मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोशीमा आएको बाढीले श्रीलंका टापुमा कटान सुरु, पहिरोले कोशी राजमार्ग अवरुद्ध

मङ्गलबार, ०५ असार २०८०, २० : ०२
मङ्गलबार, ०५ असार २०८०

विराटनगर । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा मंगलबार दिउँसोबाट कटान सुरु गरेको हो । 

बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए । 

पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ । 

कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाको ३ वटा वडाको मानव बस्ती जोखिममा पर्नेछ । बेलकाको वडा नम्बर ८ र ९ अन्तरगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । नदीको कटान रोक्नका लागि तत्काल तार जाली लगाउने योजना बनाइएको उनले बताए । 

यसैबीच उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका सडक खण्ड अवरुद्ध भएको छ । सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो । 

मकालु गाउँपालिकाको देउराली, नुमबजार छेउ, फ्याक्सिन्दा दोभानपारी, सामाटार लगायतका ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरो र बाढीको कारण ठाउँ ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारी साधन सञ्चालन हुन सकेको छैन । यस सडक मार्फत मकालु गाउँपालिका र भोटखोलाका नागरिकहरु आवतजावत गर्ने गर्दछन् ।

बाढी र पहिरोबाट अवरुद्ध भएको सडक खुलाउनको लागि स्काभेटर परिचालन गरिएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । भत्किएको सडक मर्मतको लागि फरक फरक ठाउँमा ४ वटा स्काभेटर परिचालन गरिएको आयोजनाका इन्जिनियर रेशम ओलीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएको क्षेत्रमालगातार पानी परेकोले सडक खुलाउन समय लाग्ने इन्जिनियर ओलीको भनाई छ । पानीनपरे पुरै सडक खुलाउन करिव ५ दिन लाग्ने उनले बताए ।अन्यत्र बाटो खुलेपनि सामाटारमालगातार पहिरो गइरहेने भएकोले समस्या रहेको समेत ओलीको भनाई छ ।

यस सडक खण्डमा समयमा नै यातायात सुचारु नभए भोटखोला गाउँपालिकामा खाद्यान्न संकट हुनेछ । अघिल्लो वर्ष पनि सामाटारमा गएको पहिरो महिना दिनसम्म खुल्न नसक्दा खाद्यान्न संकट भएको थियो । कोरोना संक्रमण अघि चीनको तिब्बतबाट खाद्यान्न ल्याइए पनि हाल नाका बन्द हुँदा खाद्यान्न संकट हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप