शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सडकमा ग्राभेल बिच्छयाउँदा झुट्टा बिल भरपाई भरेर २२ लाख बढी भ्रष्टाचार

वडाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, २७ असार २०८०, १४ : ५२
बुधबार, २७ असार २०८०

काठमाडौँ । सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैँया ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झापास्थित झापा गाउँपालिकामा लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर सडकमा गाभ्रेल विच्छाउँदा गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन भएको थियो । गाउँपालिकाको वडा नं. ३, ६ र ७  स्थित ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल’ योजना कार्यमा फिल्डमा अनुगमन/निरीक्षण नै नगरि नापी किताबमा चढाईएर झुट्टा बिल भरपाई बनाइ कार्यसम्पन्न प्रतिवेदन गरेर उक्त रकम भ्रष्टाचार गरेको आरोप आयोगको छ । 

आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सव–इन्जिनियर विज्ञान चम्लागाँई, उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल , कोषाध्यक्ष शान्ता देवी सुब्बा (राई) भन्ने शन्तमाया सुब्बा लिम्बु, झापा गाउँपालिकाका अध्यक्ष बहालवाला अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, गाउँपालिका – ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर वानिया, वडा  ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

११ जनामध्ये अधिकांशको भूमिका फरक फरक रहेको आयोगले जनाएको छ । यो समूहले अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य भएर पनि फिल्डमा गएर अनुगमन नगरेको र उपभोक्ता समितिलाई वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेको अरोप आयोगको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको देखिन आएकोले कैद र जरिवाना मागदाबी लिएर विशेषमा आरोप पत्र दायर गरेको जानकारी आयोगका प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप