आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रास्वपाको मापदण्ड

रास्वपाले किन तोक्यो विभाग पदाधिकारीलाई डिग्री पासको योग्यता ?

केन्द्रीय विभाग प्रमुखको छैन मापदण्ड
आइतबार, २१ साउन २०८०, १८ : ४६
आइतबार, २१ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागीय पदाधिकारी र सदस्यका लागि तोकेको शैक्षिक योग्यतामाथि चर्चा भइरहेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीका केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको थियो ।

साथै बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको छ ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड रास्वपाको निर्णयमा उल्लेख छ ।

पार्टीको पालिका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुई वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालको भनाइ छ । रास्वपाले केन्द्रीय विभागको प्रमुखका लागि भने शैक्षिक योग्यता तोकेको छैन ।

365638962_271089825631019_1344605201897641865_n

विभाग प्रमुखको मापदण्ड केन्द्रीय सदस्य र सांसद 

रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय विभाग प्रमुख हुन केन्द्रीय सदस्य र सांसद भए पुग्छ ।  ‘केन्द्रीय विभागको प्रमुख हुने मापदण्ड नै केन्द्रीय सदस्य वा सांसद हो । विभागीय जिम्मेवारीका सम्बन्धमा बिहीबारको केन्द्रीय समिति बैठकले बनाएको मापदण्ड लागू हुँदैन,’ बुर्लाकोटीले भने, ‘हाम्रो केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूका लागि मापदण्ड चाहिँदैन । पदाधिकारी र सदस्यमा सम्बन्धित विभाग विज्ञ राख्नुपर्ने भएकाले मापदण्ड चाहिएको हो ।’ 

यद्यपि केन्द्रीय समितिले केन्द्रीय विभाग प्रमुखका लागि इमानदार, चारित्रवान र क्षमतावानको मापदण्ड बनाएको उनको भनाइ छ । रास्वपाले केन्द्रीय सदस्यको मापदण्ड बनाइसकेको छैन ।

हामीले विभाग प्रमुखको शैक्षिक योग्यता उपलब्ध गराइदिन आग्रह गर्दा बुर्लाकोटीले संस्थागत दस्ताबेज पार्टीसँग नरहेको जवाफ दिए । तर, अधिकांश विभाग प्रमुखले मास्टर डिग्री गरेको उनको दाबी छ । ‘विभाग भनेको राजनीति गर्ने थलो होइन, काम गर्ने थलो हो । जस्तै कृषिमा कृषि नीति, त्यसको कार्यान्वयन, त्यसका अवसरहरू, किसानको समस्या सुनुवाइ गर्ने काम हुन्छ । त्यसैले सम्बन्धित विषयका विज्ञ खोजेका हौँ,’ उनी भन्छन् ।

अनिल शाह मापदण्ड विपरीत प्रशिक्षण विभाग प्रमुख

सोही अनुसार रास्वपाले २१ सांसद मध्ये १२ जनालाई १७ विभागको जिम्मेवारी दिइएको छ । दुई वटा विभागीय जिम्मेवारी पाउनेमा सांसद मनिष झा, सुमना श्रेष्ठ, शिशिर खनाल, तोसिमा काकी र अशोककुमार चौधरी छन् । 

यस्तै रास्वपामा ३९ जना केन्द्रीय सदस्य मध्ये १८ जनालाई विभागीय जिम्मेवारी छ । विभागीय नेतृत्व सम्हालेका डोलप्रसाद, सुमना, गणेश र सोविता गौतम सांसद तथा पार्टी केन्द्रीय सदस्य पनि छन् । 

यता रास्वपाले अनिल केसरी शाहलाई भने मापदण्ड विपरीत विभाग प्रमुखको जिम्मेवारी दिएको छ । उनी केन्द्रीय सदस्य र सांसद दुबै छैनन् । बैंकर शाह रास्वपाको पहिलो वार्षिकीको अवसरमा असार ७ मा पार्टी प्रवेश गरेका थिए । रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएर शाहलाई पार्टीमा भित्र्याएको थियो । ‘उहाँ आफ्नो क्षेत्रमा काबिल मान्छे हो । त्यसैले उहाँलाई विभागीय प्रमुख बनाउन केन्द्रीय सदस्य र सांसद हुनुपरेन,’ उनले भने । पार्टी विधानको धारा निलम्बन गरेर ल्याट्रल इन्ट्रीको अवधारण अनुसार शाहलाई विभागीय जिम्मेवारी दिएको बुझिएको छ ।

यस्तै पार्टी सभापति रवि लामिछानेबारे भइरहेको सार्वजनिक टिप्पणीको पनि बुर्लाकोटीले बचाउ गरे । ‘शिक्षा मन्त्री हुनका लागि र शिक्षा सचिव हुनका लागि मापदण्ड फरक हुन्छ । शिक्षामन्त्री हुनका लागि शिक्षासँग अलिकति ज्ञान भएको सांसद भयो भने शिक्षा मन्त्री हुन सक्छ,’ उनले उदाहरण दिँदै भने, ‘तर, शिक्षा सचिव हुनका शिक्षा क्षेत्रमा कम्तीमा पनि आठ–दश वर्ष अनुभव भएको हुनुपर्छ । उसको शैक्षिक योग्यता पनि त्यही अनुसारको हुनुपर्छ ।’ 

नेतृत्व र त्यसको काम गर्ने टिमको योग्यता फरक हुने बुर्लाकोटी बताउँछन् । ‘खोजमूलक पत्रकारिता नगरेको मान्छेले भ्रष्टाचारको फाइल खोतलेर ल्याउन सक्दैन । तर, सम्पादक हुनका लागि खोजमूलक पत्रकारिता गरेकै हुनुपर्छ भन्ने छैन । फरक क्षमता भएको हुन्छ नि त । पार्टीमा पनि त्यस्तै हो नि,’ उनी भन्छन् ।

विभाग प्रमुखको योग्यता के ?

रास्वपामा पाँच जना (पीएचडी र चिकित्सक) डाक्टर विभागीय प्रमुख छन् । नीति तथा प्रचार विभाग प्रमुखमा डा. मुलुक ढकाल, अर्थ नीति विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले, विकास योजना तथा नीति तर्जुमा प्रमुखमा डा.अरनिको पाँडे, गुनासो व्यवस्थापन विभाग प्रमुखमा डा.चन्दा कार्की, स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद विभाग प्रमुखमा डा. तोसिमा कार्की रहेका छन् ।

प्रशिक्षण विभाग प्रमुख अनिल केसरी साह, संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग प्रमुख विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन तथा संस्कृति विभाग प्रमुख शिशिर खनाल, तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झा, अधिकारी कानुन तथा न्याय विभाग प्रमुख सोविता गौतम, शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि प्रमुख सुमना श्रेष्ठ, मानव अधिकारी विभाग प्रमुख सन्तोष परियारले मास्टर डिग्री गरेका छन् ।

मानवीय विकास प्रवर्द्धन विभाग प्रमुख कुसुम महर्जन, आइटी संयोजन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठ, उत्पादन प्रवर्द्धन विभाग प्रमुख रामकृष्ण भट्टराई, नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभाग प्रमुख इन्जिनिर खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभाग प्रमुख दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल, आर्थिक व्यवस्थापन विभाग प्रमुख मास्टर लिमा अधिकारी, विधेयक मन्थन विभाग प्रमुख मास्टर गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी, कृषि र सहकारी विभाग प्रमुख अशोककुमार चौधरी र मुद्रा तथा पुँजी बजार विभाग प्रमुख मास्टर विराजभक्त श्रेष्ठको शैक्षिक योग्यता र लामो अनुभव रहेको महामन्त्री ढकाल बताउँछन् ।

यस्तै उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभाग प्रमुख असिम साह, यातायात विभाग प्रमुख शिव नेपाली, पूर्वाधार विभाग विकास अनुगमन विभाग प्रमुख निशा डाँगी, वन वातावरण तथा प्रकृति स्रोत विभाग प्रमुख विनीता कठायत र महिला तथा सामाजिक विकास प्रमुख लक्ष्मी तिवारी पनि संसदीय समितिको सदस्यता अनुसार जिम्मेवारी दिएको उनको भनाइ छ । 

प्रवास नेपाल सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालको शैक्षिक योग्यता भने आइए पास मात्र हो । पार्टीको संसदीय दलको उपनेता समेत हरेका अर्याल र सभापति लामिछानेका शैक्षिक योग्यता समान छ । ‘विषयगत र संगठनात्मक विभाग भन्ने छ । विषयगत विभागमा जुन संसदीय समितिका सदस्य छन् । सोही अनुसार विभागीय जिम्मेवारी दिएका छौँ,’ ढकालले भने । 

महामन्त्री ढकालले संसद्को पूर्वाधार समितिमा रहेका रास्वपाका सांसद निशा डाँगी र शिव नेपालीको उदाहरण दिँदै विभागीय जिम्मेवारीको मापदण्ड सुनाए ।

‘पूर्वाधार समितिको क्षेत्राधिकार एउटा यातायात र एउटा पूर्वाधार छ । सोही अनुसार एउटा विभागको नाम पूर्वाधार र अर्को यातायात विभाग बनायौँ । पूर्वाधार विभागको प्रमुख निशा डाँगी र यातायात विभागको प्रमुख शिव नेपालीलाई दिएका छौँ,’ उनले भने । संसद्का अन्य विषगत समितिमा रहका आफ्ना अरू सांसदलाई पनि सोही अनुसार विभागीय जिम्मेवारी दिएको ढकालको भनाइ छ ।

‘संसदीय समितिमा रहेकाहरूलाई सोही अनुसार विभागीय जिम्मेवारी दिएका छौँ । उहाँहरूको सहयोगका लागि पदाधिकारी र सदस्यमा विज्ञ खोजेका हौँ,’ उनी बताउँछन् । 

राजनीतिक विश्लेषकहरू भने रास्वपाले विभागको केन्द्रीय पदाधिकारी र प्रदेश प्रमुखको मापदण्ड व्यवहारिक नभएको बताउँछन् । राजनीतिक विश्लेषक प्रा.डा लोकराज बराल राजनीतिमा शैक्षिक योग्यता भन्दा ज्ञान प्रमुख कुरा भएको बताउँछन् । उनले भने,‘अहिले डिग्री, पिएचडी पनि यहाँ नक्कली छन् । डिग्री बनेर मात्र हुँदैन । त्यो क्वालिटी पनि हुनुपर्छ । न्यूनतम शैक्षिक योग्यता तोक्ने कुरा ठिकै हो । तर, डिग्री नै चाहिन्छ भन्नु व्यवहारिक छैन।’ यस्तै अर्का राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले रास्वपाको विभागको मापदण्डमाथि टिप्पणी गर्न आवश्यक नरहेको बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप