आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

चिनियाँ विकासको कथा ‘नयाँ युगमा चीन’

शनिबार, ३० असार २०८०, ११ : ४१
शनिबार, ३० असार २०८०

कथा साहित्य, लेखन र कथा कृतिसमेत प्रकाशित गरेका पत्रकार चेतनाथ आचार्य २५ वर्षदेखि छापा र रेडियो पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । कविता लेखनबाट सुरु भएको उनको साहित्यक लेखनयात्रा त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्दा कवितासँगै कथा लेखनमा बाट सुरु भएको हो । नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहेका पत्रकार आचार्यको कर्मक्षेत्र भने चीनको राजधानी बेइजिङ हो ।  चिनियाँ मिडिया ग्रुपको नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत आचार्यले चीनको लक्ष्यसहितको परियोजना, चीनको चात्मकारिक विकास बारे  समेटिएको पछिल्लो कृति हो– ‘नयाँ युगमा चीन’ । 

एक दशकदेखि चीनको राजधानी बेइजिङ बसेर चीन देखेका, बुझेका पत्रकार आचार्यले चीनको संस्कृति, समाज, भूगोल, पर्यटन, अर्थतन्त्र, राजनीति, कला र साहित्यका अनेक पक्षमा नेपालका विभिन्न सञ्चार माध्यममा समाचार र विचार लेख्दै आएका छन् । उनले स्तम्भ ‘बेइजिङ डायरी’मार्फत चीनको बारेमा कैयौँ लेख रचना लेखेका छन् । 

पत्रकारिता र साहित्य लेखनको साथमा उनी कथा, उपन्यास र यात्रा संस्मरणमार्फत नेपाल–चीन सम्बन्धका बारेमा अनेकन विषयमा कलम चलाएका छन् । अरनिको बारेमा होस् वा चीनको संस्कृतिका अनेक पाटाका बारेमा साहित्यक रस राखेर लेख रचनाहरू लेखिरहेका छन् । 

मेरो आँखामा चीन (समसामयिक लेखन सङ्ग्रह २०७२) चीन चियाउँदा (संस्मरण संग्रह २०७४) चीन चिनाउने पुस्तकभित्र चिनियाँ समाजभित्रका रोचक तथ्यपरक जानकारी दिएर लेखिएका छन् । 

कथा लेखनमा निरन्तर लागेका आचार्यका रित्तो कोठाको तस्बिर (२०६८), बुद्धको उपहार (२०७१) र उपहार (२०७५) मा तीन कथा सङ्ग्रह प्रकाशित छन् । पछिल्लो समय उनको उपन्यास ‘रुइबा’ प्रकाशित भएको थियो । नेपाल चीनको परिवेशमा आधारित उपन्यासलाई  गैरआवासीय नेपाली सङ्घको भाषा तथा साहित्य समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ बाट आचार्यले सम्मान प्राप्त गरेका थिए ।   

आचार्यको पछिल्लो कृति ‘नयाँ युगमा चीन’भने चीनको समग्र लक्ष्य र योजनाका बारेमा नेपाली भाषामा लेखिएको चीनको समग्र परिदृश्य पढ्न पाइने पुस्तक हो । 

चीनको लक्ष्य, योजना के हो ? हिजो चीनको अवस्था कस्तो थियो ? चीनले यो शताब्दीको मध्यतिर अर्थात् सन् २०४९ सम्म विकसित मुलुक बन्ने लक्ष्यअनुसार कस्ता योजना अगाडि सारेका छन् । यी सबै कुराको साङ्गोेपाङ्गो जानकारीका लागि पुस्तकमा गतिलो तथ्यगत जानकारी दिने प्रयास गरेका छन् पत्रकार आचार्यले । 

सन् १९२१ जुलाई महिनाको १ तारिक चीनमा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासदेखि वर्तमानसम्मको यात्राको रोचक कथा, चीनको पछिल्लो विकासक्रम, नेतृत्व र चीनले गरिबी निवारणमा चालेका योजनाबद्ध कदमका बारेमा विश्लेषणात्मक तथ्य पुस्तकमा समावेश छन् । जनताको आधारभूत आवश्यकता छाना, खाना र नानाका पक्षमा चीन सरकारले कसरी काम गरेको छ ? चिनियाँ कृषि नीतिलाई जनस्तरसम्म पु¥याउने काममा कसरी काम गरेको छ लगायत विषय यसमा छ । मुख्यतयः चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनबाट सी चिनपिङ महासचिवमा निर्वाचित भएपछि उनको राष्ट्राध्यक्ष नेतृत्व पाएपछि  चीन नयाँ युगमा प्रवेश गरेका तथ्य र प्रमाणहरू पुस्तकमा उल्लेख छ । 

यस कृतिमा चीनको लक्ष्य भनेको सन् २०३५ सम्ममा मध्यम स्तरको विकास गर्ने, सन् २०४९ सम्म आधुनिक विकसित मुलुक लक्ष्यलाई पार लगाउन उसले तयार पारेका नीति बारे उल्लेख छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशनले पारित प्रतिवेदनका पूर्णपाठलाई पुस्तकमा पढ्न सकिन्छ । त्यसैले नयाँ युगमा चीन कसरी अगाडि बढ्न लागेको जानकारी सरल भाषामा प्रस्तुत गरिएको छ । चीनको बारेमा जान्न चाहने, चीन बुझ्न चाहने विकासप्रेमी, अध्येता, शासक र प्रशासकहरूका लागि पत्रकार तथा लेखक आचार्यले चीनका बारेमा विकासको खुराक पस्किदिएका छन् । 

रेडियो पत्रकारितामा हरदिन खटिने पत्रकार आचार्यको लेखन सरल छ । उनी बोलीचालीको भाषामा शब्द र शैली खोजिरहन्छन् । पुस्तकमा विकास र योजना कुरालाई यता उता नघुमाईकन सरल भाषा र शैलीमा लेखिएको छ । 

चीनले आफूलाई अहिलेसम्म विकसित देश मान्दैन । चिनियाँहरू भन्छन्, हामी विकासन्मुख मुलुक हौँ, विकासको यात्रामा  अघि बढ्दै छौँ, हाम्रो लक्ष्य सन् २०४९ हो । किनकि सन् २०४९ चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको यात्रा पूरा गर्ने वर्ष हो । पुस्तकमा चीनले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापछि २० औँ महाधिवेशनसम्म आइपुग्दासम्मको यात्रावलीसमेत उल्लेख छ ।   

पुस्तकमा विषयसूची लामो छ तर पहिलो शीर्षक पढेपछि पुस्तक अन्त्य नभएसम्म छोड्न मन नलाग्ने गरी प्रस्तुत गरिएको छ ।  लेखक आचार्यले भूमिकामा नेपालका योजनाविद् र नेताहरूलाई पढ्न अनुरोध गरेका छन् ।  ‘यो पुस्तक नेपालमा सत्ताधारी नेता, विपक्षी दलका नेता, विकास योजनाका काम गर्ने योजनाकारहरूले पढिदिनुभयो भने चीनको राम्रा र विकासका कुरा लक्ष्य र योजना बारे हाम्रो देशमा पनि केही परिवर्तन देख्न पाइने थियो कि ?,’ उनले लेखेका छन्, ‘नागरिकले शासक, प्रशासक र योजनाकारबाट विकासको आशा राख्नु स्वभाविक हो । विदेशका जति राम्रा कुरा लेखे पनि अन्त्यमा हामीले स्वदेशका लागि केही गर्न सक्यौँ भने मात्र  मातृभूमिले आशीर्वाद दिनुहुन्छ ।’  

त्यसैले गरिबी निवारण, विकासको कुरा गर्ने हाम्रा आदरणीय शासक, प्रशासकहरूको हातमा पुस्तक पु¥याउने काममा प्रकाशकले अलि जोडतोड बल लगाए भलो हुने थियो । 

चीनलाई चिनाउने पुस्तक प्रकाशित गरेर चीनको बारे जिज्ञासा राख्ने जिज्ञासुलाई सहयोग गरेकोमा लेखक तथा पत्रकार चेतनाथ आचार्यलाई साधुवाद ।

यस पुस्तकका सामग्री आचार्यको एक दशकको चीन अनुभव र मेहनतको फल हो । त्यसैले लेखकीय ओज, विषयवस्तुको खोज अनुसार प्रकाशकले समय सापेक्ष पुस्तकको मूल्य ४९९ छ । ‘नयाँ युगमा चीन’ प्रकाशक तथा वितरक मकालु प्रकाशन गृह डिल्लीबजारले प्रकाशित गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप