शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका संस्थागत विद्यालयमा शुल्क वृद्धि नगर्न निर्देशन

बुधबार, ०३ साउन २०८०, २० : ५३
बुधबार, ०३ साउन २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिएका छन् ।

उपमहानगरपालिकाको आयोजनामा आज नगरभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलमा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउनका लागि संस्थागत विद्यालयले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा विद्यार्थीलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगरी स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए ।

“विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्”, उनले भने, “विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।” उनले विद्यालयले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेरमात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे ।

उनले संस्थागत विद्यालयले मनपरी शुल्क लिँदै आएको गुनासो आएको भन्दै मनपरी शुल्क लिनेलाई कानूनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयले गुणस्तरका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले बुटवललाई शिक्षामा अग्रणी बनाउनका लागि संस्थागत विद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालय एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे। कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय सुधारका लागि प्रतिबद्ध र विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको सुझाव दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप