आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मन्दीको असर

कैलालीमा ३ वर्षमा ५४७ उद्योग बन्द, सञ्चालकहरू पलायन

बुधबार, ०६ भदौ २०८०, ०८ : १६
बुधबार, ०६ भदौ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र कैलालीमा आर्थिक तथा व्यापारिक गतिविधिमा कमी आएको देखिएको छ । यहाँ दर्ता भएको उद्योगहरु धमाधम बन्द हुन थालेपछि व्यापारिक गतिविधिमा गिरावट आएको हो ।

कैलालीमा साना तथा घरेलु उद्योगको संख्या १५ हजार ९१ पुगेको छ । तर पछिल्लो ३ वर्षयता ५४७ वटा उद्योग बन्द भएको साना तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी र कच्चा पदार्थको उपलब्धता नभएको लगायतका कारण देखाएर उद्योग बन्द गरिएका हुन् ।

सो कार्यालयको तथ्याङ्अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १४०, २०७८-०७९ मा १७५ र २०७९-०८० मा २३२ उद्योग बन्द भएको छ ।

बन्द हुनेमा अधिकांश कृषिमूलक, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटनमूलक उद्योग रहेकाछन् ।
साना तथा घरेलु उद्योग कार्यालय कैलालीका प्रमुख कोमलप्रसाद ओझाले उद्योग दर्ता खारेजी फाराममा प्रायः उद्योग बन्द गर्नु परेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेर कारण विदेश गइरहेको, उद्योगले पारिवारिक समस्या झन् बढेको, उद्योगका लागि स्थानीयस्तरका कच्चा पदार्थ नपाइएको, बाहिरबाट कच्चा पदार्थ ल्याउँदा महँगो भएको लगायतका कारण उल्लेख भएको बताए ।

ओझाले भने, ‘उद्योग बन्द गर्ने उद्यमीको समस्या प्रायः समान खालका छन् । उद्योग बन्द गरेर विदेश गइरहेको, उद्योग सञ्चालन गर्न लिएको ऋण तिर्न नसकेर पारिवारिक समस्या उत्पन्न भएको, जताततै कर तिर्नु परेको लगायतका समस्या उद्योगीले उल्लेख गरेका छन् । हामीले उद्योग बन्द गर्नुपरेको कारणको विश्लेषण गर्दैछौं ।’ साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिडपछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । 

२०७७-०७८ मा दुई हजार ९६८, २०७८-०७९ मा दुई हजार ४३७ र २०७९-०८० मा एक हजार १९७ वटा उद्योग गर्दा भएको कार्यालयले जनाएको छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकहरूले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको कार्यालय प्रमुख ओझाले बताए ।

उनले उद्यमतिर युवालाई आकर्षित गर्ने कार्यक्रम सरकारले राखेको भए पनि उद्योग स्थापना र सञ्चालनका लागि पुँजी अभाव भएको कारणले उद्योग दर्ता र नवीकरण हुने क्रम घट्दो अवस्थामा पुगेको बताए ।

लगानी प्रस्ताव २४ अर्ब ५२ नाघ्यो
हालसम्म कैलालीमा उद्योग लगानी प्रस्ताव २४ अर्ब ५२ करोड ४६ लाख १९ हजार ७२१ पुगेको छ, जहाँ १५ हजार ९१ वटा साना उद्योग सञ्चालनमा छन् । ती उद्योगले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

तीमध्ये आठ हजार ५८ जना महिला छन् । ती उद्योगका १६ हजार २७४ जना उद्यमीमध्ये पाँच हजार ९४५ जना महिला छन् । तथ्याङ्कअनुसार कैलालीमा सबैभन्दा बढी कृषिमूलक उद्योग ६ हजार १३५ छ । 

त्यसपछि सेवामूलक पाँच हजार ३८५ वटा र तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगको संख्या तीन हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग दुईवटा छन् । सूचना प्रविधिमूलक उद्योग नौवटा र निर्माणमूलक उद्योग दुईवटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

संख्याको आधारमा तेस्रो स्थानमा रहेको उत्पादनमूलक उद्योगहरूले सबैभन्दा बढी २९ हजार ३१४ जनालाई रोजगारी दिएका छन् भने सेवामूलक उद्योगले २५ हजार ६३३ जना र कृषिमूलक उद्योगले २० हजार ८६९ जनालाई रोजगारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप