मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेस जिल्ला सभापति बैठक : मन्त्रीमाथि आक्रोश, देउवाको खोजी

बिहीबार, २१ असार २०८०, २० : १८
बिहीबार, २१ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सदस्यता र सांगठनिक गतिविधिबारे जिल्ला सभापतिहरुसँग छलफल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिसँग तीन वटा विषयमा छलफल गरेका हुन् ।

महामन्त्री शर्माले जिल्ला सभापतिलाई स्वागत गरेरपछि बैठक सुरु भएको थियो । आगामी चुनौतीलाई सामना गर्ने गरी अगाडि बढ्न जरुरी रहेको महामन्त्री शर्माको भनाइ थियो ।

‘लामो समयपछि बैठक हुन सकेको थिएन । हाम्रो केन्द्रीय समिति बैठक पनि बस्दैछ,’ महामन्त्री शर्माले भने, ‘तपाईहरुसँग पनि छलफल गरेर आगामी चुनौती सामना गर्न हामी छलफल गरेर जान जरुरी छ । हामी एक मत भएर जानुपर्छ ।’

त्यसपछि आइटी विज्ञ दिपेश विष्टले डिजिटल कांग्रेसबारे प्रस्तुति गरेका थिए । उनले जिल्ला सभापतिलाई अनलाइनबाट पार्टी सदस्यता वितरण र नवीकरणको प्राविधिक कुरा सिकाएका थिए । विष्टको प्रस्तुतिमा कांग्रेस र सभापतिको प्रसङ्ग कतै थिएन । त्यसपछि बैठकमा महामन्त्री थापाको प्रस्तुति रह्यो ।

महामन्त्री थापाले आफूले पटक पटक पठाएका सर्कुलर कार्यान्वयन भएन–नभएको विषय राखेका थिए । आगामी भदौमा नीति अधिवेशन तय गर्ने र अर्को वर्ष महासमिति बैठक बस्ने उनको भनाइ छ । ‘पार्टीका जिल्ला सभापतिसँगको छलफललाई प्रत्येक वर्ष गर्ने तालिका बनाउँछौँ । पार्टीलाई अब तालिका अनुसार चलाउन हामीले तयारी गरिरहेका छौँ,’ महामन्त्री थापाले भने ।

पार्टीलाई सामाजिक काममा जोड्न उनले जिल्ला सभापतिलाई निर्देशन दिए । उनले भने, ‘हामीसँग ८ लाख क्रियाशील सदस्य छन् । एक पटक सबै जुरुक्क उठेर जाग्नुपर्ने बेला आएको छ । पार्टीलाई सामाजिक काममा जोड्नुपर्छ ।’

महामन्त्री थापाको प्रस्तुतिपछि जिल्ला सभापतिका लागि ‘फ्लोर ओपन’ गरिएको थियो ।

रामेछाप जिल्ला सभापति कान्छाराम तामाङले पार्टीको निर्देशन बिना हुने ‘रुपान्तरण अभियान’ जिल्लाले नचिन्ने बताए । उनले भने, ‘हाम्रो लडाइँ विपक्षी दलसँग हो । पार्टीभित्र लडेर हुँदैन । पार्टीमा आन्तरिक एकता अहिलेको आवश्यकता हो ।’

पार्टीभित्र भागबण्डाको राजनीति अन्त्य गर्न महामन्त्रीलाई तामाङको आग्रह थियो । पार्टीका भ्रातृ संस्थामा केन्द्रीय सदस्य मनोनीत गर्दा जिल्ला सभापतिलाई बाइपास गरिएको उनको गुनासो थियो ।

यस्तै दोलखा जिल्ला सभापति बर्मा लामाले दोलखाको वडादेखि जिल्लासम्म मात्र होइन, सम्पर्क समितिको पनि सम्मेलन सम्पन्न भएको जानकारी गराएका थिए ।

‘पार्टीको वडा, पालिका, जिल्ला समितिमा निर्वाचित सदस्य नै बैठकमा सहभागी भइरहेका छैनन्,’ उनले भने, ‘कोही विदेश गइसके, केहीले पार्टी छाडेर गइसके । पार्टीमै भएकाहरु पनि बैठकमा आउँदैनन् । निर्वाचितहरुलाई हटाउने अधिकार  मसँग पनि छैन । यसमा के गर्ने ? स्पष्ट निर्देशन चाहियो ।’

विधानमा प्रशस्त त्रुटि रहेको भन्दै जिल्ला सभापतिलाई काम गर्न असहज भएको उनको भनाइ थियो । केन्द्रको गुटबन्दीका कारणले जिल्लामा कार्यकर्ता विभक्त हुँदा कांग्रेसप्रति जनताको आकर्षण घटेको लामाले बताए । ‘तपाईँहरू एक हुनुप¥यो । गुटगत गतिविधिमा छुट्टाछुट्टै दौडिनु भएन,’ उनले भने ।

सुनसरी जिल्ला सभापति केदार भण्डारीले पार्टीका लागि खटेको इमानदार मान्छेलाई सबैतिर प्रयोग गरे कांग्रेसको आधा समस्या समाधान हुने बताए । उनले भने, ‘जनताको बीचमा नगएको मान्छेलाई च्यापेर संगठन जिम्मा लगाइयो भने पार्टी कमजोर हुन्छ ।’

तीन तहको निर्वाचन र पार्टीको अधिवेशनमा भएको मतभेदले जिल्ला तहमा पार्टी पंक्तिलाई परिचालित गर्न समस्या भएको भण्डारीको भनाइ छ । अब वडादेखि जिल्लासम्मको भेला भएपछि मतभेद सकिने उनले बताए ।

‘कांग्रेस भनेको रुद्राक्ष जस्तो हो । सबै एउटै ठाउँमा बसेको छ । एउटा मुखसँग अर्को मुखको भेट हुँदैन । तर अप्ठ्यारोमा माला भन्दा सबै एक भइहाल्छन्,’ उनले भने । आजको बैठकपछि कांग्रेसमा ठूलो सुधार आउने भण्डारीको भनाइ छ । ‘सधैँ गुटसुट भनेर पार्टी चल्दैन । हावादारी कुरा गर्ने मान्छेको भिड अगाडि आइसकेको छ । सोसल मिडियाको भिड अगाडि बढिसक्यो,’ उनले भने, ‘काम गर्ने मान्छे पछाडि परेको छ । कांग्रेसको भूमिकालाई गौण बनाउने कोसिस भएको छ । यो कुरालाई कांग्रेसले जनताको माझमा लियो भने आफैँ अगाडि बढ्छ ।’

गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले नवीन ढंगबाट संगठन निर्माणको कार्य अगाडि बढाउने संकल्प महत्त्वपूर्ण रहेको बताए  । पार्टीको आठौं तहको संरचनालाई क्रियाशील बनाउने बैठकको ध्येय रहेको उनको भनाइ छ ।

‘पार्टीलाई नवीन बनाउन नयाँ कामको सुरुवात भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिले नीति अधिवेशनको मिति तय गर्ने छ । त्यहाँ हामीले व्यापक रुपमा बहस गर्ने छौँ । पार्टीलाई भरोसायोग्य बनाउने हामी सबैको ध्येय छ ।’

सबै तहको सम्मेलनमा आर्थिक, राजनीति र सांगठनिक प्रस्ताव पेस गर्न  महामन्त्रीद्वयले निर्देशन दिएको पन्थीले बताए ।

यस्तै मुगुका जिल्ला सभापति ऐनबहादुर शाहीले जिल्ला सभापतिसँगको बैठक राम्रो भएको बताए । ‘यो कार्यक्रम राम्रो भएको छ । सबै जिल्लाका सभापतिलाई पार्टी अफिसमा बोलाएर पार्टीका सांगठनिक गतिविधिबारे छलफल गर्नु राम्रो हो ।’

पार्टीलाई सिस्टममा लैजान महामन्त्रीले गरेको प्रयास प्रशंसायोग्य रहेको उनले बताए । तर, पार्टीका आन्तरिक गुटबन्दीले केन्द्रको सर्कुलर कार्यान्वयन गर्न समस्या भएको शाहीको भनाइ छ ।

बैठकमा संस्थापन इतर पक्षका सभापतिले सभापति देउवामाथि प्रश्न उठाउन खोजेपछि महामन्त्रीहरुले एजेण्डामाथि मात्र केन्द्रित हुन रुलिङ गर्नु परेको थियो ।

महामन्त्रीलाई प्रश्न– सभापतिलाई बाइपास गरी बैठक राखेको हो ?

काठमाडौँमै रहेका पार्टी सभापति शेरबहादुर देउवा बैठकमा सहभागी नभएपछि केही जिल्ला सभापतिले प्रश्न उठाएका छन् । छलफलका क्रममा स्याङ्जाका जिल्ला सभापति राजु थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बाइपास गरी जिल्ला सभापतिहरुको बैठक राखिएको हो ? भन्दै प्रश्न गरेका थिए ।

महामन्त्री शर्माले सभापति देउवासँगको परामर्शपछि बैठक राखिएको जवाफ दिएका थिए । ‘यो पार्टीको केन्द्रीय कार्यालयले गर्ने काम हो । केन्द्रीय कार्यालय महामन्त्रीको मातहत हुन्छ । आफूले गरेका गतिविधि, पठाएका सर्कुलरको रिपोर्टिङ गर्ने अधिकार महामन्त्रीलाई दिइएको छ,’ उनले भने, ‘महामन्त्रीको कार्यक्षेत्रभित्र विषयमा पनि पार्टी सभापतिलाई जानकारी गराइएको छ ।’

केन्द्रीय कार्यालयमा भएको बैठकबारे पार्टी सभापतिलाई जानकारी रहने उनको भनाइ छ । ‘सभापतिलाई बाइपास गरी बैठक राखियो भन्ने तपाईहरुलाई लागेको छ भने त्यो गलत हो । पार्टी सभापतिलाई हामी दुवै महामन्त्रीले भेटेर यसबारे जानकारी गराएका थियौं,’ उनले भने ।

मन्त्रीमाथि आक्रोश

जिल्ला सभापतिहरुले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीमाथि आक्रोश पोखेका थिए । बैठकमा धादिङ सभापति रामनाथ अधिकारी, संखुवासभा सभापति दीपक खड्का र रामेछाप सभापति कान्छाराम तामाङ लगायतले आफ्नै सरकार भएको अनुभूति नभएको बताएका थिए । सरकारसँग आफूहरूको कुनै समन्वय नभएको जिल्ला सभापतिहरुको गुनासो थियो ।

गोरखा जिल्ला सभापति नन्दु न्यौपानेले पार्टीका सभापतिको कुरा नसुन्दा मन्त्रीहरु जनताको काम गर्न चुकिरहेको बताए । उनले भने, ‘कांग्रेसबाटै मन्त्री बनेकालाई पार्टीका जिल्ला सभापतिले नै भेट्न पाउँदैन । सामान्य जनताको अवस्था के होला ? जनताको कुरा नसुन्नेले जनताको पक्षमा कसरी काम गर्छ ?’

तर युवा तथा खेलकुदमन्त्री तथा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले आफैँ मन्त्री भएर पनि जिल्लामा बजेट लैजान नसकेको दुखेसो पोखे । ‘म मन्त्री त हुँ । तर, मैले मेरो जिल्लामा बजेट लैजान सकिनँ,’ उनले भने ।

बजेट समानुपातिक वितरण गर्ने र आवश्यक ठाउँमा पठाउनेभन्दा शक्तिको आडमा कसले बढी लैजाने भन्ने प्रतिस्पर्धा भएको उनको गुनासो थियो । बिहीबारको बैठकमा करिब २५ जना जिल्ला सभापतिले आफ्नो कुरा राखेका छन् । भोलि पुनः बैठक बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप