भौतिक पूर्वाधारमै बढी बजेट, कार्यान्वयनमा जहिल्यै कमजोर
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउने वार्षिक बजेटमा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै आए बजेट कार्यान्वयनमा जहिल्यै असफल हुँदै आएको छ । आफैँले प्राथमिकता दिएको शीर्षकमा बजेट कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको दक्षतामाथि नै प्रश्न उठ्ने गरेको छ ।
आर्थिक वर्ष ०७९/०८० मा प्रदेश सरकारसँग १९ अर्ब ८६ करोड ३६ लाख २३ हजार २ सय रुपैयाँ बराबरको विकास बजेट थियो । तर, कार्यान्वयनको अवस्था हेर्ने हो भने जम्मा ६४.५४ प्रतिशत अर्थात् १२ अर्ब ८२ करोड ३ लाख ८९ हजार २२७ रुपैयाँमात्र भएको छ ।
प्रदेश सरकारले विकास बजेट कार्यान्वयनको अवस्था बर्सेनि कमजोर देखिए पनि सुधार गर्नतर्फ खासै चासो दिएको पाइँदैन ।
आर्थिक वर्ष ०७६/०७७ मा ३४ अर्ब कुल बजेटमध्ये विकासतर्फ २१ अर्ब २९ करोड ३७ लाख रुपैयाँ विनियोजन भएको थियो । खर्च भने जम्मा ४४ प्रतिशत अर्थात् ९ अर्ब ५३ करोड ५२ लाखमात्रै भएको थियो ।
प्रदेशको कोष तथा लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/०७८ मा विकास बजेट कार्यान्वयनको अवस्थामा केही सुधार भएको देखिन्छ । कुल ३३ अर्ब ७४ करोड १३ लाख बजेटमध्ये यो आवमा विकासतर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ थियो । त्यसमा १३ अर्ब ५७ करोड ४ लाख रकम खर्च भएको थियो । यो भनेको कुल विकास बजेटको ७१.१६ प्रतिशत हो ।
यद्यपि आर्थिक वर्ष ०७८/०७९ मा आउँदा कार्यान्वयनको अवस्थामा १० प्रतिशतले कमी आयो । २४ अर्ब ५७ करोड ४१ लाख ३२ हजार ३०२ रुपैयाँ वार्षिक विकास बजेट रहेकोमा सरकारले ६०.०३ प्रतिशत अर्थात् १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार रुपैयाँमात्र खर्च गर्न सक्यो ।
प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले केन्द्र सरकारले कर्णालीलाई क्षतिपूर्तिसहित बजेट दिनुपर्ने बताउँछन् । यद्यपि केन्द्र सरकारले अनुदानमा दिएको वार्षिक विकास बजेट कार्यान्वयनमै प्रदेश सरकार असफल बनिरहेको तथ्याङ्कले देखाउँछ ।

बजेट खर्च गर्न नसकेर वार्षिक अर्बौं रकम फ्रिज हुने गरेको छ । चालु आर्थिक वर्ष मात्रै ७ अर्ब ४ करोड ३२ लाख ३३ हजार ९७३ रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले बजेट कार्यान्वयनमा विभिन्न खालका ‘जिकज्याक’ रहेको बताए । सार्वजनिक खरिद ऐन, प्रशासनिक निकायको उदासिनता लगायत विषयलाई उनी बजेट खर्च हुन नसक्नुको कारणका रुपमा देखाउँछन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले भने, ‘प्रशासनिक संरचना नै मुख्यमन्त्री, मन्त्रीप्रति र जनताप्रति जवाफदेही छैन । कर्मचारी मुख्यसचिवमा केन्द्रित हुनुपर्ने स्थिति छ ।’
कर्णालीमा दक्ष जनशक्तिको अभाव रहेको पनि मुख्यमन्त्री शर्माले बताए । यद्यपि विज्ञहरु राजनीतिक नेतृत्वको ठुलो कमजोरी देखिएको बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवं विश्लेषक पिताम्बर ढकाल भन्छन्, ‘प्रदेश सरकारले आफ्नो अधिकार अहिलेसम्म बुझ्न सकेको छैन । वर्तमान अवस्थाले नै अघि बढ्ने हो भने त संघीयतामाथि नै प्रश्न उठ्ने देखिन्छ ।’
बजेट नै पाइएन भनेर रोइलो गरिराख्नुको अर्थ नभएको उनको भनाइ छ । ‘अनुदानको विकास बजेट पनि राम्रोसँग कार्यान्वयन गर्न नसक्नु भनेको नेतृत्वमा रहेका व्यक्तिहरु नै कत्तिको असक्षम छन् भन्ने कुरा प्रस्ट्याउने मुख्य आधार हो,’ उनले भने ।
अर्थ सम्बन्धी जानकार एवं विश्वविद्यालयका उपप्राध्यापक निर्मल थापा राजनीतिक खिचातानीले पनि बजेट कार्यान्वयमा समस्या देखिएको बताउँछन् । प्रदेश सरकारले बनाउने नीति, योजना छनोट प्रक्रिया र कार्यान्वयनको प्रक्रियामाथि नै प्रश्न उठाउने प्रशस्त ठाउँ रहेको उनको भनाइ छ ।
‘वितरणमुखी बजेटले दलाली, चाकडी गर्ने, पार्टीका मान्छेलाई बाँड्ने गरिएको छ,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्तिले प्रदेशलाई नै अधोगतितिर लाने काम भएको छ । यहाँका केही जानेका बुझेकाहरुले नै आफ्नोे फाइदाका लागि प्रदेशलाई नै होल्ड गर्ने काम गरिरहेका छन् ।’
_uEeEpnIPCB.jpg)
असारमै बग्छ विकासे बजेट
कर्णालीमा विकास बजेट असारमा मात्रै खर्च हुने प्रवृत्ति यस वर्ष पनि दोहोरियो । जेठ मसान्तसम्म कुल विकास बजेटको जम्मा ३४.६१ प्रतिशत खर्च गरेको सरकारले असार २४ गतेसम्म ६४.५४ प्रतिशत पु¥यायो । यसको प्रमुख कारण हो, रकमान्तर । सुरुमा डल्लो बजेट एक ठाउँमा राख्ने, जब असार लाग्छ, आफू निकट नेता, कार्यकर्तालाई स–साना योजनामा रकमान्तर गरी बाँड्ने प्रवृत्ति कर्णालीमा व्यापक छ ।
स्रोतका अनुसार असार १५ गतेसम्म पनि करोडौँ रकम रकमान्तर भएको छ । चालु आर्थिक वर्षको विकास बजेटतर्फको करिब ६ अर्बभन्दा बढी बजेट रकमान्तर भएर खर्च भएको छ ।
बजेट रकमान्तर गर्नेमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय नै छ । २ अर्बभन्दा बढी बजेट यो मन्त्रालयले रकमान्तर गरेको छ । विज्ञहरु रकमान्तरलाई एउटा बेथितिका रुपमा लिन्छन् । अहिलेका अर्थमन्त्री वेदराज सिंहले सुरुमै रकमान्तरलाई रोक्ने भनेका थिए । यद्यपि व्यवहारमा भने रकमान्तर गर्ने कामलाई उनले नियन्त्रण गर्न सकेनन् ।
२० असारदेखि २४ असारसम्म मात्रै विकास बजेट दैनिक अर्बको हाराहारीमा खर्च भएको छ । चार दिनमा ३ अर्ब ६७ करोड २१ लाख १३ हजार ३४२ रुपैयाँ सकिएको छ । असार महिनाको २४ दिनमा ६ अर्ब १ करोड ८६ लाख ९६ हजार ४४७ रुपैयाँ बजेट खर्च भएको छ ।
_sFMABDdywe.jpg)
विकास बजेट सबैभन्दा धेरै हुने मन्त्रालयमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय हो । यो मन्त्रालयसँग आर्थिक वर्ष २०७९/०८० का लागि १० अर्ब ८७ करोड ५६ लाख बजेट थियो । तर, कार्यान्वयन भने निकै कमजोर देखियो । खर्च ५ अर्ब ९८ करोड २२ लाख ४१ हजार ५३७ रुपैयाँ अर्थात् ५५.०१ प्रतिशत मात्रै भएको छ ।
दोस्रो धेरै विकास बजेट रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ३ अर्ब ७९ करोड ५४ लाख ९५ हजार वार्षिक बजेट रहेकोमा ३ अर्ब २४ करोड ३१ लाख ७० हजार ५७७ रुपैयाँ कार्यान्वयनमा आएको छ । यो भनेको कुल बजेटको ८५.४५ प्रतिशत हो ।
तेस्रो सर्वाधिक विकास बजेट हुने सामाजिक विकास मन्त्रालयमा २ अर्ब ७७ करोड ४९ लाख ६१ हजार २४० रुपैयाँ वार्षिक विकास बजेट रहेकोमा २ अर्ब ८ करोड ३८ लाख ९९ हजार अर्थात् ७५.१० प्रतिशतमात्र खर्च भएको छ ।
१ अर्ब २५ करोड ५६ लाख ४० हजार २ सय वार्षिक विकास बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७९ करोड ५८ लाख ४२ हजार ३३९ रुपैयाँ अर्थात् ६३.३८ प्रतिशत बजेट खर्च गर्न सक्यो । विगतमा धेरै बजेट हुने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आर्थिक वर्ष २०७९/०८० मा ७३ करोड ९५ लाख ८५ हजार रुपैयाँ बजेट थियो । यो मन्त्रालयले ७८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण