मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

विश्वासको मत लिने गठबन्धनको नयाँ जुक्ति

सभामुखको राजीनामा गराउने, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने
सोमबार, २५ असार २०८०, ११ : ०५
सोमबार, २५ असार २०८०

विराटनगर । कोशी प्रदेश सरकार गठन गरेको गठबन्धनले विश्वासको मत लिने नयाँ जुक्ति फेला परेको छ । सभामुखसहित ४७ सांसदमात्रै रहेको गठबन्धनमा विश्वासको मत दिन सभामुखलाई संवैधानिक प्रावधानले दिँदैन ।

त्यस खालको बाधा फुकाएर गठबन्धनले विश्वासको मत लिनकै लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने कांग्रेसले जुक्ति निकालेको थियो । सभामुख गौतमले पनि राजीनामा दिए उपसभामुखले पनि राजीनामा दिने र फेरि सभामुखको भूमिकामा ज्येष्ठ सदस्य कांग्रेसकै गयानन्द मण्डलमा आउने भएपछि राजीनामाको कोर्स बदलिएको थियो ।

यद्यपि गठबन्धन दलले आफ्नो समर्थनमा सभामुख बाबुराम गौतमको छुट्टै हस्ताक्षर गराउँदै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेको थियो । उक्त दाबीपछि सभामुखले पदीय मर्यादा विपरीत हस्ताक्षर गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म मुख्यमन्त्री उद्धव थापा नेतृत्वको नवगठित सरकारको भविष्य अन्योल नै छ । यही बीचमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिने क्रममा सभामुख गौतमले भने आफू राजीनामा दिन सक्ने बताएका थिए ।

यो अभिव्यक्ति र गठबन्धन दलको तयारी हेर्दा सभामुखलाई राजीनामा गराउने योजना रहेको बुझिन्छ । तर, त्यसपछिको विकल्प के त भन्ने विषयमा नयाँ जुक्ति फुराएको गठबन्धनकै एक सांसदले बताए । उनका अनुसार ज्येष्ठ सदस्य रहेका गयानन्द मण्डललाई पनि मन्त्री नियुक्त गर्ने । मण्डल मन्त्री नियुक्त भए प्रदेशसभामा रहेकामध्ये दोस्रो ज्येष्ठ सदस्यले प्रदेशसभाको अध्यक्षता गर्नुपर्नेछ । दोस्रो ज्येष्ठ सदस्य भने एमालेबाटै छन् ।

कांग्रेसका मण्डल हाल ८० वर्षका भए । उनीपछि एमालेका रोहितबहादुर कार्की ७२ वर्षका छन् । त्यसपछि एमालेकै सांसदहरू मालती कुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्ष उमेरका छन् । उक्त विकल्पमा जान गठबन्धन तयार भए पनि विश्वासको मत लिनु अगाडि नै अदालतले मुख्यमन्त्री नियुक्ति प्रक्रिया खारेज नै गरिदिने हो कि भन्ने गठबन्धनमा त्रास छ ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन थापालाई नरहेको जिकिर गरेका छन् । तटस्थ भूमिकामा रहेका सभामुखलाई गणना गर्नु संविधान विपरीत भएको उनको दाबी छ । सर्वोच्च अदालतले भने उक्त रिटमा आइतबारका लागि तय गरेको प्रारम्भिक सुनुवाइ नै भएन ।

कोशी प्रदेशमा गठबन्धन दलका लागि असहज परिस्थिति छ । उनीहरूसँग सभामुखसहित मात्रै ४७ सांसद छन् । यद्यपि गठबन्धन दलले राप्रपालाई आफूतिर ल्याउने प्रयत्न जारी राखेका छन् । ९ मन्त्रालय रहेको कोशी प्रदेशमा मुख्यमन्त्रीसहित ६ जनाको मन्त्रीमण्डल गठन भइसकेको छ । तर, जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा दिइएको भए पनि माओवादी केन्द्रकै राजेन्द्रकुमार कार्की, कांग्रेसका प्रदीपकुमार सुनुवार र रामकुमार खत्री तथा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई जिम्मेवारी दिइएको छैन । राप्रपालाई फकाएर एकैपटक जिम्मेवारी दिने तयारी गठबन्धनको छ । त्यसका लागि गठबन्धन दलले राप्रपासँग अन्तिम छलफल गर्ने जनाएको छ ।

कोशी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा पनि सभामुखबाहेक ४६ मात्रै हुँदा कुनै पनि सरकारले विश्वासको मत लिन नसक्ने अवस्था छ ।

सोही गतिरोध अन्त्यका लागि दलहरूले विभिन्न विकल्पको खोजी गरिरहेका छन् । गठबन्धन दलले अन्तिम समयमा निकालेको ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने प्रस्ताव कति सार्थक हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप