शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले भन्यो–नेपालमा चीन विरोधी गतिविधि नहोस्

मङ्गलबार, ३० जेठ २०८०, १६ : ५२
मङ्गलबार, ३० जेठ २०८०

चीन । चीनले नेपालमा चीन विरोधी गतिविधि नहोस् भनेर अनुरोध गरेको छ ।  

चिनियाँ जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङ र  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मंगलबार बेइजिङगमा भएको भेटमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको हो । अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको नेपाली टोलीलाई अध्यक्ष वाङले भने, ‘नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना छ ।’ 

अध्यक्ष वाङले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताए । उनले भने, चीन छिमेकी देशहरुसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ ।’

चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिम (जीसीआई)मा नेपालको तर्फबाट सहभागी बारेमा पनि छलफल गरेको छ ।  

चीनले क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि विभिन्न देशहरुसँग सहकार्य गर्ने योजना अगाडि बढाएको छ । 

भेटमा अध्यक्ष तिमिल्सिनाले चिनियाँ पक्षलाई चीन नेपालका स्थलमार्ग र हवाईमार्ग दुवै सुचारु गर्न आग्रह गरेका छन् । 

 ‘चिनियाँहरुको चासो राजनीतिभन्दा बढी विकास र आर्थिक गतिविधि सञ्चालन गर्ने विषयमा छ’, अध्यक्ष तिमल्सिनाले रातोपार्टीसँग भने,  ‘नेपाल एक चीन नीति प्रति प्रतिबद्ध छ, हामी चीनसँग आर्थिक विकास र पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौँ भन्ने कुरामा जोड दिए ।’ 

अध्यक्ष तिमल्सिनाले यस विषयमा चिनियाँ पक्ष निकै सकारात्मक रहेको बताए । नेपालसँग जोडिएका नाका र व्यापारिक गतिविधि हुने नाकाहरु पनि  सञ्चालनमा आउने उनले बताए ।  भेटमा नेपाल चीनबीचको रेलमार्ग, बन्दरगाह र पावर ग्रिडजस्ता परियोजनाहरु अगाडि बढाउनका लागि ‘बेल्ट एण्ड रोड’ विआरआई परियोजना कसरी अगाडि बढाउने बारेमा समेत  छलफल भएको छ ।  नेपाल र चीनबीच सो परियोजनामा सन् २०१७ मा दुई देशबीच हस्ताक्षर भएको थियो । नेपालको तर्फबाट नौं वटा परिरियोजना विआरआई मार्फत अगाडि बढाउने चीन र नेपालबीच सहमति भएको छ ।  चीनको स्वशासित क्षेत्र तिवब्तमा आगामी जुन १६ र १७ मा हुने पाचौं चिनियाँ तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा प्रमुख अतिथिका लागि चीनले अध्यक्ष तिमिल्सिनालाई निमन्त्रणा समेत गरेको छ ।  

सो कार्यक्रममा सहभागी हुनुअघि अध्यक्ष टोली बेइजिङ र संघाईको भ्रमणमा आएको हो । मंगलबार औद्योगिक सहर संघाई महानगरपालिकाका प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको छ । बुधबार संघाईका पर्यटकीय र औद्योगिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

यसअघि मंगलबार नेपाली टोलीले वेङजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेका थिए । 

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा गत शनिबार नेपालबाट चीन आएको टोलीमा प्रतिनिधिसभाका सदस्यहरु जीवन परियार, धवल शमशेर राणा, प्रदीप यादव, तथा राष्ट्रियसभा सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी रहेका छन् । टोलीमा अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी रहेका छन् ।

 

        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप