पूर्वकप्तान मल्ल र राजदूत आचार्यबीच लन्डन दूतावासमा भेटघाट
लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लन्डनस्थित नेपाली दूतावास पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेका छन् ।
बुधबार भएको भेटमा मल्लले बेलायतका नेपालीहरूले क्रिकेटमा देखाएको रुचि र सक्रियताप्रति आफू सन्तुष्ट रहेको बताउँदै क्रिकेट खेललाई अझ प्रभावकारी र व्यवस्थित बनाउन दूतावासलाई विशेष पहल गर्न आग्रह गरेका हुन् ।
बेलायतका विभिन्न काउन्टीमा आयोजना हुने गरेका क्रिकेट खेललाई एकै ठाउँमा ल्याउन सकेमा बेलायती नेपाली समुदायमा क्रिकेट खेलले फड्को मार्ने उनको धारणा थियो । नेपालमासमेत अन्डर १९ क्रिकेट खेलमा सहभागी भइसकेका राम्रा खेलाडीहरू बेलायतमा धेरै जना रहेकाले बेलायतमा क्रिकेटको बलियो सम्भावना देखेको मल्लले बताए ।
सम्भव भएसम्म नेपालबाट पनि खेलाडी ल्याएर खेलाउन सके खेलको स्तर वृद्धिका साथै खेलाडीको पनि मनोबल बढ्न सक्ने धारणा राख्दै दूतावासले पनि सहयोग गर्नुपर्ने धारणा मल्लको थियो ।
राजदूत आचार्यले बेलायतमा लामो समयदेखि क्रिकेट खेल खेलिँदै आएको भए पनि पछिल्लो समयमा थप चासो बढेको बताउँदै आफू र दूतावासको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए । विभिन्न काउन्टीमा खेलिने खेललाई एकै ठाउँमा ल्याउन सके अझ प्रभावकारी हुने बताउँदै राजदूत आचार्यले सम्बन्धित क्षेत्रबाट पनि पहल हुन आवश्यक रहेको बताए ।
गोर्खा कम्युनिटीसमेत क्रिकेटमा संलग्न रहेको हुँदा ऐतिहासिक सम्बन्धलाई जोडेर क्रिकेटलाई अघि बढाउन थप प्रभावकारी हुने उनले बताए । राजदूतले क्रिकेट खेललाई दूतावासले पहिला पनि चासो दिंदै आएको तर कोभिड १९ का कारण अघि बढाउन नसकिएको बताउँदै भावी दिनमा दूतावासले सहयोग गर्ने बताए ।
कार्यक्रममा राजदूत आचार्यसहित द्वितीय सचिव रामबाबु नेपाल र मिलिट्री अटयाची रत्नबहादुर गोदार उपस्थित थिए । द्वितीय सचिव नेपालले नेपाली क्रिकेटप्रति आफ्नो सहानुभूति रहेको बताउँदै क्रिकेट खेललाई अघि बढाउन आफ्नो तर्फबाट पनि पहल गर्ने बताए ।
क्रिकेटर तथा व्यवसायी राज पाण्डेले नेपाली क्रिकेट खेलाडीलाई सहयोग गर्न आफ्नो कम्पनीले आर्थिक रूपमा समेत सहयोग गर्दै आएको र भावी दिनमा पनि निरन्तरता दिने बताए ।
हालै भएको दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेटका मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईले क्रिकेट खेललाई बेलायतका टिममा मात्र सीमित नराखी युरोपसम्म लैजाने प्रयासमा आफूहरू रहेको र यस पटक समय अभावका कारण सम्भव नभएको बताए ।
दूतावासमा भएको भेटघाट कार्यक्रममा पूर्व कप्तान मल्लसहित स्थानीय क्रिकेटरहरू प्रकाश गुरुङ, राज पाण्डे, विधान गिरी, गाम गुरुङ, सोम मगर, अभिषेक भट्टराई, बेलायत भ्रमणमा रहेका मनमोहन टेक्निकल युनिभर्सिटीका कार्यकारी परिषद् सदस्य तथा उद्योगी मुकेश उपाध्याय र नेपाल पत्रकार महासंघ बेलायतका महासचिव नरेन्द्र बस्नेतको सहभागिता थियो । उक्त भेटघाट संयोजन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एवम् क्रिकेट शुभचिन्तक राजन खकुरालले गरेका थिए ।
अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिए लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान मल्ल लन्डन उडेका थिए । भोलिपल्ट लन्डन आएपछि उनी भेटघाटमा व्यस्त रहे । आइतबार उनी नेपाली समुदायद्वारा आयोजना गरिएको ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगितामा विशेष अतिथिका रूपमा सहभागी भए ।
सोमबार बेलायतको मिडल्यान्डमा बर्सेनि हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिगको प्रमुख अतिथिको रूपमा सहभागी भए । क्रिकेट खेललाई बेलायती नेपालीलगायत विदेशी टिममा समेत सहभागी गराउने लक्ष्यसहित उनले विभिन्न पहल गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण