सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अध्यागमनको एक्सन

नेपालबाट ‘डिपोर्ट’ हुने विदेशीको सूचीमा चिनियाँ धेरै (भिडियो रिपोर्ट)

शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । नेपालबाट ‘डिपोर्ट’ हुने विदेशी नागरिकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ को जनवरीयता मात्रा ५ सय ७० जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् । 

समय समयमा नेपाली नागरिकहरू तेस्रो मुलुकहरूबाट डिपोर्ट भएर स्वदेश फिर्ता हुने गरेका छन् । यद्यपि नेपालमा आउने विदेशी नागरिकहरू पनि उसैगरी डिपोर्ट हुने गरेका छन् । 

विशेष गरी ‘ओभर स्टे’ अर्थात् भिसा अवधिभन्दा लामो समय नेपाल बस्नेदेखि लिएर विभिन्न अपराध, लागू पदार्थ दुर्व्यसन जस्ता कारणले विदेशी नागरिक डिपोर्ट हुने गरेको अध्यागमन विभागका प्रवक्ता खिमराज भुसालले बताए । 

तथ्याङ्क अनुसार सबैभन्दा बढी डिपोर्टमा पर्नेमा भिसा म्याद सकिएर बसेकाहरूको सङ्ख्या रहेको छ । सन् २०२२ जनवरीबाट अहिलेसम्मको तथ्याङ्कमा भिसा म्याद सकिएर डिपोर्ट हुनेको सङ्ख्या ५३४ रहेको छ । त्यसैगरी अध्यागमन अपराधमा परेर डिपोर्ट हुनेको सङ्ख्या ११, लागू पदार्थ दुर्व्यसनका कारण पाँच, वैदेशिक मुद्रा अपचलनमा चार, हत्या प्रयासमा तीन, राजस्व चुहावटमा तीन, बैङ्किङ कसुर तथा फ्रडमा दुई दुई जना तथा मानव बेचबिखन, अपहरण, मनी लन्ड्रिङ, साङ्गठनिक अपराध, यौन अपराध र सन्दिग्ध आचरणका कारण एक एक गरी कुल ५७० जना विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन् । 

विगत सात वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी विदेशी नागरिक सन् २०१८ मा डिपोर्ट भएका छन् । उक्त वर्ष ६७८ जना डिपोर्ट भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा ५५९, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ मा ३०८ जना डिपोर्ट भएका छन् । यो सङ्ख्या सन् २०२२ मा आउँदा बढेर ५७० पुगेको छ । 

नेपालबाट यसरी डिपोर्ट हुनेको तथ्याङ्क हेर्दा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । त्यसपछि क्रमशः अमेरिका, बेलायत, फ्रान्स, पाकिस्तान, दक्षिण कोरिया र क्यानडाका नागरिक छन् । 

राजस्व सङ्कलनबाट राज्य कोषमा ठुलो योगदान पु¥याउँदै आएको अध्यागमन विभागमा डिपोर्ट हुने विदेशीहरूको सङ्ख्याले पनि प्रभाव पार्ने गरेको छ । यस बारेमा प्रवक्ता भुसाल भन्छन्, ‘हामी कोही पनि विदेशी नागरिकलाई  डिपोर्ट गर्नु नपरोस् भन्ने पक्षमा रहे पनि कानुनको पालना नगरेका लागि कारबाही गर्नैपर्ने हुन्छ । त्यसले राज्य कोषमा पनि योगदान पु¥याएको देखिन्छ’, भुसाल थप्छन्, ‘अघिल्लो आर्थिक वर्षमा मात्रै ४ अरब राजस्व सङ्कलनमा यस विभागको भूमिका निर्वाह गरेको छ । यद्यपि कोभिड–१९ लगायतका केही वर्षमा भने यो रकम आधा रकमले कम रहेको थियो ।’

अध्यागमन ऐन, अध्यागमन नियमावली र अध्यागमन कार्यविधि २०६५ ले विदेशी नागरिकलाई नेपाल आउन रोक लगाउने व्यवस्था पनि गरेको छ ।  जस अनुसार भिसा सकिएर एक वर्षभन्दा कम ‘ओभर स्टे’ गरेकाहरूको हकमा सोही वर्षका लागि नेपाल आउन रोक लगाइने छ । 

त्यसैगरी त्योभन्दा बढी ओभर स्टेको अवस्थामा दुई वर्ष र ५ वर्षसम्म नेपाल आउन नपाउने गरी देशबाट निष्कासन गर्न सकिने कानुनी व्यवस्था रहेको छ । 

यस्तै नेपालबाट विदेशमा डिपोर्ट हुने तथ्याङ्क मात्र नभएर विदेश पुगेका नेपाली स्वदेश नेपाल डिपोर्ट हुनेको सङ्ख्या पनि पछिल्लो समय बढ्दै गएको विभागका प्रवक्ता भुसाल बताउँछन् । खास गरेर सम्बन्धित देशमा कालोसूचीमा परेको तर नेपालमा भने त्यो तथ्याङ्क नदेखिने र विदेश पुगिसकेपछि थाहा भएर वा भिसासम्बन्धी विभिन्न समस्याका कारण नेपालीहरू डिपोर्ट हुने गरेका छन् । योसँगै अन्य सम्बन्धित देशको कानुन उल्लङ्घन भएर पनि नेपालीहरू डिपोर्टमा पर्ने गरेका छन् । यद्यपि नेपालीहरू कुन देशबाट के कारणले डिपोर्ट हुन्छन् र डिपोर्ट हुनेको सङ्ख्या कति छ भने तथ्याङ्क भने अध्यागमन विभागसँग छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया