मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

डेंगु सङ्क्रमण : ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’

शनिबार, २० साउन २०८०, ०५ : ४७
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेपालमा डेंगु तीव्र गतिमा फैलिएको छ । हाल डेंगु भाइरस सङ्क्रमण भएका मध्ये ४१ प्रतिशतलाई ‘सेरोटाइप–२’ भएको अध्ययनले देखाएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको अध्ययनले नेपालमा हाल ‘सेरोटाइप २’ बढी देखिएको ईडीसीडीका किट्जन्य शाखाका प्रमुख डा. गोर्कण दाहालले बताए ।

जनस्वास्थ्य प्रयोगशाला र  बीपी प्रतिष्ठानमा ५८ नमुना परीक्षण गरिएको थियो ।सो अध्ययनअनुसार ‘सेरोटाइप २’ डेंगु ४१ प्रतिशतमा पुष्टि भएको छ । केहीमा ‘सेरोटाइप १’, र ‘सेरोटाइप ३’ पनि देखिएको छ । 

यस्तै, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२२ मा सेरोटाइप १, २ र ३ पुष्टि भएकोमा ‘सेरोटाइप–३’ बढी मात्रामा देखिएको थियो । त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ३३४ वटा नमुना परीक्षण गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा ५० र जनस्वास्थ्य प्रयोगशालामा २७२ र बीपी स्वास्थ्य प्रतिष्ठानमा १२ नमुना परीक्षण गर्दा सेरोटाइप १,२ र ३ देखिएको थियो । 

२०१९ मा सेरोटाइप १ र २ मात्रै पुष्टि भएको थियो । यस्तै, सन् २०१६ मा सेरोटाइप १ तथा सन् २०१९ मा सेरोपाइप २ देखिएको थियो ।  

फरक फरक सेरोटाइपले सङ्क्रमण जटिल

नेपालमा अहिलेसम्म डेंगु सङ्क्रमणका चारवटै सेरोटाइप देखिएका छन् । कोभिड–१९ को ओमिक्रोन भेरियन्ट जस्तो डेंगुका पनि भविष्यमा भेरियन्ट नआउला भन्न नसकिने डा. पुनको भनाइ छ ।  प्रत्येक वर्ष ४ सेरोटाइपमध्ये फरक फरक फैलिदा स्वास्थ्य जटिलटा आउने उनको भनाइ छ ।   

पहिलो पटक भन्दा दोस्रो, तेस्रो, चौथो पटकमा फरक फरक प्रकारको सेरोटाइपको डेंगुले टोकेमा स्वास्थ्य झन् जटिल हुने डा. पुनले बताए ।

‘पहिलो पटक जुन सेरोटाइपले सङ्क्रमण भयो, दोस्रो पटक पनि त्यही सेरोटाइप सङ्क्रमण भएमा स्वास्थ्य जटिलता अलि कम हुन्छ ।’ उनले भने, ‘दोस्रो पटक फरक डेंगुको सेरोटाइप सङ्क्रमण भएमा स्वास्थ्यमा थप जटिलता देखिन्छ ।’

डेंगुको चार सेरोटाइपमध्ये जुन सेरोटाइप सङ्क्रमण भएपनि रोग विरुद्धको प्रतिरोधात्मक क्षमता विकास हुने उनले बताए । पहिलो डेंगु हुँदा सेरोटाइप १ सङ्क्रमण हुने, दोस्रो, तेस्रो पटक सेरोटाइप २, ३, ४ लाग्दा बिरामीलाई बढी खतरनाक हुने अध्ययनहरूले देखाएको छ ।   

सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार सावधानी नअपनाए आफ्नो जीवनकालमा कुनै व्यक्ति ४ पटकसम्म डेंगु सङ्क्रमित हुन सक्छ । 

यदि पहिलो पटक सङ्क्रमित हुँदा सेरोटाइप १ सङ्क्रमित हुन्छ भने हत्तपत्त त्यो सेरोटाइप पुनः सङ्क्रमण हुँदैन । किनभने सेरोटाइप १ विरुद्धको रोग प्रतिरोधात्मक क्षमताको विकास भइसकेको हुन्छ । 

यस्तै, अन्य सेरोटाइप सङ्क्रमण हुँदा पनि त्यही विरुद्धको रोग प्रतिरोधात्मक क्षमताको विकास भइसकेको हुन्छ । 

डेंगु कुन लामखुट्टेले सार्छ ?  

डेंगु रोग एडिस एजिप्टाई प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडिस जातको लामखुट्टे आफ्नो वंश बढाउन अन्य लामखुट्टेको तुलनामा अधिक बाठो हुन्छ । अन्य जातिका लामखुट्टेले भन्दा यो लामखुट्टे वातावरणमा बढी घुलमिल हुने क्षमता राख्छ । यस जातिको लामखुट्टेले अण्डा पनि फरक फरक स्थानमा पार्ने गर्छ । 

डेंगु सार्ने चलाख लामखुट्टेको अण्डाबाट लार्भा, प्यूपा त्यसपछि वयस्क हुन्छ । यसले गर्मीमा अण्डा पारे पनि कम्तीमा ६ महिनासम्म मर्दैन । जब पानी पर्छ, तब अण्डाबाट लार्भा, प्यूपा, त्यसपछि वयस्क बन्छ । चलाख अनि खतरनाक सङ्क्रमित लामखुट्टेबाट निस्किएका अण्डबाट लार्भा, प्यूपा वयस्क सबैमा  डेंगु भाइरस हुने डा. पुनले बताए । 

डेंगु सार्ने लामखुट्टे उज्यालोमा बढी सक्रिय हुने गर्छ । बिहान र दिउँसो मान्छेको रगत मन पराउने भएकाले उज्यालोमा बढी टोक्ने गर्छ । लामखुट्टे सफा पानीमा बस्न मन गराउँछन् । सफा स्थानमा उज्यालोमा पुगेर टोक्ने गर्छन् । 

ईडीसीडीका अनुसार गएको पुस महिना यता ७७ जिल्लामै ५ हजार ६८८ डेंगुको केस पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै सुनसरी जिल्लामा ३ हजार ४८६ केस पुष्टि भएको छ । 

डा.पुनका अनुसार डेंगु सङ्क्रमण हुँदा एक्कासि ज्वरो आउने,  टाउको दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, थकान महसुस हुने, टाउको मांसपेशी दुख्ने, बान्ता हुने, खान मन नलाग्ने लगायतका लक्षण देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप