आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : शंकर पोखरेल

शनिबार, २३ असार २०८०, १४ : १४
शनिबार, २३ असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरे । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहोर्याए  ।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान संचालन गरेको स्पष्ट पारे ।

‘आज नेपालको राजनीतिमा हेर्नुहुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नुहुन्छ भने नेपाली कांग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ’ महासचिव पोखरेलले भने, ‘तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ ? भन्दा नेपाली समाजमा राजनीतिको धु्रवीकरण हुन सकेन । बलियो राजनीतिक दलहरु, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरु बलिया हुन सकेनन् । यो  मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौंता गर्ने, नीतिगत सम्झौंता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’ 

महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरुले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गराउन चाहेको तर्क पनि गरे । उनले जनादेश विपरित कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशील रहेको बताए । 

‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरुको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं’ पोखरेलले भने, ‘त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको कुरा म तपाईँहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए । उनले नीति, सिद्धान्त र संगठनविनाका नयाँ राजनीतिक शक्तिहरुले मुलुकको नेतृत्व लिन नसक्ने जिकीर समेत गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप