बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

१८ वर्षे खेल जीवनबाट विश्राम लिँदा भावुक बने क्रिकेटर ज्ञानेन्द्र

शुक्रबार, १९ साउन २०८०, १९ : ५०
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । नेपाली क्रिकेटले विभिन्न कालखण्डमा भोग्दै आएको उतार—चढावका सक्रिय सारथि हुन्, ज्ञानेन्द्र मल्ल । उनले नेपाली क्रिकेटको क्षितिजलाई फराकिलो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

सधैँ हँसिलो मुद्रा र शालीन शैलीमा प्रस्तुत हुने अनुभवी खेलाडीले आफ्नो जीवनको ऊर्जाशील समय नेपाली क्रिकेटकै लागि खर्चिए । 

उमेरले ३३औं वर्ष प्रवेशको संघारमा रहेका यी प्रभावशाली ब्याट्सम्यानले करिब १८ वर्ष देशका लागि क्रिकेट खेले । 

नेपालले सन् २०१४ मा पहिलो पटक टीट्वान्टी विश्वकप खेल्दा होस् वा सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाउँदा । अथवा, नेपालले डिभिजन फाइभदेखि डिभिजन थ्री सम्मको यात्रा तय गर्दा नै किन नहोस् । यस्ता थुप्रै उपलब्धिमा यी कुशल ब्याट्सम्यानले बनाएको रनको निकै ठूलो योगदान छ । 

सन् २००५/०६ मा पहिलो पटक राष्ट्रका लागि खेल्न ब्याट समाएर मैदानमा ओर्लँदा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको उपलब्धि निकै कम थियो । 

तर, पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएको छ । यी सबै सफलतामा ज्ञानेन्द्रको नाम अभिन्न रुपले जोडिएर आउँछ । 

यतिबेला नेपाली क्रिकेट टोली एसिया कप क्रिकेटजस्तो ठूलो प्रतियोगिता खेल्ने तयारीमा व्यस्त छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता प्रभावशाली टेस्ट राष्ट्रहरुको सहभागिता रहने एसिया कप अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । 

त्यसैले, यी अनुभवी ब्याट्सम्यानले आगामी एसिया कपमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने आशा धेरै क्रिकेटप्रेमीले गरेका थिए । तर, देशले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारी गरिरहँदा वर्तमान नेपाली टोलीका सबैभन्दा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रले अप्रत्याशित रुपमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरे ।  

काठमाडौँको एक होटलमा शुक्रबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । 

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामात्र होइन, कुनै पनि घरेलु प्रतियोगितासमेत नखेल्ने जानकारी दिए । ‘आज (शुक्रबार) को मितिदेखि नै खेल जीवनबाट सन्न्यास लिएको जानकारी गराउन चाहन्छु,’ उनले भने । 

उनले खेलाडीको भूमिकाबाट बिदा लिए पनि आफू क्रिकेटबाट भने कहिल्यै टाढा रहन नसक्ने बताए । 

उनले आफूले सन्न्यासको घोषणा गर्दै गर्दा मन मुटु भारी भएको पनि बताए । उनले क्रिकेट खेल आफ्नो जीवनको अभिन्न अंग बनिसकेको भावना पनि पोखे । 

‘जुन खेलले मलाई राष्ट्रिय—अन्तर्राष्ट्रिय रुपमा फरक परिचय र मान—प्रतिष्ठा दियो, म त्यो खेलबाट कुनै पनि हालतमा टाढा रहन सक्दिन । त्यसैले, सक्रिय खेल जीवनबाट सन्न्यास लिने निर्णय लिनु मेरा लागि कुनै पनि हालतमा सहज थिएन,’ उनले भने ।

ज्ञानेन्द्रले आफ्ना लागि सक्रिय खेल जीवनबाट बिदा लिने उपयुक्त अवसर यही भएको पनि बताए । ‘पक्कै पनि यो निर्णय लिनु सजिलो थिएन । कुनै समय मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला । अहिले प्रतिभाशाली युवा खेलाडीहरुका लागि मैले पनि त्यो स्थान खाली गर्दैछु । त्यसैले, आज मैले आफ्नो खेल जीवनमा विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय लिएको हुँ,’ उनले भने ।

उनले सक्रिय खेलाडीको भूमिकामा रहँदा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् । उनले नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरुलाई पनि धन्यवाद दिएका छन् ।

यसै क्रममा जब पत्नी र छोरीको प्रसंग आयो, त्यसपछि उनी एकाएक भावुक बन्न पुगे ।

एउटा खेलाडीलाई लामो समय खेल मैदानमा टिकाउन धेरै पक्षको साथ र सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्दै ज्ञानेन्द्रले यसमा खेलाडीको परिवारको पनि उत्तिकै ठूलो योगदान रहने बताए । त्यसैले, उनले लामो समयसम्म आफूलाई देशका लागि खेल्ने वातावरण बनाइ दिएकोमा परिवारका सदस्यहरुप्रति पनि आभार प्रकट गरे ।

कुनै समय राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिकासमेत निर्वाह गरिसकेका ज्ञानेन्द्र पछिल्लो समय भने टोलीको एउटा सामान्य सदस्यका रुपमा मैदानमा सक्रिय थिए । सन् २०१९ मा तत्कालीन कप्तान पारस खड्काले जिम्मेवारी छाडेपछि ज्ञानेन्द्र कप्तानको भूमिकामा आएका थिए । उनले करिब दुई वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरे । 

ज्ञानेन्द्रले राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवनको अन्तिम खेल भने सन् २०२३ जुलाई ४ तारिखमा आयरल्यान्डविरुद्ध खेलेका थिए । आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता अन्तर्गतको उक्त खेल जिम्बाबेमा खेलिएको थियो । 

लामो समय क्रिजमा टिकेर आवश्यक्ताअनुसार टोलीका लागि रन बनाउन सक्ने विशेष खुबीका धनी यी कुशल ब्याट्सम्यानले देशका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता कूल आठ सय ७६ रन बनाएका छन् । ज्ञानेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धसतक बनाउने पहिलो नेपाली खेलाडी पनि हुन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको व्यक्तिगत उच्च स्कोर ७५ रन हो । एकदिवसीय प्रतियोगितामा उनले सातवटा अर्धशतक पनि बनाएका छन् । उनले एकदिवसीय प्रतियोगितामा १५ छक्का र ९० चौका प्रहार गरेका छन् भने १३ वटा क्याच पनि लिएका छन् । 

उनले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उक्त खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भएको थियो । ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका ज्ञानेन्द्रले भने टोलीका लागि ५१ रनको योगदान गरेका थिए ।

यसैगरी, उनले टी ट्वान्टी प्रतियोगितामा देशका लागि ४५ खेल खेल्दै आठ सय ८३ रन बनाएका छन् । उनी टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धसतक बनाउने खेलाडी पनि हुन् । उनले सन् २०१९ मा मलेसियाविरुद्ध २० बलमा अर्धसतक पूरा गरेका थिए । 

टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक र दुई अर्धसतक पनि बनाएका छन् । टी ट्वान्टी खेलमा ज्ञानेन्द्रको उत्कृष्ट प्रदर्शन भने एक सय सात रन हो । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध उक्त रन बनाएका थिए । ज्ञानेन्द्रले टी ट्वान्टी खेलमा ३६ छक्का र ७८ चौका हिर्काएका छन् । 

उनले सन् २०१२ मा भएको एसीसी ट्रफी इलिट प्रतियोगितामा साउदी अरेबिया विरुद्ध एकै ओभरमा ६ चौका हिर्काएका थिए । नेपाल नौ विकेटले विजयी भएको उक्त खेलमा उनले अविजित ६१ रन बनाएका थिए । उक्त खेलमा उनी म्यान अफ दी म्याच पनि घोषित भएका थिए ।

ज्ञानेन्द्रले सन् २०१४ को मार्च १६ तारिखमा हङ्कङविरुद्घ पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । त्यो टी ट्वान्टी विश्वकप अन्तर्गतको खेल थियो । उक्त खेलमा नेपाल ८० रनले विजयी भएको थियो । आफ्नो पहिलो टी ट्वान्टी खेलमा ज्ञानेन्द्रले ४८ रन बनाएका थिए । 

उनले आफ्नो खेल जीवनको अन्तिम टी ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता भने सन् २०२२ को अगस्त ३० तारिखमा केन्याविरुद्घ नैरोबीमा खेलेका थिए । उक्त खेलमा नेपाल ३१ रनले विजयी भएको थियो । उक्त खेलमा ओपनर ब्याट्सम्यानको भूमिकामा ओर्लिएका ज्ञानेन्द्रले ५९ रन बनाएका थिए । उक्त खेलमा पनि उनी म्यान अफ दी म्याच घोषित भएका थिए ।

पछिल्लो समय भने उनको ब्याटिङमा एकरुपता देखिएको थिएन । उनको प्रदर्शन पनि क्रमशः खस्कँदै गएको थियो । राष्ट्रिय टोलीमा परे पनि उनी अधिकांश खेलमा बेञ्चमै रहन्थे । अर्कोतिर राष्ट्रिय टोलीमा अटाउने क्षमता राख्ने नयाँ र प्रतिभाशाली खेलाडीको उदय पनि भइरहेको थियो । त्यसैले पनि नयाँ पुस्ताका खेलाडीलाई अवसर दिन आफूले सन्न्यासको निर्णय लिएको उनी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप