मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिक हेर्न गएको पनडुब्बीमा फसेका पाकिस्तानी अर्बपति दाउद को हुन् ?

बुधबार, ०६ असार २०८०, १० : ४८
बुधबार, ०६ असार २०८०

पर्यटकलाई लिएर विश्वको सबैभन्दा चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न निस्किएको पनडुब्बी आइतबारदेखि हराइरहेको छ र यसको खोजी अभियान जारी छ । 

यो पनडुब्बीमा सवार पाँच यात्रीमा पाकिस्तानी मूलका अर्बपति कारोबारी शहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यवसायी हामिश हार्डिङ, फ्रान्सका एक्सप्लोरर पल आनरी नार्जेलेट र यो यात्राको व्यवस्था मिलाउने कम्पनीका मुख्य कार्यकारी अधिकारी स्टकटन रश पनि समावेश छन् ।

शहजादा दाउद को हुन् ?

शहजादा दाउद एक पाकिस्तानी व्यापारी परिवारका सदस्य हुन् । उनी बेलायतमा प्रिन्स ट्रस्ट च्यारिटीका बोर्ड सदस्य पनि छन् । उनका छोरा सुलेमान पनि हराइरहेको पनडुब्बीमा सवार छन् । 

दाउदको परिवारको तर्फबाट जारी एक बयानमा भनिएको छ, ‘हाम्रो छोरा शहजादा दाउद र उनका छोरा सुलेमान एट्लान्टिक महासागरमा टाइटानिकको भग्नावशेष हेर्न गएका थिए । हाल उनीहरुको सबमरिन क्राफ्ट (सानो पनडुब्बी) सँग सम्पर्क टुटेको छ र यसबारे हाल सीमित जानकारी उपलब्ध छ । पनडुब्बीसँग सम्पर्क स्थापित गर्न र यसलाई सुरक्षित फिर्ता ल्याउनका लागि थुप्रै सरकारी एजेन्सी र समुद्रको गहिराइमा खोजी अभियान गर्ने कम्पनीको नेतृत्वमा ठोस प्रयास जारी छ ।’

परिवारले भनेको छ, ‘हामी हाम्रा सहयोगी र साथीभाइबाट पाइरहेको सन्देशका लागि असाध्यै आभारी छौँ । हामी सबै यो समयमा उनीहरुको निजताको सम्मान गर्दै परिवारको सुरक्षाका लागि प्रार्थना गरिदिन भन्न चाहन्छौँ । ’

suleman1दाउद परिवार पाकिस्तानको सबैभन्दा धनी परिवारमध्ये एक हुन् । तर उनीहरुको बेलायतसँग पनि गहिरो नाता छ ।

शहजादा दाउद एग्रो कर्पोरेसनका उपाध्यक्ष हुन् । यो  कम्पनीले मल, खाद्य र ऊर्जाको क्षेत्रमा काम गर्छ ।

बेलायती मिडियाका अनुसार शहजादा दाउदको जन्म पाकिस्तानमा भएको थियो तर पछि उनी बेलायत गए ।

त्यहाँ उनले बकिङ्घम युनिभर्सिटीबाट कानुन विषय पढे । त्यसपछि फिलाडेल्फिया विश्वविद्यालयबाट ग्लोबल टेक्सटाइल मार्केटिङमा एमएससी पनि गरे ।

फोटोग्राफीको शौक, जनावरको लगावका लागि चर्चित

शहजादा दाउद अन्तरिक्ष अनुसन्धान कम्पनी ‘सेटी’ संस्थानका ट्रस्टी पनि हुन् । यससँग सम्बन्धित केही जानकारी संस्थानको वेबसाइटमा पनि उपलब्ध छ ।

यी जानकारीका अनुसार शहजादा दाउद आफ्नी श्रीमती क्रिस्टिन र छोराछोरी सुलेमान र अलिनासँग बेलायतमा बस्दै आएका छन् । उनलाई फोटोग्राफीको शौकीन छन् र जनावरहरूप्रतिको प्रेमका लागि पनि उनी परिचित छन् ।

उनी दाउद हेराक्लिज कर्पोरेसनका उपाध्यक्ष हुन् । दाउद हेराक्लिज कर्पोरेसन दाउद समूहको हिस्सा हो । यो परिवारले एक शताब्दीभन्दा बढी समयदेखि व्यापार जगतमा आफ्नो स्थान कायम गर्दै आएको छ ।

शहजादा दाउद सन् १९९६ मा आफ्नो पारिवारिक व्यवसायको हिस्सा बनेका थिए । यहाँ उनको विशेषज्ञता पाकिस्तानको औद्योगिक क्षेत्रको नवीकरणमा छ ।

दाउद हेराक्लिज कर्पोरेसन विभिन्न उद्योगको प्रबन्धन र रेखदेख गर्छ ।

शहजादा दाउद ऊर्जा, कृषि, खाद्य, पेट्रोकेमिकल र कपडाको क्षेत्रमा विकास र नवीनतामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

शहजादा दाउद एग्रो कर्पोरेसन लिमिटेड र दाउद लरेन्सपुर लिमिटेडको बोर्डमा सेयर होल्डिङ निर्देशक पनि हुन् ।

गैरेथ इभान्स र लारा गुज्जी/ बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप