सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बैंकको नाफा

खराब कर्जाको शिकारमा विकास बैंक : ४७ प्रतिशतसम्मले नाफा खुम्चियो

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ५ अर्ब ८१ करोड मात्रै !
सोमबार, २२ साउन २०८०, १४ : ३४
सोमबार, २२ साउन २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । कूल १७ वटा विकास बैंकहरुमध्ये राष्ट्रिय स्तरका ८ वटा बैंकहरुले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६.९३ प्रतिशतले नाफा गुमाउँदै जम्मा ५ अर्ब ८१ करोड ९२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका हुन् । 

जबकि अघिल्लो वर्ष नै बैंकहरुले ६ अर्ब ३१ करोड ३३ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाइसकेका थिए । खासगरी बैंकहरुको खराब कर्जाको दर बढ्दा नाफामा अस्वाभाविक गिरावट आएको देखिन्छ । 

उच्च बजार महँगी, आर्थिक मन्दीको चपेटामा उपभोग्य बजार नै शिथिल हुन पुग्दा प्रायः आर्थिक वर्ष २०७९/८० नै प्रभावित हुन पुग्यो । व्यक्तिको क्रय शक्ति घट्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जाको सावाँ ब्याज चलाउन सकेनन् । जसका कारण बैंकहरुको खराब कर्जा (एनपीएल) को दर उच्च गतिमा बढ्न पुग्यो । यस अवधिमा विकास बैंकहरुको खराब कर्जाको दर ४.९८ प्रतिशतसम्म पुग्यो । जसको प्रभाव समीक्षा वर्षमा विकास बैंकहरुको नाफामा ब्रेक लाग्न पुगेको छ । 

कुन बैंकको वित्तीय स्थिति के छ ?

बैंकहरुको वित्तीय रिपोर्ट अनुसार राष्ट्रिय स्तरका ३ वटा बैंकको बाहेक बाँकी ५ वटा बैंकको नाफा खुम्चिएको छ । लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घट्न पुगेको छ । 

मुक्तिनाथ विकास बैंक : विकास बैंकहरुको समूहमा यस वर्ष पनि शीर्ष स्थानमा रहँदै मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष नै १ अर्ब ३४ करोड १८ लाख ५ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष झिनो (१.६४ प्रतिशत) ले मात्र नाफा वृद्धि गर्न सकेको हो । यद्यपि, आर्थिक वर्षभित्र बैंकको खराब कर्जाको दर ०.८९ प्रतिशत मात्र रहेको बैंकको दाबी छ । 

गरिमा विकास बैंक : विकास बैंकतर्फ उत्कृष्ट व्यवसायको दोस्रो स्थानमा रहँदै गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/९० मा १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले बढी हो । 

आर्थिक वर्ष २०७८/७९ मा बैंकले १ अर्ब ३ करोड १३ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा वर्षमा आकर्षक नाफा कमाएको बैंकको एनपीएल (खराब कर्जाको दर) १.५५ प्रतिशत रहेको जनाएको छ । आर्थिक वर्षको नाफाबाट बैंकको वितरणयोग्य नाफा ५५ करोड ७२ लाख ७१ हजार रुपैयाँ रहेको छ । 

साइन रेसुङ्गा बैंक : साइन रेसुङ्गा बैंकले पनि आफूलाई अब्बल दर्जाकै बैंकको स्थानमा उभ्याउँदै आर्थिक वर्षमा २१.२९ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत वर्ष ७८ अर्ब ६८ करोड २६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । 

समीक्षा वर्षमा २ अर्ब १० करोड ९९ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब १३ करोड ३८ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकको वितरणयोग्य नाफा ४८ करोड ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

विकास बैंकहरुको आर्थिक वर्ष २०७९/८० को वित्तीय स्थिति (अङ्क हजारमा)

bikash-bank-2

नाफा घट्ने ६ वटा बैंकहरु :

लुम्बिनी विकास बैंक : लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा नै ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ कमाएको बैंकले यो वर्ष ३.८८ प्रतिशतको नोक्सान व्यहोरेको हो । 

समीक्षा वर्षमा कूल ४१ अर्ब ५६ करोड २५ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकको खराब कर्जाको दर ३.०१ प्रतिशत रहेको छ । 

ज्योति विकास बैंक : ज्योति विकास बैंकको नाफामा यो वर्ष १७.४३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नै ६७ करोड नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७९/८० मा ५५ करोड ३२ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । समीक्षा वर्षसम्ममा कूल ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकको खराब कर्जाको दर २.८६ प्रतिशत रहेको छ । 

महालक्ष्मी विकास बैंक : सबैभन्दा बढी नाफा घट्नेमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ४७.९५ प्रतिशतले घट्न पुगेको हो । यो वर्ष बैंकको नाफा घटेर ४७ करोड ९ लाख ६२ हजार रुपैयाँ सीमित हुन पुगेको छ । जबकि अघिल्लो वर्ष नै बैंकले ९० करोड ४७ लाख ९६ हजार रुपैयाँ नाफा कमाइसकेको थियो । 

२०८० असार मसान्तसम्म कूल ३७ अर्ब ३४ करोड १० लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकको खराब कर्जाको दर ३.५१ प्रतिशत रहेको छ । 

कामना सेवा विकास बैंक : कामना सेवा विकास बैंकको नाफा यस वर्ष २६.९३ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । 

४३ अर्ब ९१ करोड ३९ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको बैंकको खराब कर्जाको दर २.९८ प्रतिशत रहेको छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक : साङ्ग्रिला डेभलपमेन्ट बैंकले यो वर्ष ३८ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ४९ करोड ७ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष २१.८७ प्रतिशतले नाफा गुमाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप