शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

केएल राहुल र श्रेयस ऐयर एसिया कप टोलीमा परेपछि कपिल देव रुष्ट

बिहीबार, ०७ भदौ २०८०, १७ : ४२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण खेल्ने भारतीय टोलीमा परेका केही खेलाडीको विषयलाई लिएर भारतका पूर्व कप्तान कपिल देवले आपत्ति जनाएका छन् । उनले स्वास्थ्य समस्यासँग जुधिरहेका खेलाडीलाई एसिया कपजस्तो महत्त्वपूर्ण प्रतियोगिताका लागि टोलीमा समावेश गरिएको भन्दै कपिल देवले आपत्ति जनाएका हुन् । 

एसिया कपको आगामी संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । भारतलाई पहिलो पटक एक दिवसीय विश्वकपको उपाधि जिताउने कप्तान हुन्, कपिल देव । उनले खासगरी केएल राहुल र श्रेयस ऐयरको विषयलाई लिएर आपत्ति जनाएका हुन् । 

भारतले एसिया कपका लागि टोली घोषणा गर्नुअघि केएल राहुल र ऐयरको विषयलाई निकै चर्को विवाद थियो । लामो समयदेखि घाइते रहेका यी दुई खेलाडीको स्वास्थ्य अवस्थालाई लिएर थुप्रै पूर्व खेलाडीले प्रश्न उठाउने गरेका थिए । 

तर, चिकित्सकले दुवै खेलाडी एसिया कप खेल्न तयार रहेको बताएपछि उनीहरूलाई १७ सदस्यीय भारतीय टोलीमा समावेश गरिएको थियो । यसका अतिरिक्त चिकित्सकले जसप्रति बुमराहलाई पनि एसिया कपका लागि टोलीमा समावेश गर्न सकिने सुझाव दिएका थिए । तर, कपिल देवले बुमराहको विषयमा भने प्रश्न उठाएका छैनन् । 

घाइते भएका कारण लामो समय मैदान बाहिर रहेका केएल राहुल र ऐयर पछिल्लो समययता नियमित अभ्यासमा फर्किएका थिए । कपिल देवले भने उनीहरू अझै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न तयार नरहेको टिप्पणी गरेका छन् । ‘नियमित अभ्यासमा फर्कनु, घरेलु प्रतियोगिता खेल्नु र एसिया कपजस्तो ठुलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु फरक विषय हो,’ उनले भनेका छन् ।

कपिल देवले खेलका क्रममा केएल राहुल र ऐयरको स्वास्थ्यमा पुनः समस्या देखिए त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न पनि गरेका छन् । ‘खेलको बीचमा उनीहरू पुनः घाइते भए भने हाम्रो अवस्था कस्तो होला ? अझ पाकिस्तानविरुद्दको खेलमा यस्तो समस्या आए के हुन्छ ?,’ उनले प्रश्न गरेका छन् ।

कपिल देवका अनुसार, घाइते खेलाडीलाई पूणर्रुपमा स्वस्थ्य नभई एसिया कप, विश्वकपजस्ता ठुला प्रतियोगिताका लागि टोलीमा समावेश गर्नु भनेको नयाँ र प्रतिभाशाली खेलाडीमाथि अन्याय गर्नु हो । ‘हामीसँग नयाँ र प्रतिभाशाली खेलाडीहरूको कमी छैन । यसका बाबजुद हामी ठुला प्रतियोगितामा घाइते खेलाडीलाई खेलाउन चाहन्छौँ भने त्यो कुनै पनि हालतमा जायज हुन सक्दैन,’ उनले भनेका छन् । 

आगामी एसिया कपमा भारतीय टोली नेपाल र पाकिस्तानसँगै समूह ‘ए’ मा परेको छ । भारतले आफ्नो पहिलो खेल सेप्टेम्बर २ तारिखमा पाकिस्तानसँग खेल्दैछ । उक्त खेल श्रीलङ्कामा खेलिने छ । त्यसपछि भारतले आफ्नो दोस्रो खेल सेप्टेम्बर ४ तारिखमा नेपालसँग खेल्नेछ । त्यो खेल पनि श्रीलंकामै खेलिने छ । त्यसअघि अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । त्यो खेल पाकिस्तानको मुल्तानमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप