आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा बक्सिङमा नेपाललाई दुई कांस्य

मङ्गलबार, ०५ भदौ २०८०, २० : ३५
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । ब्राजिलको रियो दी जेनेरियोमा सुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड-२०२३’ मा नेपालले बक्सिङबाट दुईवटा कांस्य पदक जितेको छ । ओलम्पिक पार्कमा सम्पन्न खेलमा प्रकृति थापाले ५१ केजी तौल समूहमा र शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समूहमा कांस्य पदक जितेका हुन् ।

दुवै खेलाडीहरुले क्वार्टरफाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्धन्दीसंँग कडा प्रतिस्पर्धा गरे पनि जित भने हात पार्न सकेनन् । तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरे पनि पहिलो राउन्डमा उनी पछि परेका थिए ।

गत वर्ष काठमाडौँमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । उनका प्रशिक्षक प्रकाश थापामगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए । प्रकृति भने सेमीफाइनलमा क्रोयसियाकी खेलाडीसँग ’आरएससी’ आउट हुन पुगेकी हुन् । पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाएपछि दोस्रो राउन्ड खेल्न पाइनन् ।

यसैगरी बास्केटबलतर्फ महिला थ्री अन थ्री स्पर्धामा चिलीसँग पराजित भएपछि नेपाल बाहिरिएको छ । पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागी नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् । १८ खेलमध्ये नेपालले पाँच खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ ।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईएसएफ) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिखसम्म आयोजना हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप