मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप

मङ्गलबार, १२ असार २०८०, २२ : १८
मङ्गलबार, १२ असार २०८०

कञ्चनपुर । कञ्चनपुरमा एक लाख ४७ हजार चार सय ५३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । “हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लगाएका छौँ”, उनले भने, “अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छाँै ।” 

उनका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् । खोप अभियानका लागि जिल्लाभरिमा पाँच सय ६५ केन्द्र तोकिएको उनले बताए । 

दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा सङ्क्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप