपाली फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा निर्माण भएको फिल्म अगामी १५ असारबाट नेपाल र भारतमा एकैसाथ रिलिज हुँदैछ । फिल्मका निर्देशक हुन् सुरज पाण्डे । फिल्म प्रदर्शनको क्रममा केही समय यता पाण्डेको भारत भ्रमण बाक्लिएको छ । 

पोष्टरको चर्चा नेपालमा मात्र नभएर बलिउड पनि भयो । बलिउड फिल्मका समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा पोष्टर शेयर गर्दै तारिफसमेत गरे । तरण आदर्श लगायतको प्रतिक्रियाले फिल्मप्रति दर्शकमा उत्साह जागेको पाण्डे बताउँछन् ।

फिल्ममा शिल्पाको अलवा गौरव विष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी लगायतको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माण गरेका हुन् ।

नेपाल र भारत एकैसाथ रिलिज हुन लागेको ‘परस्त्री’ दोस्रो फिल्म हो । यस अघि ‘प्रेम गीत ३’ हिन्दीमा डबिङ भएर रिलिज भएको थियो । ‘परस्त्री’ भने निर्माण नै हिन्दी र नेपाली¬ दुई भाषामा भएको छ । 

‘परस्त्री’को बिषयबस्तु एरोटिक थ्रिलर छ । सब्जेट बिकाउ र मासले हेर्ने खालका भएकोले फिल्म दुई भाषामै तयार गरिएको सुरज बताउँछन् ।

एउटै कलाकारलाई पहिलो टेकमा नेपाली र दोस्रो टेकमा हिन्दी बोल्न लगाउनु पर्छ । कलाकार के बोल्ने कन्फ्युज हुने सम्भावना धेरै हुन्छ । दुई भाषामा सुटिङ गर्न निकै गाह्रो भएको सुरजले बताए । 

‘नेपाली कलाकार भएकोले नेपाली त सजिलै बोल्थे’, सुरजले सुटिङ अनुभव सुनाए, ‘हिन्दी संवादमा कन्फ्युजन, टोन नमिलेर हैरान । कलाकारलाई हिन्दी टोनमा डायलग निकै कठिन पथ्र्यो ।’ 

सुटिङ पहिले वर्कसप पनि गरिएकोले सुटिङ केही सहज भएको सुरजले रातोपाटीसँग बताए ।

सेक्सको कन्टेन्ट 

‘परस्त्री’ शब्दले नै अर्थ दिन्छ, अर्काको श्रीमती । फिल्म पनि यही कथामै बनेको छ । ‘विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु फिल्ममा छ,’ सुरजले कथाको केही अंश खोेले ।

‘एकजोडी श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नहुँदा त्यहाँ अन्य पुरुषको प्रवेशपछि निम्तिने समस्या नै फिल्मको थिम हो’, सुरजले थपे ‘फिल्मको बिषय एरोटिकल छ । जुन दर्शकले अहिलेसम्म हेरेकै छैन ।’

पछिल्लो समय नेपाली फिल्ममा कमेडी बिक्छ । त्यसैले, प्रेमकथामा बन्ने फिल्ममा पनि केही कमेडी घुसाइन्छ । सुरजको भने फिल्ममा कमेडी घुसाएको छैनन् । किन त ? उनले भने, ‘हाम्रो फिल्मको बिषय फरक छ । यसमा कमेडी सुहाउँदैन । थ्रिलर भने केही छ ।’

फिल्मको हिन्दी भाषाको सम्पूर्ण काम भारतको फेष्ट इन्टरटेनमेन्टमा गरिएको हो । यसले अहिलेसम्म ११ सय फिल्म डबिङ र मिक्सिङ गरिसकेको छ । प्राविधिक पक्ष उत्कृष्ट हुने भएकोले त्यहाँ गरिएको उनले बताए ।

बलिउड रिलिजका लागि वितरक पिबिआरले न्यूनतम ५०० हलमा रिलिजको जिम्मा लिएको छ । उनले भने, ‘अझै धेरै हलले माग गरेका छन् । त्यसैले, एजेन्डमार्फत् बलिउडको ओटिटीसँग पनि रिलिजको तयारी छ ।’

‘हलमा होस् कि, ओटिटी, जहाँ राम्रो हुन्छ, त्यही बेच्ने तर्खरमा छौ’, सुरजले भने, ‘हल र ओटिटी दुबैमा एकसाथ आउन पनि सक्छ ।’

बलिउड रिलिजका लागि सुरजलाई फिल्मको पोष्टरले पनि सहयोग गरेको छ । पोष्टरमा झल्किएको सेक्सको बिषयले फिल्मप्रति वितरक सकारात्मक देखिएका हुन् ।

भारतमा अहिले एउटा भनाई छ, ‘कि शाहरुख बिक्छ, कि सेक्स’ । आफ्नो फिल्ममा पनि सेक्सको कन्टेन्ट भएकोले वितरकको चासोमा परेको उनले सुनाए ।

बिहिबार ट्रेलर रिलिजपछि फिल्मको डिमान्ड सबै तिरबाट हुनेमा सुरज विश्वस्त छन् ।

त्यसपछि भए निर्देशक

सानैदेखि अभिनय थालेका सुरजको ‘परस्त्री’ निर्देशनमा डेब्यु हो । यसअघि उनले ‘नेपाल’, ‘दुई किनारा’, ‘कर्तब्य’, ‘दोबाटा’ लगायत आधा दर्जन बढी फिल्म बालकलाकारको रुपमा अभिनय गरेका थिए ।

केही वर्ष पहिलेको फिल्म ‘लभ लभ लभ’ मा भने उनी नायक नै थिए ।

आमा शर्मिला पाण्डेको कारण फिल्ममा  जोडिए उनी आमाकै रहरले बालकलाकारदेखि हिरोसम्म भए उनी । धेरैले अभिनयमै निरन्तरता दिन उनलाई सुझाएका थिए । तर अहिले भने उनले अभिनयबाट पाइला निर्देशनमा मोडे । आखिर किन ? 

उनमा निर्देशनको रहर अभिनयको सिलसिलामै पलाएको हो । बालकलाकारको रुपमा होस् वा हिरो भएर अभिनय गर्दा निर्देशकको काम उनलाई बोल्ड लाग्थ्यो । त्यसैले, निर्देशकको गतिविधि निगरानी गर्थे । अनि आमाले निर्माण गर्ने हरेक फिल्ममा सुटिङमा जान्थे, नियाल्थे । यसरी बिस्तारै निर्देशनको पदचाप पच्छ्याए । 

‘परस्त्री’को लेखक दीपेन्द्र के खनाल हुन् । फिल्म लेखन समयमा उनी खनालसँगै हुन्थे । दीपेन्द्रले कथा सुनाउँदा मज्जा लिन्थे । 

‘तिमी निर्देशन गर्छाै त ?’ एकदिन दीपेन्द्रले सुरजलाई सोधे । किनभने दीपेन्द्रलाई सुरजले पहिले देखि नै अभिनय भन्दा निर्देशनमा रुचि भएको बताएका थिए । दीपेन्द्रको प्रश्नमा ‘हुन्छ’ भन्दै उनी निर्देशनमा होमिए ।

‘दीपेन्द्र दाई आफै राम्रो निर्देशक । उहाँले फिल्म निर्देशन गर भन्दा एकदमै रमाइलो महसुस भयो’, उनले अगाडि सुनाए, ‘दीपेन्द्र दाइको विश्वास देख्दा आँट आयो, डर भए पनि होमिएँ ।’ फिल्म निर्देशन अगाडि आफूले यस बिषयमा धेरै स्वअध्ययन समेत गरेको उनले खुलाए ।

निर्देशक सन्तुष्ट हुँदैनन्

‘परस्त्री’ निर्देशनमा डेब्यु भएपनि उनलाई फिल्डदेखि सम्पादनसम्म खासै गाह्रो भएन । किनभने युनिटका प्राविधिकलगायत सबै उनका लागि पुरानै थिए । आमाले निर्माण गरेका धेरै फिल्ममा तिनै प्राविधिक थिए, साथमा  होस्टेमा हैंसे थपिदिने सफल निर्देशक दीपेन्द्र पनि ।

‘कुनै पनि काम सफल गर्न सबैभन्दा पहिले आत्मबल चाहिन्छ । म राम्रो गर्न सक्छु भन्ने आत्मबल ममा थियो’, सुरजले निर्देशन अनुभव राखे, ‘सबैको साथ यस्तो रह्यो कि मैले धेरै फिल्म गरिसकेको जस्तो अनुभव संगाले ।’ ‘परस्त्री’ दुई गीतसहित पुरै फिल्मको सुटिङ ३१ दिनमा सकिएको उनले जनाए ।

‘एउटा निर्देशकले सुटिङमा भन्दा सम्पादनमा धेरै सिक्न सक्छ,,’ नेपाली फिल्म उद्योगका धेरै निर्देशकको धारणा हो यो । उनको अनुभव पनि यही रह्यो ।

आफ्नो कामबाट पूर्ण रुपमा चित्त बुझाउन नसकेको उनी फिल्म भने राम्रो बनेकाले दर्शकले मन पराउने बताउँछन् । 

कुनैपनि निर्देशकले अहिलेसम्म कामबाट सबैको चित्त बुझाउन सकेको छैन । ‘एउटा तहले कस्तो फिल्म बनाएछ भन्ला, अर्काेले तहले राम्रो रहेछ भन्न सक्ला ।’ आफ्नो फिल्मलाई नराम्रो भन्ने भन्दा राम्रो भन्ने धेरै हुने उनको अपेक्षा छ ।

‘परस्त्री’ ब्यवसायिक सफल होस् कि नहोस्, समीक्षा राम्रा लेखियोस् कि नलेखियोस् । निरन्तर निर्देशनमा लाग्ने सोच भने छ उनको । बाहिरको अफर नआए आफ्नै ब्यानरमा फिल्म निर्देशन निरन्तर गरिरहने उनको मनसुवा छ । 

‘मलाई फिल्मको अभाव हँुदैन । आफ्नै ब्यानरबाट राम्रो फिल्म बनिरहेको छ । अहिले तीन वटा कथाको काम गरिरहेको छु,’ आगामी प्रोजेक्टबारे जानकारी दिदै उनले कुराकाीको बिट मारे, ‘परस्त्री’ सफल भए, सिक्वेलको रुपमा ‘परस्त्री २’ बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप