आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाद्वारा संसद भवनबाहिर ‘संसदको अभ्यास’

बुधबार, २४ साउन २०८०, १७ : २०
बुधबार, २४ साउन २०८०

काठमाडौँ । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ । बुधवार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको बताए ।

उनले राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै प्रश्न समेत गरे । ‘गृहमन्त्रीज्युले हिजो दिनुभएको जवाफ त्यस जवाफलाई लिएर केही प्रश्न छन् । त्यसमा म केही कुरा राख्न चाहन्छु । गृहमन्त्रीजीले ३५ दिनको समय माग्नुभएको छ ।

राजश्व अनुसन्धानले गरिरहेको अनुसन्धानलाई सीआईबीमा लिएर जाने कुरा रह्यो, राज्यका निकायलाई विश्वास गरौँ । अभियोजनको प्रक्रियासम्म पुग्न दिऔँ भन्ने कुरा गर्नुभयो । गृहमन्त्रीजीलाई मेरो एउटा प्रश्न छ, कुन कानूनमा टेकेर गर्नुभयो होला, सिआईबीलाई नदिने, भनेको होइन, मैले सिआईबीलाई दिने कुराको बिरोध गरेको पनि होइन’ लामिछानेले भने, ‘कुनैपनि प्रक्रियामा जाँदा कुनै न कुनै कानुनलाई टेकेर गर्नुपर्छ । हामी कानुनी राज्यमा छौं । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला कि कुन कानुनमा टेकेर यो राजश्व अनुसन्धानबाट सिआईबीमा लैजानुभयो ।’ 

उनले सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी समेत गरे । उनले विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने बताए । उनले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताए ।

उनले सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न माग गरे । ‘सामान एउटा छ र भित्र सुन राखिएको छ । १८/१९ पटक त एउटै कम्पनीको देखियो । सुरक्षा निकायदेखि लिएर भन्सारको ठूलो सहभागिता छ ।

मन्त्रालयस्तरमा कसको छ सहभागिता म भन्न सक्दिन तर यति ठूलो तस्करीमा उच्च भन्दा उच्च तहको संलग्नता छ भन्नेकुरा कहीँ कतै कसैसामु लुकेको छैन । अहिले अनुसन्धान गरिरहरँदा अहिले बहाल रहेको सचिव स्तरका हुन् वा प्रहरी प्रमुख नै किन नहुन्, उहाँहरुको कुनै न कुनै संलग्नता छ कि छैन भन्ने कुरा शंकाको विषय भयो’ उनले भने, ‘भन्सारको होल सेटबाहेक केही मानिसलाई मात्र हटाएर यो अनुसन्धान अघि बढाउँदा यो अनुसन्धानमा कतिको न्याय होला । फोरेन्सिक ल्याबबाट आएको रिपोर्ट आम नेपाली जनताले हेर्न पाउनुपर्छ, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरियोस् ।’

इतिहासमै यो सबैभन्दा ठूलो अपराध भएको बताउँदै उनले यो लामो समयदेखि निरन्तर चलिरहेको समेत बताए । लामिछानेले भने, ‘एउटै कम्पनीले यति धेरै सुनहरु ल्यायो । यसको मतलव विभिन्न निकायको मिलोमतो छ । यस्तो मिलेमतो गर्दा सुरक्षा निकायको मिलेमतो नहुने त कुरै रहेन । सुरक्षा निकायको मिलेमतो र मुलुककै यति ठूलो तस्करीको कुराकानी गर्दा सामान्य त्यहाँ भएका कर्मचारीले मात्रै यो सम्भव भएन । जहाँ अनुसन्धानले छापा मार्यो त्यहाँ भएका सामानहरु हेर्ने हो भने विभिन्न सामानहरु आएका छन् । 

त्यस्तै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण संसद चल्न नसकेको बताए । उनले राजनीतिमा रजाईं गरिरहेका सत्तासिन दलहरुका कारण नै संसद बन्धक बनेको बताए । प्रमुख सचेतक परियारले अहिलेका राजनीतिकहरुले नै लोकतन्त्रमाथि धोका दिइरहेको बताए ।

‘लामो संघर्षबाट स्थापित गरिएको यो व्यवस्थामा तपाई हामी सबैले देखेका छौँ, बारबार राजनीतिक पार्टीहरुले यो व्यवस्थाउपर धोखाधडी गर्दै आएका छन् । आज तेस्रो दिन पनि संसद चल्न सकेन । हामीले जनताका मुद्दा लिएर आएका थियौँ’ परियारले भने, ‘अहिले बाढी पहिरोले जनता हराएका छन् । कतिको मृत्यु भएको छ । बाढीले विचलित छन्, तर राजनीतिक पार्टीका आफ्ना स्वार्थका कारण आज पनि संसद चलेन । हाम्रो यसमा घोर विमति छ ।’ 

पार्टीकी सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताइन् । उनले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन् । भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने । जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन । अब समाजलाई जोड्नुपर्छ । संवेदनशील हुनुपर्छ । सामाजिक आक्रोश कम गर्नुपर्छ ।’

सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको दाबी गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप