आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गरुड वर्गमा पर्नुहुन्छ भने यी हुन् तपाईंको शुभ दिशा र रङ

बुधबार, २० असार २०८०, १० : १२
बुधबार, २० असार २०८०

वास्तुशास्त्रलाई अझै पनि अत्यावश्यक रूपमा लिने गरेको पाइँदैन । मानिसले यसलाई ख्याल–ख्याल या सामान्य रूपमा लिने गरेको पाइन्छ । यद्यपि यो एउटा यस्तो विज्ञान हो, जसले हरेक वस्तुलाई वैज्ञानिक रूपमा सिद्ध गरेको हुन्छ । वास्तु केवल आकार–प्रकार र जमिनसँग मात्र सम्बन्धित होइन, हाम्रा हरेक जीवनशैलीसँग वास्तु जोडिएर छ । 

प्रकृतिमा पाइने सातवटै रङले फरक–फरक प्रकृति र नामाक्षरका मानिसमा फरक–फरक प्रभाव जमाउने गर्छ । रङ तपाईंको नामाक्षरका आधारमा शुभ र अशुभ हुन्छ । 

वास्तुमा सहजताका लागि नामलाई विभिन्न वर्गमा बाँडिएको पाइन्छ । जसलाई अवर्ग, कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, यवर्ग, सवर्ग गरी आठवर्गमा विभाजन गरिएको छ । 

यहाँ हामीले अवर्गमा पर्नेहरूका लागि शुभाशुभ दिशा र रङको विषयमा सामान्य चर्चा गर्ने प्रयास गर्छौं । 

अवर्गमा अ, आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ अं र अः अक्षर पर्छन् । यी अक्षरबाट नामको सुरुवात भएको छ भने तपाईं अवर्गमा पर्नुहुन्छ । अवर्ग अक्षरहरूको वर्गमा पहिलो स्थानमा आउँछ । यो वर्गको जीवन गरुड हो । गरुडको संज्ञा पाएको यो वर्गलाई दिशा अनुसार पनि शुभाशुभ फल मिल्छ । जसरी यसले पूर्व दिशाको अधिकार पाएको छ, त्यसरी नै अन्य दिशामा फरकफरक जीवले अधिकार जमाएका हुन्छन् । पूर्वमा गरुड, आग्नेयमा बिरालो, दक्षिणमा सिंह, नैऋत्यमा कुकुर, पश्चिममा सर्प, वायव्यमा मुसा, उत्तरमा मृग र इशानमा भेडाले आ–आफ्नो अधिकार क्षेत्र या वासस्थान पाएका छन् । 

यो वर्गमा पर्ने मानिसका लागि पश्चिम दिशा शुभ मानिँदैन । पूर्वदिशा भने अति उत्तम मानिन्छ । किनकि पूर्वदिशा उसको अधिकार क्षेत्रमा पर्छ । पश्चिम दिशा सर्पको अधिकार क्षेत्रमा पर्ने भएकाले गरुडलाई सर्पले शत्रु ठान्छ । तसर्थ शत्रु क्षेत्रमा आफूलाई आनन्दित बनाउन कठिन हुन्छ । हामीले हाम्रो जीवनमा पनि यसरी आफ्नो अनुकूल दिशा तय गर्न सक्छौँ ।

त्यसरी नै आग्नेय र दक्षिण, उत्तर र इशान दिशा नकारात्मक हुँदैन । किनकि यस क्षेत्रमा क्रमश बिरालो, सिंह, मृग र भेडाको अधिकार रहन्छ । यी क्षेत्र गरुड वर्गमा पर्ने मानिसहरूका लागि मध्यम फलदायी हुन्छ । त्यसरी नै नैऋत्य कुकुरको क्षेत्र र वायव्य मुसाको क्षेत्राधिकार भएकोले गरुड वर्गका लागि सामान्य फलदायी रहन्छ । उतार–चढाव र तनाव भइरहन्छ । 

अब चर्चा गरौँ, अवर्गका मानिसका लागि अनुकूल रङको । वास्तुशास्त्रले पञ्चतत्त्वका आधारमा काम गरिरहेको हुन्छ । तत्त्वका आधारमा काम गर्ने हुनाले तत्त्वकै रङ, आकार र धातुले यसलाई थप पुष्टि गर्न सकिन्छ । 

अगर्वका मानिसलाई सबैभन्दा शुभ रङ हरियो र खैरो हुन सक्छ । पूर्व दिशा वास्तु अनुसार वायु तत्त्वको दिशा हो । यो हरियो र खैरो रङको मानिएको छ । रङको चयन गर्दा गरुड रङलाई जीवनमा अधिक प्रयोगमा ल्याउँदा अति उत्तम हुन्छ । 

गरुड आफैँ पनि खैरो रङको हुन्छ । सधैँ खैरो हरियो मात्र प्रयोग गर्न नमिल्ने हुन सक्छ, तर महत्त्वपूर्ण काम र महत्त्वपूर्ण अवसरमा खैरो र हरियो रङ प्रयोग गर्दा लाभदायी हुन्छ । सेतो रङबाट टाढै रहनु यो वर्गमा पर्नेका लागि उत्तम हुन्छ । 

(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका सहमहासचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप