एमाले सांसदले भने–हाम्रो आयु ५/७ महिनामात्रै होला
विराटनगर । नेकपा एमालेका कोशी प्रदेशसभा सांसद राम राना मगरले प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताएका छन् । कोशी प्रदेशसभामा विशेष समय लिएर बोल्दै उनले प्रदेशसभा विघटनको संकेत गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो आयु लामो छैन । ५/७ महिना होला । यो प्रदेशको स्थायित्वतर्फ गम्भीर ध्यान दिन सकिएन भने हाम्रो आयु मात्रै होइन प्रदेशकै आयु लामो छैन,’ उनले भने, ‘दलहरुले जसरी छलफल अगाडि बढाउनु पर्ने हो त्यसमा हामी चुक्दैछौं । आर्थिक शून्यतातिर जाने खतरा पनि त्यतिकै छ । हामी त्यसतर्फ कति छलफल गरेर वातावरण बनाउँदैछौं ? ।’
उनले सबै राजनीतिक दलहरुले सँगै बसेर छलफल गर्ने वातावरण नबनाए यो प्रदेशकै आयु अन्तिम आयु हुने खतरा रहेको पनि बताए ।
‘सरकार ढाल्ने र गिराउने मात्रै खेलमा लाग्ने हो भने जनताले गाउँमै जान नदिने परिस्थिति बन्न सक्छ । अर्को महिना कर्मचारीले तलब नपाउने अवस्था बन्दैछ । यस्तो परिस्थिति बन्न नदिनका लागि छलफल र विश्वासको वातावरण बनाऊँ । आर्थिक शून्यतातर्फ मुक्त गर्नेतर्फ अगाडि बढौं,’ उनले भने ।
उनले धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्ने अवस्थामा पुगेको छ कि छैन भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेको छ कि छैन भन्दै प्रश्न गरे ।
‘लम्पी स्किन रोगले हजारौं गाईबस्तु मर्यो । खोपको उचित आपूर्ति भयो । तर, लम्पी स्किन रोग लागिसकेका चौपायाले दूध तथा मासु उत्पादन पहिले जस्तो भएको छैन । पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले के गर्दैछ ? अबको योजना के छ ? हाम्रो आर्थिक क्षति कति भयो ? हामीले राम्रोसँग कर्तव्य निर्वाह गर्न किन सकेनौं,’ उनले भने, ‘यस कारण हामी फेल भयौं ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण