शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा कुषाणकालीन इनारको उद्धार उत्खनन् गरिने

सोमबार, २२ साउन २०८०, २० : २४
सोमबार, २२ साउन २०८०

बुटवल । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा रहेको कुषाणकालीन इनारको उद्धार उत्खनन गर्ने भएको छ ।

कोषका सदस्यसचिव सानुराजा शाक्यको नेतृत्वमा स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन् गर्ने निर्णय भएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवाको अस्तित्व संकटमा परेको भन्दै स्थानीयले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेष भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्यसचिव शाक्यले बताए ।

उनले दानव नदीको कटानले इनारका रिङ बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरी लुम्बिनी संग्रहालयमा लैजाने तयारीमा जुटेको जानकारी दिए ।

कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्त्वपूर्ण बस्तु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन् गरी संग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताए ।

भारतका प्रख्यात पुरातत्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन् गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो तथा साँढे र हात्तीका आकृति लगायतका सामग्री भेट्टाएका थिए । अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप