शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूको संयोजकका लागि पन्त र लामाको दाबेदारी

बुधबार, ०६ भदौ २०८०, १६ : २१
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले नेतृत्व परिवर्तनको तयारी थालेको छ । वर्तमान अध्यक्ष सुदेश पराजुली नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन् । यससँगै २३ औँ राष्ट्रिय अधिवेशन आयोजक कमिटी गठनको तयारी गरिएको छ । 

त्यसका लागि अनेरास्ववियूले भदौ ८ र ९ गते केन्द्रीय स्थायी कमिटी बैठक बोलाएको छ । उक्त बैठकले सङ्गठन निर्माण, विद्यार्थी आन्दोलनको कार्यदिशा र शैक्षिक सवालहरूमा छलफल गर्नुका साथै आयोजक कमिटी समेत गठन गर्नेछ । 

उक्त आयोजक कमिटीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष माधव पन्त र महासचिव आरती लामा आकाङ्क्षी देखिएका छन् । त्यस्तै उपाध्यक्ष हिरेन्द्र शाही र केशरी रेग्मी समेत संयोजकको आकाङ्क्षी देखिएका छन् । 

संयोजक बाहेक सह–संयोजक र अन्य पदमा समेत धेरै नेताहरूले दाबी गरेका छन् । आयोजक कमिटीले ३/४ महिनाभित्रमा अधिवेशन आयोजना गर्ने जिम्मेवारी पाउनेछ । र त्यही अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । 

सहमतिकै आधारमा आयोजक कमिटीको संयोजक चयन गर्ने रणनीति अनेरास्ववियूले लिएको छ । तर, सहमति हुन नसकेको खण्डमा स्थायी कमिटीबाट निर्वाचन प्रक्रियामार्फत संयोजक निर्वाचित हुनेछ । 

नेकपा (एमाले) र माओवादी केन्द्रको एकतासँगै २२ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नबिना लामा र अखिल (क्रान्तिकारी) बीच एकता भएको थियो । 

अदालतको निर्णय अनुसार एमाले र माओवादी विभाजन भएसँगै विद्यार्थी सङ्गठनहरू पनि विभाजित भएका थिए । तत्कालीन एमालेभित्र विद्रोह नहुँदै ऐन महर नेतृत्वको अनेरास्ववियुबाट पराजुलीले विद्रोह गरेका थिए । र अनेरास्ववियूको नेतृत्व लिएका थिए । 

अनेरास्ववियूको कमिटी बनेको २ वर्षपछि राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । 

पराजुली नेतृत्वमा आएदेखि नै सङ्गठनभित्र लामा पक्षको निरन्तर असहयोग रहँदै आएको थियो । भने पन्तले पराजुलीलाई निरन्तर सहयोग गर्दै आएका थिए । सङ्गठन भित्रको गुटबन्दीका कारण सङ्गठन विस्तारले गति लिन सकेको थिएन । सङ्गठन भित्रको विवाद पार्टीसम्म पुगेको थियो । र पार्टीले भदौ महिनाभित्र आयोजक कमिटी बनाउन निर्देशन दिएको थियो । सोही आधारमा स्थायी कमिटी बैठक बोलाएर आयोजक कमिटी बनाउन लागिएको हो । 

अनेरास्ववियूको आन्दोलन र सङ्गठन निर्माणमा पन्त र लामा चर्चित अनुहार हुन् । पार्टीभित्र र सङ्गठनभित्र धेरै रोजाइमा पन्त पर्दै आएका छन् । विचार सिद्धान्त र कार्यदिशामा प्रस्ट पन्त प्रविधि मैत्री र लेखनकलामा सङ्गठनभित्र अब्बल मानिन्छन्

कञ्चनपुर घर भएका पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि गर्दैछन् । सर्लाही घर भएकी लामा त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शनमा स्नातकोत्तर गर्दै छिन् ।

केन्द्रीय पदाधिकारीसहित २७५ सदस्यीय स्थायी कमिटीको बैठकले आयोजक कमिटी गठन गर्नेछ ।

यसअघि प्रकाशित समाचार संशोधन गरिएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप