सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक मन्दीको असर : आकार घटाएर बजेट ल्याउँदै मकवानपुरका पालिका

शुक्रबार, ०८ असार २०८०, १२ : ४१
शुक्रबार, ०८ असार २०८०

मकवानपुर । आर्थिक मन्दीका कारण मकवानपुरका स्थानीय तहको बजेटको आकार घट्ने भएको छ । मन्दीका कारण सङ्घीय सरकार र प्रदेश सरकार बाट प्राप्त हुने विभिन्न अनुदानका शीर्षकको बजेट समेत कटौती भएपछि मकवानपुरका पालिकाहरूले पनि बजेटको आकार घटाएर ल्याउने तयारी गरेका छन् ।

मकवानपुरका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेका छन् । मकवानपुरका १० मध्ये ९ वटा स्थानीय आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम तयारीमा जुटेका हुन् । एउटा पालिकाले गत असार २ गते बजेट ल्याइसकेको छ ।

मकवानपुरका हेटौँडा उपमहानगरपालिकाले भने गत असार २ गते नै बजेट तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । मकवानपुरको थाहा नगरपालिका, कैलाश, भीमफेदी, राक्सिराङ, मनहरि, इन्द्रसरोबर, बकैया, बागमती र मकवानपुरगढी गाउँपालिका बजेट निर्माणको अन्तिम तयारीमा लागेका हुन् । हेटौँडा उपमहानगरपालिकाले सघं र प्रदेशबाट आउने अनुदानसँगै आन्तरिक स्रोत घटेको भन्दै चालु आवको तुलनामा घटाएर आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँ÷नगर सभामा पेस गर्नुपर्ने हुन्छ । सोही अनुसार मकवानपुरका स्थानीय तहहरूले बजेटमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको असार मसान्तसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गरी बजेट तथा कार्यक्रमको तयारी गरेका हुन् ।

आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा स्थानीय तहहरूले वार्षिक बजेट निर्माण गरिरहेका छन् ।

ती पालिकाहरूले योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा गरेका छन् । सघं र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर रहेकाले स्थानीय तहहरूले आकार घटाएर बजेट ल्याउने तयारी गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा पालिकाहरूले १० प्रतिशतको हाराहारीमा बजेटको आकार घटाएर बजेट ल्याउने तयारी गरेका छन् ।

स्थानीय तहको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेका छन् । राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार ९ गते गाउँसभामा पेस गर्ने गरी तयारी गरेको छ भने कैलाश गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाले असार १० गते बजेट ल्याउने गरी तयारी गरेको जनाएको छ ।

सबै पालिकाहरूले आन्तरिक राजस्व परिचालन वृद्धि गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेका छन् । पालिकाहरूले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउनुका साथै चालु आर्थिक वर्षका अधुरा योजनाले निरन्तरता दिने जनाइएका छन् ।

स्थानीय तहहरूले बजेट निर्माणका क्रममा राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परामर्श समितिले आवश्यक निर्णय लिने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण लगायतका काम गरिरहेको छ । बजेट निर्माण समितिले कुल बजेट अनुमान, सीमा निर्धारण, बजेट तर्जुमा मार्गदर्शन गर्ने र विषयगत समितिले वडा स्तरीय र विषयगत शाखाको योजना तर्जुमा गर्ने, निर्णय र सिफारिससहित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गर्ने प्रक्रिया अवलम्बन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप