शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कांग्रेस बैठक

सानेपामा बालकृष्ण खाणबारे प्रतिरक्षा र प्रतिवाद

कांग्रेस बैठकमा फेरिएको दृश्य
बिहीबार, ०४ साउन २०८०, २२ : २४
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका प्रभावशाली नेता पूर्व गृहमन्त्री बालकृण खाणबारे मतभेद देखिएको छ । तीन दिनको बैठकमा ८० जनाले आ-आफ्नो धारण राख्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका खाणको विपक्षमा उभिने केन्द्रीय सदस्यको सङ्ख्या न्यून छ ।

मंगलबारको बैठकमा एजेन्डा र प्रतिवेदन मात्र पेस भएको थियो भने बुधवार बोलेका ४६ जना नेतामा कोही पनि खाणको विपक्षमा उभिएको थिएनन् । बिहीबारको बैठकमा भने खाणको प्रतिरक्षामाथि प्रतिरोध भएको छ । 

बुधवारको बैठकमा संस्थापन पक्षका नेताहरूले खाणको प्रतिरक्षा गर्दा इतर पक्षीय केन्द्रीय सदस्यहरू बिहीबार त्यसको प्रतिरोधमा उत्रिए । संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य मधु आचार्य, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही रसाइली र टेकप्रसाद गुरुङले भ्रष्टाचारविरुद्ध पार्टी स्पष्ट हुनुपर्ने बताएका थिए । 

केन्द्रीय सदस्य शिवाकोटीले पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाण प्रकरणमा पार्टीले द्विविधा राखेर सबैलाई भ्रममा पारेको बताए ।

‘हाम्रै पार्टीसहित गठबन्धनको सरकार छ, अनि हाम्रै पार्टीका वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई प्रहरीले मुद्दा चलाएर अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ,’  शिवाकोटीले भने, ‘सभापतिज्यू, यदि उहाँलाई अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट बाहिरिनुपर्‍यो, होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पुर्‍याउँदा पार्टीले सदस्यबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

बैठकले खाण गलत हुन् भन्ने भए उनलाई पार्टीको सदस्यबाट कारबाही वा खाण निर्दोष हुन् भन्ने निष्कर्ष भए उनको न्यायका लागि आह्वान गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

शिवाकोटीले अघि भने, ‘यदि खाण निर्दोष हुन् भन्ने पार्टीको निष्कर्ष हो भने सरकारबाट बाहिरिएर न्याय मागौँ । नभए सुशासनको हिमायती ठान्ने कांग्रेसले कुनै पनि भ्रष्टाचारीलाई काँध हाल्न मिल्दैन ।’ 

उनले भ्रष्टाचार वा अन्य कुनै प्रकरणमा परेपछि सम्बन्धित व्यक्ति स्वयम् नै जवाफदेही हुनुपर्ने बताए । यस्तै अर्का केन्द्रीय सदस्य स्नेहीले भ्रष्टाचारजस्तो गम्भीर अपराधका विषयमा कांग्रेसले मुख थुनेर बस्न नमिल्ने बताए ।

‘बितेको तीन दशकमा अधिकांश समय कांग्रेस सरकारमा छ, तर अहिलेसम्म पनि देशमा विकास र सुशासन कायम किन भएन भन्दा हामीसँग जवाफ छैन,’ उनले भने, ‘यो वा त्यो विषय भन्ने कुरा छैन, भ्रष्टाचारजस्तो गम्भीर अपराधका सवालमा पार्टीले प्रस्ट धारणा दिनुपर्छ, म यही वर्ष भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउन प्रस्तावसमेत गर्दछु ।’

केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरू मुछिँदा कांग्रेसको नाम लिएर गाउँ जान सक्ने अवस्था नभएको बताए । ‘अहिले भ्रष्टाचार र सुशासनको मुद्दा प्रमुख बनेको छ, कांग्रेसको नाम लिएर गाउँ जाने स्थिति छैन । मुख देखाउन असहज भइरहेको छ । यसमा पार्टीको धारणा के हो ? यो बैठकले प्रस्ट पार्नुपर्छ,’ उनले भने ।

अर्का केन्द्रीय सदस्य मधु आचार्यले पनि कांग्रेसलाई भ्रष्टाचारमुक्त बनाउन अभियान चलाउनुपर्ने बताए । ‘भ्रष्टाचारीलाई संरक्षण होइन, सामान्य प्रोत्साहन समेत गर्न मिल्दैन, पार्टीको नेता कार्यकर्ता होइन, कोही पनि भ्रष्टाचारीको पक्षमा हामीले सद्भावसमेत राख्न मिल्दैन,’ उनले भने ।

आचार्यले नीतिगत निर्णय नै गरेर कांग्रेसले भ्रष्टाचारजन्य कार्यमा दोषी प्रमाणित भएका नेताहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था गर्न माग गरे । एउटा नीतिगत निर्णय नै गरौँ कि  अख्तियार दुरुपयोग गरेको वा भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा तत्काल निलम्बन भएको स्वतः मानिने छ भनौँ,’ उनले भने । 

यस्तै केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भ्रष्टाचारको मुद्दामा दलका नेताहरू फसिरहेको भन्दै सत्यता बताउन आग्रह गरे । उनले यो विषयमा जवाफ कसरी दिँदै हिँड्ने ? भन्दै नेतृत्वलाई प्रश्न गरे ।

‘सारा मिडियामा भ्रष्टाचारको कुरामा हाम्रा नेताहरूको नाम जोडेर आउँछ । सत्य कि झुट समाचार के हो ?,’ उनले भने,  ‘हामीले सुनेर हिँड्नुपर्छ, उत्तर दिन गाह्रो हुन्छ ।’ तर बिहीबार पनि खाणको पक्षमा उभिने केन्द्रीय सदस्यको कमी थिएन । संस्थापन पक्ष केन्द्रीय सदस्य कोही खुलेर त कोही मौन बसेर खाणको पक्षमा उभिएको देखिन्छ ।

बुधवार केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, राधा घले, नारायणबहादुर कार्की लगायत खाणको खुलेर बचाउमा उत्रिएका थिए । आज केन्द्रीय सदस्य उदयशमशेर राणा, सरस्वती बजिमय, चन्द्रबहादुर केसी लगायतले खाणको विरुद्धमा उभिनेमाथि कटाक्ष गरे ।

राणाले पार्टीमा आफ्नै साथीलाई समस्या पर्दा पनि खुच्चिङ भन्ने संस्कार देखिएकोप्रति आपत्ति जनाए ।  खाणलाई कारबाही गर्नुपर्ने माग गरिरहेका नेताहरूप्रति लक्षित गर्दै राणाले पार्टी एउटा परिवारको रुपमा रहेको भन्दै कसैलाई अप्ठ्यारो परे साथ सहयोग गर्नुपर्ने बताए ।

‘आफ्नै पार्टीको साथी समस्यामा पर्दाखेरि पार्टीभित्रकै साथीले खुच्चिङ भन्ने काम पनि गरिरहनुभएको छ, त्यो नगर्नुहोला । हामी एउटै परिवार पनि हो,’ उनले भने ।

यस्तै केन्द्रीय सदस्य बजिमयले सत्य तथ्य टुङ्गो नलागेसम्म कसैले पनि कोही व्यक्तिको चीरहरण गर्ने गरी सामाजिक सञ्जालमा अनेक थरी लेख्न नहुने बताइन् । ‘अहिले सामाजिक सञ्जालबाट सत्य तथ्य नबुझी अडियो, भिडियो सेयर गरेर व्यक्तिको चीरहरण गर्ने क्रम बढेको छ । यसरी त कांग्रेस कसरी बलियो हुन्छ ?,’ उनको प्रश्न थियो ।

केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले अदालतको फैसला नआए पनि कुनै पनि मुद्दामा पक्ष –विपक्ष भएर सार्वजनिक बहस गर्न नमिल्ने बताए । ‘आरोप लाग्नु भनेको अभियोग हो । अभियोग लाग्दैमा कोही पनि दोषी हुँदैन,’ उनले भने, ‘अदालतले फैसला नदिएसम्म कसैलाई पनि पार्टीले दोषीको व्यवहार गर्न मिल्दैन ।’

खाण पार्टी परिवारको सदस्य भएको र उनीमाथि आरोप लाग्दा बचाउ गर्नु पार्टीको दायित्व बन्ने उनीहरूको तर्क छ । केन्द्रीय कार्यसमिति बैठकमा शुक्रवार पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम चल्नेछ ।  

‘आफ्नै पार्टीको साथी समस्यामा पर्दा खेरि पार्टीभित्रकै साथीले खुच्चिङ भन्ने काम पनि गरिरहनुभएको छ, त्यो नगर्नुहोला । हामी एउटै परिवार पनि हो,’ उनले भने । 

कांग्रेस बैठकमा फेरिएको दृश्य

तीन दिनको बैठकको छलफल हेर्दा यसपटक सभापति भर्सेस महामन्त्रीद्वय बनेको छ । विगतमा संस्थापन र इतर समूहका नाममा केन्द्रीय सदस्यको मत विभाजितहुन्थ्यो । अहिले बैठकमा बचाउ र आलोचनाको विषय सभापति र महामन्त्रीद्वय बनेको देखिन्छ । संस्थापन पक्षका नेताहरूले इतर पक्षको नेतृत्व मानिएका शेखर कोइरालाप्रति कुनै टिप्पणी गरेका छैनन् ।

केन्द्रीय समिति बैठकअघि गुटगत बैठक नराखेकोमा संस्थापन पक्षीय नेताहरूले कोइरालालाई धन्यवाद दिएका छन् । बुधवारको बैठकमा केन्द्रीय सदस्य रामहरि खतिवडाले  पार्टीलाई एकताबद्ध बनाउन खोजेको भन्दै कोइरालालाई धन्यवाद दिएका थिए । 

 ‘म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु। चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एक ढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ,’ उनले भने, ‘गुटका कुरा होइन, पार्टी एक ढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु।’ अन्य केन्द्रीय सदस्यले पनि कोइरालामाथि कुनै टिप्पणी गरेका छैनन् । संस्थापन पक्षका नेताहरूको निशाना महामन्त्री गगन थापामाथि बढी छ ।

यद्यपि अर्को महामन्त्री विश्वप्रकाश शर्मामाथि कटाक्ष गरेकै छन् । समग्रमा देउवा पक्षीय नेताहरू महामन्त्रीद्वयप्रति आक्रमक सुनिएका छन् । संस्थापन इतरमा शेखर कोइराला निकट मानिने नेताहरूले पनि सभापति देउवाको आलोचना गरेको देखिएन । मन्त्री र भ्रातृ संस्थामा देउवा र कोइरालाबीच भएको मिलिभगत सानेपाको बैठकमा पनि देखिन्छ ।

संस्थापन इतर पक्षबाट जितेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बनी प्रदेश सभापति अमरसिंह पुन पनि महामन्त्रीमाथि खनिएका थिए । संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य रुक्मिणी कोइराला, प्रतिमा गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, डा.चन्द्रमोहन यादव, मुक्ताकुमारी यादवले पनि सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएको पाइएन । चन्द्रमोहनले बरु कोइरालालाई वरिष्ठ नेताको पद दिन सभापतिसमक्ष माग गरेका थिए ।

तर, संस्थापन इतर पक्षका सञ्जय गौतम,अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, मधु आचार्य भने सभापति देउवामाथि खनिएका थिए । आजसम्म धारणा राख्ने  ८० जना केन्द्रीय सदस्यमा करिब ७० जना संस्थापन् पक्षीय छन् । केन्द्रीय कार्यसमितिमा ८२ प्रतिशत होल्ड भएका देउवाको बैठकमा बलियो प्रतिरक्षा भइरहेको छ ।

संस्थापन पक्षका केन्द्रीय सदस्यले तीनै तहमा पहिलो बनाएर पार्टीलाई सरकारमा पुर्‍याएको श्रेय सभापति देउवालाई दिएका छन् । गण्डकी प्रदेशकी मन्त्री तथा केन्द्रीय सदस्य सरस्वती अर्यालले देउवाले महाधिवेशनको बाचा पुरा गरेको भन्दै धन्यवाद दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप