शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
गाईजात्रा विशेष

कस्तो होला गजुरेलको मदन भण्डारी अवतार ?

कार्यक्रम हेरिसकेर मलाई दर्शकले रियल मदन भण्डारी भन्ने छन् : मनोज गजुरेल
बुधबार, १३ भदौ २०८०, १० : ४०
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । हरेक वर्षको गाईजात्रालाई विशेष बनाउँछन् कलाकार मनोज गजुरेल । किनभने गाईजात्रामा उनी कुनै न कुनै नयाँ पात्र र गेटअपमा देखिन्छन् । यस वर्षको उनको गाईजात्रा कार्यक्रम ‘८० सालको गाईजात्रा’ शनिबार विराटनगरदेखि सुरु भएको छ । जसमा उनी एक विशेष पात्र र गेटमा देखिएका छन् । ती हुन् – राजनीतिज्ञ मदन भण्डारी ।

हुन त यो वर्ष उनको प्रस्तुति नेता भण्डारीबाहेक अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्क र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि छ ।

तीन पात्रमध्ये उनको स्वर्गीय मदन भण्डारीको पात्रको चर्चा राम्रो हुन थालेको छ । पहिलो चरणमा विराटनगर, बर्दिबास र चन्द्रनिगाहपुर गरिएको कार्यक्रममा भण्डारी पात्रले राम्रो चर्चा पाएको छ । 

दोस्रो चरणको कार्यक्रम काठमाडौंको प्रज्ञा प्रतिष्ठान १४ देखि १७ भदौसम्म हुनेछ । 

तेस्रो चरणको भने २२ गते दाङ र २३ गते बुटवलमा हुनेछ । सबै चरणको कार्यक्रममा दर्शकले उनको तीनवटै पात्रको गेटअप देख्न पाउनेछन् ।

भण्डारी पात्रको गेटअपमा उनको बीपी कोइरालासँग संवाद छ । यो संवाद उपत्यका बाहिरका दर्शकले अत्यधिक रुचाएका छन् । बीपी पात्रको रूपमा उनलाई चक्र दुवाडीले साथ दिएका छन् । 

सिस्नुपानीका सदस्यसमेत रहेका दुवाडी ब्यावसायिक कलाकार त होइनन् तर उनको हुलिया ९० प्रतिशत बीपीसँग मिल्ने भएकोले गजुरेलले उनलाई बीपीको रूपमा उभ्याएका हुन् । 

गाईजात्राका लागि मनोजले आखिर किन छाने दिवगंत नेता भण्डारी र कोइराला ?

manoj gajurel (2)

विशिष्ट पात्रको खोजी

‘म हरेक पटक नयाँ र विशिष्ट पात्र खोज्ने गर्छु । नेपाली राजनीति र समाजका मैले निर्वाह गर्ने सम्भवतः पात्र सकियो । फेरि दोहोर्‍याउनु भन्दा नयाँ दिनुपर्छ भनेर खोज्ने क्रममा बीपी र मदन परे’, गजुरेलले भने, ‘अर्को कार्यक्रममा अहिलेको राजनीतिक वितृष्णा, राजनीतिक पार्टीहरूको एजेन्डा र उनीहरूको कामको बीचको नमिल्दो तालमेल व्यङ्ग्य गर्नुपर्ने थियो । व्यङ्ग्यका लागि तिनका मार्गनिर्देशन गर्ने नेता खोज्ने क्रममा बीपी र मदन रोजेँ ।’ 

राजनीतिक हिसाबले कुनै पार्टीको एजेन्डा नराम्रो छैन । तर, काम गर्ने कुरामा कहाँ चुक भयो भनेर राम्रो म्यासेज दिन र यी पात्रमा न्याय गर्न सकिन्छ भन्ने हिसाबले पनि रोजेको गजुरेलले सुनाए ।

स्वर्गीय कोइराला र भण्डारी नेपाली राजनीतिका सम्मानित पात्र हुन् । यी पात्रलाई धेरै राजनीतिज्ञले आफ्नो आदर्श ठान्छन् । यस्ता पात्रलाई व्यङ्ग्यमा जोड्नु चुनौतीको काम हो । कसरी प्रस्तुत गरियो होला यी पात्रलाई कार्यक्रममा ? सबैको मनमा प्रश्न उब्जन्छ ।

‘यी दुई पात्रको स्वर्गलोकमा भेट हुँदा उनीहरुले अहिलेका आफ्ना चेला चपेटलाई भन्नुपर्ने गाली र दिनुपर्ने उपदेश विषय बनेको छ’, गजुरेलले व्यङ्ग्यको थप विषय खोले, ‘हामीले राजनीतिक नेताहरु आदर्शबाट च्युत भएका कुरा, इमान बेचेर केवल सत्ता टिकाउन गरेको खेल लगायत सबै विषय समेटेका छौ ।’ उनले भने ।

व्यङ्ग्यमा भण्डारीको हत्या हो कि दुर्घटना हो भन्ने विषयसमेत सरल रूपमा राखिएको गजुरेलले जानकारी दिए ।

‘७०/८० वर्षसम्म पुग्दा पनि हाम्रा नेता सुध्रिएनन् । अहिले उनीहरूलाई सुध्रनु भन्नु भनेको यातना दिनु हो । युवाहरूलाई सम्बोधन गर । हैन भने त्यो अहिलेको परिवर्तित बाढीले तिमीहरूलाई अनि लोकतन्त्र, राष्ट्रियतालाई पनि डुबाउँछ भन्ने म्यासेज पनि छ,’ उनले थप विषय प्रस्ट्याए ।

manoj gajurel (1)

मदन भण्डारी बन्न सजिलो 

केही दिन अगाडि गजुरेलले सामाजिक सञ्जालमार्फत यसपालिको गाईजात्रा कार्यक्रममा बीपी र मदनको संवाद रहने सार्वजनिक गरेका थिए । उनले पात्र सार्वजनिक गर्ने बित्तिकै दर्शकमा  कौतुहलता पैदा भएको थियो । 

मदन र बीपीको संवाद कस्तो होला ? साथै आशङ्का पनि थियो कि यी दुई पात्रको रूपमा हँसाउने भन्दा पनि उपदेश बढी दिने हुन् कि ? 

गजुरेल भने पात्र बीपी र मदन भएपनि कार्यक्रममा कमेडीको डोज भरपुर भएको सुनाउँछन् । ‘हास्य व्यङ्ग्यको पहिलो सर्त हँसाउनु, दोस्रो व्यङ्ग्य र तेस्रो सन्देश हो । यी तिनै सर्तको आधारमा सामग्री समेटिएको छ,’ गजुरेलले थपे ।

‘क्यारिकेचर किङ’का रूपमा परिचित गजुरेल आवाज र शारीरिक हाउभाउले पनि पात्रको नक्कल दुरुस्तै उतार्छन् । त्यसैले, दर्शक उनको प्रस्तुति विशेष ठान्छन् ।

अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता लालबाबु पण्डित, गोकुल बाँस्कोटा, सीके राउत, शेरबहादुर देउवा, मातृका यादव, आदिकवि भानुभक्त आचार्य, लोकमान सिंह कार्की, पूर्वसभामुख कृष्णबहादुर महरा, कृष्णगोपाल श्रेष्ठलगायत थुप्रै ‘पब्लिक फिगर’को क्यारिकेचर उनले गरेका छन् । 

त्यसका अलावा उनले अन्तर्राष्ट्रिय ‘फिगर’को क्यारिकेचर गरेर पनि निकै चर्चा बटुलेका छन् । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, डब्लुएचओका कार्यकारी निर्देशक डा. टेड्रोेस एड्हानम, चिनियाँ राष्ट्रपति सी चिनफिङ, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अरेबियन सेख, साउथ इन्डियन क्यारेक्टरमा समेत आफूलाई प्रस्तुत गरिसकेका छन् । 

हरेक प्रस्तुतिबाट दर्शक–स्रोताका मनमस्तिष्कमा दर्बिलो छाप छोडेका उनलाई मदन भण्डारीको क्यारिकेचर सबैभन्दा सजिलो भयो रे । आफ्नो गेटअप, लुक्समा झण्डै भण्डारीसँग मिल्ने भएकोले गेटअपका लागि सजिलो भएको उनको भनाई छ ।

‘मलाई उनले लगाउने पुरानो चस्मा, कालो टोपी र सादा सर्ट, पाइण्ट तयार गर्न कठिन भएन’, उनले बीपी पात्रको बारेमा भने ‘जो बीपी भएर अभिनय गर्नु भएको छ । उहाँ ९० प्रतिसत बीपी देखिनुहुन्छ ।’ कार्यक्रम हेरिसकेर आफूलाई समेत दर्शकले रियल भण्डारी भन्ने उनले दाबी गरे ।

गजुरेललाई भण्डारीको आवाजको नक्कल गर्न कुनै कठिन भएन । किनभने उनले संगत गरेका पात्र थिए भण्डारी । ‘२०४७ सालको चुनावमा मैले मदन भण्डारीसँग मञ्च शेयर गरेर उहाँसँगै बोल्ने अवसर प्राप्त गरेको थिएँ । त्यस समयपछि पनि मैले भण्डारीको आवाजको नक्कल धेरै गरेको थिएँ,’ उनले भने ।

नारायणकाजीभन्दा बढी रुचाइए भण्डारी

मृत्युमाथि कसरी व्यङ्ग्य गर्ने ? पात्र छनौट गर्दै गर्दा गजुरेल माथि थियो निकै च्यालेन्ज । आदर्श व्यक्तित्वलाई कतै धज्जी उडाउन लागेको त छैन । यी पात्रमा सरल अवतरण कसरी गर्ने ? थुप्रै चुनौती थिए पात्र रोज्दै गर्दा गजुरेलमा । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले बीपीका महान् विचार र मदनका भनाई विषय बनाए ।

‘हाम्रो उद्देश्य राम्रो, दर्शक हँसाउनु र रमाइलो गराउनु हो’, उनले भने ‘पब्लिकको सोच र हाम्रो बुझाइ मिल्ने कार्यक्रम बनाएका छौँ ।’

उपत्यका बाहिरको केही कार्यक्रममा उनले भण्डारी पात्रको राम्रो प्रतिक्रिया पाएका छन् । ‘विराटनगरको कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, व्यापारी उद्योगपति, सामाजिक व्यक्तित्वहरू सबै सहभागी हुनुहुन्थ्यो’, उनले अगाडि थपे, ‘यो पटक तीन क्यारिकेचरमध्ये नारायणकाजी राम्रो हुन्छ भन्ने लागेको थियो । तर पहिलो दिनदेखि नै भण्डारी रुचाइए ।’

भण्डारी र कोइराला पात्रको संवाद पुराना पुस्तादेखि नयाँसम्मले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाई छ ।

लोकमानसिंहले गरे कमेन्ट

अहिलेसम्म धेरैको क्यारिकेचर गरेका गजुरेलले सबैभन्दा बढी चर्चा पाएको पात्र हो ‘आमा’ । त्यस पछिको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्रको हो । 

आफूले निर्वाह गरेको धेरै पात्रसँगको भेटमा सकारात्मक प्रतिक्रिया पाउने गरेका छन् उनले । भन्छन्, ‘नकारात्मक प्रतिक्रिया दिएको लोकमान सिंह कार्कीले मात्र हो ।’ शायद कार्कीले व्यङ्ग्यको भावार्थ बुझेनन् । 

‘डब्लुएचओका कार्यकारी निर्देशक डा. टेड्रोेस एड्हानम काठमाडौ आएको बेला मलाई खोजेर भेट्नुभयो । म पनि उहाँलाई भेट्न चाहन्थे । यस्तो भेटले अभिनयमा अझ उत्साह बढाउन उनी बताउँछन् ।

प्रचण्डले त ‘कलाकार र विचारको फ्युजन हुनु हुँदो रहेछ । यो महान् कलाकार जन्माउने बुबा आमा को होला ?’ भनेर गजुरेललाई सोधेका थिए । 

उनले अगाडि भने, ‘लोकमानसिंह कार्कीले भने तपाईले मेरो नेगेटिभ पार्ट देखाउनु भयो भनेर कमेन्ट गर्नु भयो ।’ कार्कीले आफ्नो राम्रो पाटो पनि बाहिर ल्याउन सुझाएको गजुरेलले सुनाए ।

पहिले गाईजात्राको अवसरमा थुप्रै कलाकारले छ्याल ब्याल कार्यक्रम गर्थे । अहिले भने धेरै कलाकार वर्षभरि नै राजनीतिक नेताहरूले गाईजात्रा देखाउँछन् । हाम्रो कार्यक्रमको औचित्य नै छैन भन्न थालेका छन् । 

तर, गजुरेल कोरोना समयबाहेक अन्य समय यस्तो कार्यक्रम गर्दै आएका छन् । उनी औचित्य र चर्चा भन्दा पनि पुस्ता हस्तान्तरणका लागि आफूले कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउँछन् ।

‘गाईजात्रामा गर्ने कमेडीको कार्यक्रम नेपालका कला संस्कृतिसँग जोडिएको विषय हो । एउटा कलाकारले फक्रिने, फैलिने र राष्ट्रप्रति आफूले गतिलो म्यासेज दिने अवसर हो यो ’, गजुरेलले भने ‘पुस्ता हस्तान्तरणका लागि पनि गर्दै आएको छु ।’ 

पुस्ता हस्तान्तरणका लागि यो पटक आफूले गाईजात्रा कार्यक्रममा सिनियरसँग नयाँ पुस्ता मिसाएको बताए ।

गजुरेलको ‘८० सालको गाईजात्रा’ टिममा शैलेन्द्र सिंखडा, सुवोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा, रुबिना अधिकारीलगायत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप