शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सम्पत्तिको अधिकार कुकुरलाई हस्तान्तरण गर्दा जेल सजाय

शनिबार, ०९ भदौ २०८०, १४ : ०४
शनिबार, ०९ भदौ २०८०

सम्पत्तिको अधिकार पाल्तु कुकुरलाई हस्तान्तरण गर्दा एक व्यक्तिले जेल सजाय भोग्नुपरेको छ । इरानको प्रोपर्टी एजेन्सीका प्रमुखलाई एक दम्पतीको अपार्टमेन्ट कुकुरको नाममा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै पक्राउ गरिएको छ । 

नाम नखुलाइएका ती व्यापारीको रियल स्टेट फर्म पनि यसै महिना बन्द गरिएको छ । यस्तो अचम्मको सम्पत्ति हस्तान्तरण गराएको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनी विरुद्ध यस्तो कारबाही गरिएको हो । भिडियोमा देखिए अनुसार एक व्यक्तिले केही कागजातहरू तयार पारिरहेको देख्न सकिन्छ । त्यसमा एक जोडीले हस्ताक्षर गरेको र त्यसपछि त्यसमा कुकुर चेस्टरलाई पनि हस्ताक्षर गर्न लगाइएको छ । खासमा कुकुरलाई भने औँठाछाप गर्न लगाइएको छ । त्यसैलाई हस्ताक्षर भनेर मानिएको छ । 

उक्त भिडियोमा ती एजेन्टले सम्पत्तिबारे व्याख्या गरिरहेको बताइएको छ । सम्झौता भएपछि चेस्टरका मालिकले एक–अर्कालाई अँगालो हालेको देख्न सकिन्छ, त्यसपछि उनीहरुले कुकुरलाई बधाईसमेत दिएका छन् । तर इरानी अधिकारी उनीहरूको खुसीमा खुसी भएनन् । 

सम्पत्ति अधिकार हस्तान्तरणको फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि नै सम्पत्ति अधिकार हस्तान्तरण गर्ने रियल–स्टेट एजेन्सीका मालिकलाई समाजको नैतिक मूल्यमान्यताको उल्लङ्घनलाई सामान्य बनाएको र कानुनी आधार बिना सम्झौतालाई अधिकृत गरेको आरोपमा पक्राउ गरिएको हो । 

‘प्रहरीले रियल स्टेटका प्रमुखलाई पक्राउ गरी उनको कार्यालय बन्द गरेको छ,’ नायब अभियोजक जनरल रेजा टेबारले भने ।

इरानका रूढिवादी धर्मगुरुले कुकुर पाल्ने विषयलाई नकारात्मक दृष्टिकोणले हेर्छन् किनभने जनावरलाई त्यहाँ अशुद्ध मानिन्छ । त्यसैले यो व्यवहारलाई गम्भीर अपराधको रूपमा हेरिएको छ । तेहरानको सिटी काउन्सिलले पनि जनावरलाई ‘प्रमुख समस्या’ भन्दै सार्वजनिक स्थलमा प्रतिबन्ध लगाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप