प्रदेशसभा बैठक छलेर उपसभामुख दनुवार लागिन् काठमाडौँ, संकटमा सरकार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठक छलेर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी हुन् । उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा आइतबारका लागि समय माग गरेका थिए । थापाको माग विपरीत उपसभामुख दनुवारले भने सोमबार (आज)का लागि समय तय गरेकी थिइन् । उनै दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएकी थिइन् ।
यहीबीच थापालाई विश्वासको मत लिन नदिनका लागि एमालेले उपसभामुखलाई अनुपस्थित गराउने आशङ्का गरिँदै आएको थियो । उक्त आशङ्कालाई बल पुग्ने गरी उपसभामुख दनुवार प्रदेशसभाको बैठकै छलेर काठमाडौँ लागेकी हुन् ।
यसअघि हिजै एमालेले ७ जना र राप्रपाले २ जना प्रदेशसभाका ज्येष्ठ सदस्यहरूलाई बिदामा बस्न लगाएको छ । उनीहरूले ‘घरायसी समस्या’ देखाउँदै संसद् सचिवालयमा आजको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जनाएका छन् ।
थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । उपसभामुखले राजीनामा दिएको वा अनुपस्थित भएको अवस्थामा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेको हो । सभा सञ्चालन गठबन्धन दलकै सांसदले गर्नुपर्ने अवस्था आए मुख्यमन्त्री थापालाई बहुमत (४७) सङ्ख्या पुर्याउन कठिन हुनेछ । सत्तापक्षमा रहेका ४७ सांसदमध्ये १ सांसदले सभा सञ्चालन गर्नुपरेको अवस्थामा गठबन्धनलाई १ सांसद अपुग हुने देखिन्छ ।
कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो भने प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । एमाले थापा नेतृत्वको सरकार ढालेर पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण