मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गालामा पाकिस्तानले एक वर्षपछि हरायो श्रीलंकालाई

बिहीबार, ०४ साउन २०८०, १४ : ३५
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई चार विकेटले हराएको छ । पहिलो टेस्टको पाँचौं तथा अन्तिम दिन बिहीबार पाकिस्तानले ६ विकेट गुमाएर एक सय ३३ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । 

पाकिस्तानी टोली एक सय ३१ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली ब्याटिङ गर्न ओर्लिएको थियो ।

जितसँगै पाकिस्तानले दुई खेलको शृंखलामा १—० को अग्रता पनि लिएको छ । पाकिस्तानले श्रीलंकाको गालामा एक वर्षपछि टेस्ट क्रिकेटमा सफलता हात पारेको हो । यसअघि पाकिस्तानले गालामा सन् २०२२ को जुलाई १६ देखि २० तारिखसम्म भएको टेस्टमा सफलता हात पारेको थियो ।  

पहिलो टेस्टमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको घरेलु टोली श्रीलंका पहिलो पालीमा तीन सय १२ रन बनाएको थियो । श्रीलंकाका लागि पहिलो पालीमा धनन्जय डा सिल्भाले एक सय २२ रनको योगदान गरेका थिए । एन्जेलो म्याथ्युजले ६४ रन बनाएका थिए ।

यसैगरी विकेटकिपर ब्याट्सम्यान सदिरा सामराविक्रमाले ३६ रन जोडेका थिए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान दिमुथ करुणारत्नेले २९ रन जोडेका थिए । पाकिस्तानका बलर साहिन शाह अफ्रिदी, नसिम शाह र अबराम अहमदले तीन—तीन विकेट लिएका थिए । 

जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले पहिलो पालीमा चार सय ६१ रनको विशाल योगफल तयार पारेको थियो । भ्रमणकारी टोली पाकिस्तानका लागि पहिलो पालीमा साउद सकिलले दोहोरो सतक प्रहार गरेका थिए । 

लामो समय क्रिजमा संघर्ष गरेका साउद सकिलले अविजित दुई सय आठ रन बनाएका थिए । उनले तीन सय ६१ बलको सामना गरी १९ वटा चौका प्रहार गरेका थिए । पाकिस्तानका लागि अघा सलमानले पनि ८३ रन बनाएका थिए । उनले एक सय १३ बलको सामना गरी एक छक्का र नौ चौका पनि हिर्काएका थिए । 

पहिलो पालीमा घरेलु टोली श्रीलंकाका बलर प्रभात जयसूयाले तीन र रमेश मेन्डिजले दुई विकेट हात पारेका थिए । दोस्रो पालीमा श्रीलंका दुई सय ७९ रन बनाउँदै अलआउट भएको थियो । धनन्जय डा सिल्भाले ८२ रन बनाएका थिए । दोस्रो पालीमा पाकिस्तानी बलर अबरार अहमद र नोमान अलीले तीन—तीन विकेट लिएका थिए । अघा सलमान र साहसिन शाह अफ्रिदीले दूई—दुई विकेट लिए ।

सामान्य विजय लक्ष्य पछ्याएको पाकिस्तानका लागि दोस्रो पालीमा ओपनर ब्याट्सम्यान ईमाम उल हकले अविजित ५० रनको योगदान गरे । साउद सकिलले ३० र कप्तान बाबर अजामले २४ रन बनाएका थिए । दोस्रो पालीमा श्रीलंकाली बलर प्रभात जयसुर्याले चार विकेट लिए । उक्त खेलमा पाकिस्तानका साउद सकिल म्यान अफ दी म्याच घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप