सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मेस्सी मेनिया

मेस्सीले अब खेल्ने मियामी कस्तो क्लब र एमएलएस कस्तो लिग हो ?

बिहीबार, ३२ जेठ २०८०, ०९ : १०
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध हुने भएपछि पछिल्लो समय अमेरिकी क्लब इन्टर मियामी चर्चामा छ । इन्टर मियामीमा आबद्ध हुनुअघि ३५ वर्षीय मेस्सीले युरोपकै चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल खेलेका थिए ।

तर, एकाएक यी अर्जेन्टिनी स्ट्राइकर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर अमेरिकी क्लबमा आबद्ध हुन पुगे । त्यो पनि यस्तो क्लबमा जुन मेस्सी आबद्ध हुनुअघि खासै चर्चामा थिएन । समकालीन विश्व फुटबलका महान् खेलाडी मेस्सी आबद्ध हुने समाचारसँगै इन्टर मियामीको चर्चा पनि चुलिएको छ । 

मेस्सी आबद्ध हुने समाचार सार्वजनिक भएलगत्तै २४ घन्टाको अवधिमा सामाजिक सञ्जालमा इन्टर मियामीको ‘फ्यान फलोअर’ समेत ४०० प्रतिशतले बढेको थियो । आखिर कस्तो क्लब हो त, इन्टर मियामी ? कस्ता खेलाडी आबद्ध छन् यो क्लबमा ? 

आउनुस्, संक्षिप्त रूपमा चर्चा गरौँ यस विषयमा । मेस्सीले युरोप बाहिरको क्लबबाट व्यावसायिक लिग खेल्न लागेको यो पहिलो पटक हो । मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्न थालेको १८ वर्ष पुगिसकेको छ । उनले स्पेनिस क्लब बार्सिलोनाको सिनियर टोलीमा पनि १७ वर्ष बिताए भने पछिल्लो दुइ सिजन पिएसजीबाट खेले । उनले सिनियर टोलीबाट व्यावसायिक लिग खेल्न थालेको त १९ वर्ष पुगिसकेको छ । 

messi

इन्टर मियामी क्लब 

अब चर्चा गरौँ इन्टर मियामीको । यो अमेरिकी क्लब स्थापना भएको नै केवल पाँच वर्ष पुग्दैछ । इन्टर मियामीको स्थापना सन् २०१८ को जनवरी २९ तारिखमा भएको हो । 

यो क्लबका तीनजना मालिकमध्ये एक आफ्नो समयका चर्चित खेलाडी डेभिड बेकह्याम हुन् । बेकह्यामसँगै जर्ज मस र होजे मस गरी इन्टर मियामीका थप दुई मालिक पनि छन् । तर, जर्ज मस र होजे मस भने खेलाडी पृष्ठभूमिका व्यक्ति होइनन् । उनीहरू दुवैजना अमेरिकाका खर्बपति ब्यापारी हुन् ।

इन्टर मियामीको अध्यक्ष भने बेकह्याम नै हुन् । ४८ बर्षीय बेकह्यामले आफ्नो सक्रिय खेल जीवनमा इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड, इटालीको एसी मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मनबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

बेकह्याम सन् १९९६ देखि सन् २००९ सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी थिए । बेकह्यामले सन् २००७ देखि सन् २०१२ सम्म अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सीबाट पनि मेजर लिग सकर खेलेका थिए । उनै बेकह्याम अहिले इन्टर मियामीका मालिक हुन् । 

r834029_1296x729_16-9 

मेस्सीलाई इन्टर मियामीमा भित्र्याउन पनि बेकह्यामको महत्त्वपूर्ण भूमिका रहेको छ । आफ्नो क्लबमा भित्र्याउनका लागि बेकह्यामले पेरिस पुगेर मेस्सीसँग छलफल गरेका थिए । फ्लोरिडास्थित ‘डीआरभी पीएनके’ इन्टर मियामीको घरेलु रंगशाला हो । उक्त रंगशाला १८ हजार दर्शक क्षमताको रहेको छ ।

hvd0p3pky1cbsrjdngs5

मेजर लिग सकर (एमएलएस) अमेरिकाको व्यावसायिक फुटबल लिग हो । इन्टर मियामीले सन् २०२० को मार्च १ तारिखमा एमएलएसमा आफ्नो पहिलो खेल खेलेको थियो । उरुग्वेको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी डिएगो एलोन्सो इन्टर मियामीको पहिलो प्रशिक्षक हुन् । 

एलोन्सो सन् २०१९ को डिसेम्बर ३० तारिखमा इन्टर मियामीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनकै प्रशिक्षकत्वमा इन्टर मियामीले पहिलो पटक एमएलएस खेलेको हो । एमएलएसको आफ्नो पहिलो खेलमा इन्टर मियामी पराजित भएको थियो । उक्त खेलमा इन्टर मियामीलाई लस एन्जल्स फुटबल क्लबले १—० गोलले हराएको थियो । 

एमएलएसमा इन्टर मियामीका लागि पहिलो गोल गर्ने खेलाडी रोडोल्फो पिजारो हुन् । मेक्सिकन खेलाडी पिजारोले सन् २०२० को मार्च ७ तारिखमा खेलिएको डीसी युनाइटेडविरुद्घको खेलमा गोल गरेका थिए । यद्यपि, उक्त खेलमा इन्टर मियामी २—१ गोलले पराजित भएको थियो । 

इन्टर मियामीले सन् २०२० को अगस्त २३ तारिखमा पहिलो जित हासिल गरेको थियो । उक्त खेलमा इन्टर मियामीले ओरल्यान्डो सिटीलाई ३—२ गोलले हराएको थियो । सन् २०२१ को जनवरी १८ तारिखमा इन्टर मियामीले फिल नेभिललाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । 

j2qylzdfgldsb6nszfjn

इङ्ल्यान्डका पूर्वखेलाडी नेभिल त्यसअघि इङ्ल्यान्डकै महिला राष्ट्रिय टोलीको प्रशिक्षक थिए । अहिले इन्टर मियामीले नेभिललाई पनि प्रमुख प्रशिक्षक पदबाट बर्खास्त गरिसकेको छ । हाल अर्जेन्टिनाका पूर्वखेलाडी ह्याभियर मोरालेस इन्टर मियामीको अन्तरिम प्रशिक्षकको भूमिकामा सक्रिय छन् ।

इन्टर मियामीको नाम र जर्सीको रङ सन् २०१८ को सेप्टेम्बर ५ तारिखमा सार्वजनिक गरिएको हो । इन्टर मियामीको नासियोन रोसा वाई नेग्रो, दि सिगे, साउदर्न लेगियोन र भाइस सिटी १८९६ गरी चारवटा समर्थकहरूको समूह छन् ।

यसैगरी इन्टर मियामीको सबैभन्दा नजिकको छिमेकी प्रतिद्वन्द्वी क्लब भने ओरल्यान्डो सिटी हो । एमएलएसमा फ्लोरिडाबाट दुई क्लब इन्टर मियामी र ओरल्यान्डो सिटीमात्र आबद्ध छन् । ओरल्यान्डो सिटी सन् २०१५ मा एमएलएसमा आबद्ध भएको थियो । 

इन्टर मियामीको वर्तमान टोलीमा विश्व फुटबलमा नाम चलेका खेलाडीहरु खासै छैनन् । होन्डुरसका डेभिड रुइज, ब्राजिलका जिन मोटा, अर्जेन्टिनाका निकोलस स्टेफानेली, फ्रान्सका कोरेन्टिन जिनलगायतका खेलाडी हाल इन्टर मियामीबाट खेल्छन् । 

CampanaMiamiFC

मेजर लिग सकर

युरोपियन व्यावसायिक लिगको तुलनामा मेजर लिग सकर (एमएलएस) को इतिहास पनि खासै लामो छैन । एमएलएसको स्थापना नै केवल २९ वर्षअघि सन् १९९३ को डिसेम्बर १७ तारिखमा भएको हो । एमएलएसको पहिलो संस्करण सन् १९९६ मा आयोजना भएको थियो । 

एमएलएसमा कुल २९ टोली सहभागी हुन्छन् । अमेरिकाका २६ र क्यानडाका तीन क्लबले एमएलएस खेल्छन् । क्यानडाका तीनवटा क्लबलाई सन् २०२३ देखि समावेश गरिएको हो । एमएलएसमा इष्टर्न कन्फरेन्स र वेष्टर्न कन्फरेन्स गरी दुईवटा लिग सँगसँगै अगाडि बढ्छन् । इस्टर्न कन्फरेन्स लिगमा १५ क्लब सहभागी छन् । इन्टर मियामी पनि इस्टर्न कन्फरेन्स लिगमा पर्छ । वेष्टर्न कन्फरेन्स लिगमा भने १४ क्लब सहभागी छन् । 

हालसम्म एमएलएसको २७ वटा संस्करणमात्र सम्पन्न भएका छन् । सबैभन्दा बढी एमएलएसको उपाधि जित्ने क्लब लस एन्जल्स ग्यालेक्सी हो । हालसम्म लस एन्जल्स ग्यालेक्सीले पाँच पटक एमएलएसको उपाधि चुमेको छ । डीसी युनाइटेड क्लबले चार पटक एमएलएसको उपाधि जितेको छ । 

यसैगरी कोलम्बस क्रू, सान होजे अर्थक्वेक्स, स्पोर्टिङ कानसास सिटी, सियाटल साउन्डर्स र हस्टन डाइनामोले दुई÷दुई पटक उपाधि हात पारेका छन् । लस एन्जल्स फुटबल क्लब, सिकागो फायर, टोरन्टो फुटबल क्लब, रियल साल्ट लेक, कोलोराडो र्‍यापिड्स, पोर्टल्यान्ड टिम्बर्स, एटलान्टा युनाइटेड र न्युयोर्क सिटी फुटबल क्लबले एक÷एक पटक उपाधि जितेका छन् । 

लस एन्जल्स फुटबल क्लब एमएलएसको साबिक विजेता टोली हो । जारी सिजनको इष्टर्न कन्फरेन्स लिगमा इन्टर मियामी १५ अंकसहित तालिकाको सबैभन्दा तल छ । १७ खेल खेलेको इन्टर मियामीले पाँच जित र १२ खेलमा हारको नतिजा निकालेको छ । 

सन् २०२१ को एमएलएस तालिकामा इन्टर मियामी कन्फरेन्स लिगमा १० औँ र समग्रमा १९औँ स्थानमा रहेको थियो । त्यसपछि सन् २०२२ को एमएलएस तालिकामा इन्टर मियामी कन्फरेन्सतर्फ ११औँ र समग्रमा २०औँ स्थानमा रहेको थियो । सन् २०२२ को तालिकामा भने कन्फरेन्सतर्फ छैटौँ र समग्रमा १२औँ स्थानमा आसीन थियो । 

01geak3a1bw02zmm4fnw

हालसम्म एमएलएसमा इन्टर मियामीका लागि सर्वाधिक गोल गर्ने खेलाडी गोन्जालो हिग्वाइन हुन् । अर्जेन्टिनाका खेलाडी हिग्वाइन सन् २०२० मा इन्टर मियामीमा आबद्ध भएका थिए । उनले क्लबका लागि हालसम्म २९ गोल गरेका छन् । कुनै समय मेस्सी र हिग्वेनले एकैसाथ अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनीहरू सन् २०१४ को विश्वकपमा पनि अर्जेन्टिनी टोलीमा थिए । 

हिग्वेनले हाल इन्टर मियामी छोडिसकेका छन् । इन्टर मियामी छाडेपछि उनले व्यावसायिक खेल जीवनबाट पनि सन्यास लिएका छन् । चर्चित फ्रान्सेली खेलाडी ब्लाइस माटुडीले पनि इन्टर मियामीबाट खेलेका छन् । 

इन्टर मियामीबाट विश्वका धेरै चर्चित खेलाडीले व्यावसायिक फुटबल नखेले पनि एमएलएस लिग भने थुप्रै चर्चित खेलाडीले खेलिसकेका छन् । इङ्ल्यान्डका चर्चित खेलाडी डेविड बेकह्याम र वेन रुनीले पनि एमएलएसमा खेलेका छन् । बेकह्याम लस एन्जल्स ग्यालेक्सीमा आबद्ध थिए भने रुनीले डीसी युनाइटेडबाट खेलेका थिए । 

यसैगरी आफ्नो समयका प्रभावशाली फ्रान्सेली खेलाडी थिएर हेनरी र स्विडिस खेलाडी ज्लाटन इब्राहिमोभिचले पनि एमएलएस खेलेका थिए । हेनरीले न्युयोर्क रेड बुल्सबाट र इब्राहिमोभिचले लस एन्जल्स ग्यालेक्सीबाट खेलेका थिए ।

यसैगरी चर्चित ब्राजिलियन खेलाडी काका, स्पेनका डेभिड भिया र इङ्ल्यान्डका फ्राङ्क लाम्पार्डले पनि एमएलएस खेलेका थिए । काकाले ओरल्यान्डो सिटीबाट, भिया र लाम्पार्डले न्युयोर्क सिटीबाट व्यावसायिक फुटबल खेलेका थिए । 

इटालीका आन्द्रे पिर्लोले न्युयोर्क सिटीबाट, जर्मनीका बास्टियन स्वेन्सटिगरले सिकागो फायरबाट, वेल्सका गेराथ बेलले लस एन्जल्स फुटबल क्लबबाट, इङ्ल्यान्डका स्टिभन जेरार्डले लस एन्जल्स ग्यालेक्सीबाट एमएलएस खेलेका छन् । 

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पेलेले समेत अमेरिकी क्लबबाट खेलेका थिए तर उनले खेल्दा एमएलएस भने सुरु भइसकेको थिएन । । ब्राजिलका पेलेले सन् १९७५ देखि सन् १९७७ सम्म अमेरिकी क्लब न्युयोर्क कसमसबाट खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप