माल्टा पठाउने नाममा ठगी गरेको भन्दै कमानसिंविरुद्ध दिएको उजुरी अझै भएन दर्ता
सुर्खेत । मासिक २८ सय युरोको आश्वासन दिई माल्टा पठाउने नाममा ठगी गरेको भन्दै पीडितहरुले सुर्खेत गुर्भाकोट नगरपालिका–९ का कमानसिं कामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । तर उजुरी दिएको २४ घण्टा बित्दासमेत दर्ता नभएको उनीहरुको गुनासो छ ।
पीडित हरीबहादुर ओलीले प्रहरीले अझै उजुरी दर्ता नगरेको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने जाहेरीमाथि अध्ययन भइरहेको बताएको छ ।
पीडितहरुले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । कमानसिंले माल्टा पठाउने आश्वासन दिएर लाखौँ रकम उठाएर अहिले सम्पर्कमा नरहेको पीडितहरुको भनाइ छ । उजुरी दिने पीडितहरु गुर्भाकोटकै ९ जना छन् ।
कमानसिंले आफ्नो कम्पनी भारतको दिल्लीमा रहेको र आफ्नो जेठान यामबहादुर विकको माध्यमबाट माल्टा पठाउने आश्वासन दिएर पैसा लिएको पीडितहरुको भनाइ छ । लाखौँ रकम उठाएर पनि माल्टा नपठाएको र केही महिना यता कमानसिं, यामबहादुर फरार रहेको पीडितहरुको आरोप छ ।
प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘हामीबाट रकम ठगी गर्ने योजना बनाई जालप्रपञ्च रची झुक्याई धोका दिर्ई गफलतमा पारी बेइमानी तवरले विदेश माल्टा पठाई दिन्छु भनी रकम लिई हामीलाई नोक्सान र आफू फाइदा हुने गरी मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २१ को २४९ विपरीत कसुर गरेकाले निज अन्यायीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिपाऊँ ।’
उजुरीमा कमानसिंले ठगी गरेको रकमको लिस्ट समेत उल्लेख छ । कमानसिंबाट सुर्खेत, सल्यान, जाजरकोट लगायतका १९ जना ठगिएको भए पनि उजुरी दिन भने ९ जना सहभागी भएका थिए । कमानसिं गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकका श्रीमान् हुन् । उपप्रमुख विकले ठगी प्रकरणमा आफ्नो कुनै प्रकारको संलग्नता नरहेको प्रस्ट पारेकी छन् । उनले यो प्रकरणमा आफ्नो नाम नजोड्न पनि आग्रह गरेकी छन् ।
घटनाको विवरण यस्तो छ
पीडितहरुले कमानसिं चिनजानका मानिस भएको उल्लेख गरेका छन् । उनले विभिन्न मेन पावरसँग मिलेर गाउँघरका युवा तथा युवतीहरुलाई कहिले काहीँ विदेशमा पठाउने गर्ने गरेका थिए ।
०७९ मंसिर महिनादेखि कमानसिंले आफूहरुलाई भेटी भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको छु, २८ सय युरो अर्थात् ३ लाख ९० हजार तलब पाउने कामदार माग भएको भनेर जानकारी गराउने गरेको पीडितहरुको दाबी छ ।
साथै उनले आफ्नो कोटामा १५÷५० जना कामदार पठाउने रहेको र तपाईँहरु (पीडित) गाउँ बस्नु भन्दा माल्टा गएर कमाईकाज गर्नुहोस् भनेर फकाएको पनि उनीहरुले बताए ।
जाहेरीमा उल्लेख भएको पीडितहरुको भनाइ जस्ताको त्यस्तै
‘माल्टा जानको लागि १० लाख रुपैयाँ लाग्छ भनेर हामीलाई विभिन्न प्रलोभन देखाएकाले हामी पनि हुन्छ भनेपछि कमानसिंले तपाईहरुले मलाई सुरुमा २ लाखका दरले पेश्की स्वरुप गरिदिनुहोला, म तपाईहरुलाई विदेश माल्टा पठाउने प्रक्रिया सुरु गर्छु भनेकाले हामीले उल्लेखित रकम कमानसिंको ग्लोबल आईएमी बैंकको खातामा जम्मा गरेपछि म तपाईँहरुलाई दिल्ली गई केही समयपछि घरमा आई तपाईँहरुलाई माल्टा जानको लागि अफर लेटर र परमिट लेटर आएको छ भनि हामीलाई ०७९ माघ महिनादेखि ०८० जेठ २० गतेसम्म अफर लेटर र परमिट लेटर दिई अब तपाईहरु माल्टा जानको लागि सम्पूर्ण तयारी गरी बस्नु होला, केही समयमै माल्टा उड्नुपर्छ भनेकाले विश्वासमा परी कुरी बसेकामा सो पश्चात निज कमानसिंले हामीसँग भेटघाट नगर्ने, हामीले गरेको फोन नउठाउने, घरमा जाँदा हामीबाट भागेर हिँड्ने गरेकाले माथि उल्लेखित मिति, समय निज अन्यायी घरमा आएको थाह पाई हामी उनको घरमा गई कमानसिंसँग भेट गरी तपाईले हामीलाई विदेश माल्टा पठाउँछु भनि हामीबाट रकम लिई सक्नुभएको छ, हाम्रो विदेश जाने काम कहाँसम्म पुग्यो भन्दा कमानसिंले मलाई चाहिने जति रकम तपाईहरुबाट ठगी गर्ने योजना बनाई भारतको दिल्लीमा गई झुठ्ठा अफर लेटर, परमिट लेटर बनाई तपाईहरुलाई दिएको हुँ, मलाई चाहिने जति रकम लिइसकेँ, अब मलाई केही मतलब छैन, जहाँ गई जे गर्न सक्नुहुन्छ गर्नुहोस्, भनेको र त्यसपछि ठगी गरेको यकिन भएकाले अन्यायमा परी यो उजुरी ल्याएका छौँ ।’
उजुरीका विवरणहरु तस्बिरमा




मंगलबार रातोपाटीले ‘२८ सय युरोको आश्वासन दिई माल्टा लैजाने नाममा ठगी, उपप्रमुखका श्रीमान् मुछिए’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उपप्रमुख मैना विकले रातोपाटीलाई खण्डन पठाउँदै आफ्नो सार्वजनिक पद र व्यक्तिगत चरित्रहत्या र मान प्रतिष्ठामा आँच आउने काम भएको भन्दै आपत्ति प्रकट गरेकी छन् । साथै उनले आफ्नो नाम, पद जोडेर आफूलाई अपराधी, ठग करार गरी किटानसहित आएको समाचार पत्रकार आचारसंहिता विपरीत आफ्नो चरित्र हत्या, बदनाम गर्ने गरी एकतर्फी रुपमा कुनै लिखित मौखिक प्रतिक्रिया नलिई प्रसारण गरेको भन्दै खण्डन गरेकी छन् । उल्लेखनीय छ, समाचारमा उपप्रमुख विकलाई दोषी देखाइएको छैन । पीडितहरुले उनीसँग गरेको छलफल र सो क्रममा भएको संवाद पीडितहरुले बताए अनुसार समाचारमा उनको नाम समावेश भएको हो । न्यायिक समितिमा समेत यस विषयमा उजुरी परेको र न्यायिक समितिको संयोजक उपप्रमुख स्वयं रहने साथै ठगीको आरोप लागेका कमान सिंह उपप्रमुख विककै श्रीमान् भएकाले पीडितहरुले व्यक्त गरेको संशयका आधारमा समाचारमा उनको नाम समावेश गरिए पनि सो प्रकरणमा उनको कुनै संलग्नता वा भूमिका रहेको भनेर उल्लेख गरिएको छैन ।
(विकले रातोपाटीलाई पठाएको खण्डन)
तर, उनले भनेजस्तो समाचारमा उपप्रमुख मैना विकलाई कुनै ठाउँमा पनि अपराधी करार गर्न खोजिएको छैन । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएका पीडितहरुले नै स्वयं ‘उपप्रमुखको श्रीमान्, अझ आफन्त भएकाले ठगिने कुरामा कल्पना समेत नगरिएको’ उल्लेख गरेका थिए । रातोपाटीले सोहीलाई आधार बनाएर समाचार बनाएको छ ।
रातोपाटीले विकको दुई वटा मोबाइल नम्बरमा फोन गरेर घटनाबारे प्रतिक्रिया लिन प्रयास गरे पनि विकले फोन ‘रिसिभ’ गरेकी थिइनन् ।
उपप्रमुख विकले खण्डमा आफ्नो श्रीमान् कमानसिंसँग आफ्नो पनि सम्पर्क नभएको बताएकी छन् । १० असारदेखि घरपरिवार, फोन, सामाजिक सञ्जालको सम्पर्कमा नरहेको उनको भनाइ छ ।
साथै आफूले पीडितहरुलाई कमानसिं, यामबहादुरलाई प्रमाणका आधारमा कानुनी प्रक्रियामा गई मुद्दा दर्ता, कारबाही गर्न सुझाव दिएको, पीडितको न्यायका पक्षमा आफू सधैँ साथका रहेको अवगत गराउँदै आएको पनि बताएकी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण