बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

शुक्रबार, १५ भदौ २०८०, १३ : ४८
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन् ।

शुक्रबार राजधानीको भृकुटीमण्डपमा विद्युतीय सवारी साधन प्रदर्शनीको उद्घाटन गर्दै उनले ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको बताए ।

मन्त्री बस्नेतले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘पार्लियामेण्टमा हामी दर्ता गर्दैछौं । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं’ मन्त्री बस्नेतले भने, ‘यहि अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यसअनुसार हामी पार्लियामेण्टका मेम्बरहरुसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौं ।’

उनले सो विधेयकलाई चालू संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप